पूर्वमन्त्री महेश बस्नेतविरुद्ध भ्रूण हत्या आरोपमा उजुरी - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध भ्रूण हत्या आरोपमा उजुरी


काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध एक महिलाले काठमाडौँ प्रहरीमा उजुरी दर्ता गराएकी छिन्। ती महिलाले हुलाकमार्फत फौजदारी कसुरको जाहेरी दर्ता गराएकी हुन्। प्रहरीले मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता भएको जनाएको छ।

एमालेको जन वर्गीय सङ्गठन युवा सङ्घमा क्रियाशील रहेकी धादिङकी ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्याको आरोप लगाउँदै उजुरी दर्ताका लागि हुलाक मार्फत काठमाडौँ प्रहरी परिसरमा पठाएकी थिइन। ‘हुलाक मार्फत एउटा उजुरी आएको छ, हामी अनुसन्धान गर्दै छौ’, काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने।

प्रहरीमा पुगेको उजुरीमा भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाइएको छ। बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन्। पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थ केयर अस्पतालमा बलात्कार गरेको उल्लेख गरेकी प्रहरी स्रोतले जनाएको छ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप लगाइएको छ। औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन्। मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ।

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ ‘ महेश बस्नेतको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लुटेर भागेका थिए,’ उनले उजुरीमा भनेकी छिन्।

भक्तपुरका बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उद्योग मन्त्री थिए। छोटो समय उद्योग मन्त्री भएका बस्नेतले ती युवतीलाई पटक पटक दुख दिएको केही दिनयता सार्वजनिक भएको थियो। प्रहरीले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ। उनले हुलाक मार्फत पठाएको उजुरीमा चैत ७ गतेको मिति रहेको प्रहरी स्रोतले जनाएको छ। विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न रहेका बस्नेत यति बेला एमालेको जन वर्गीय सङ्गठन युवा सङ्घको इन्चार्ज रहेका छन्।

 

"