कीर्तिपुर अस्पताललाई रोटरी क्लब, ओकल्याण्ड क्यार्लिफोनियाबाट स्वास्थ्य उपकरण सहयोग - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

कीर्तिपुर अस्पताललाई रोटरी क्लब, ओकल्याण्ड क्यार्लिफोनियाबाट स्वास्थ्य उपकरण सहयोग


काठमाडौं । रोटरी क्लब, ओकल्याण्ड क्यार्लिफोनिया अमेरिकाको सहयोगमा जनस्वास्थ्य सरोकार ट्रष्ट(पीएचइसिटी) अन्तरगत संचालित कीर्तिपुर अस्पताललाई महत्वपूर्ण स्वास्थ्य सामग्री एवम उपकरण निःशुल्क हस्तान्तरण गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अत्याधुनिक प्रविधिसहितका स्वास्थ्य सामग्री बुधबार एक समारोहबिच अस्पताललाई हस्तान्तरण गरिएको हो ।

रोटरी क्लब, ओकल्याण्डका सदस्य ठमेल निवासी दिपमणि राजभण्डारीको संयोजनमा संचालित ‘सर्भाइकल क्यान्सर स्क्रीनिङ एण्ड टेस्टिङ प्रोग्राम’मार्फत गत ११ सेप्टेम्बरमा एचपिभी डिएनए टेष्ट ल्याब मेसिन हस्तान्तरण गरिएको थियो । सोही मेसिनका लागि आवश्यक पर्ने ९ सय ६० प्रति पीसीआर भ्याक्सिन(रिएजेन्ट केमिकल) बुधबार ट्रष्टका अध्यक्ष डा।भरत प्रधानलाई हस्तान्तरण गरिएको हो । उक्त टेष्ट भ्याक्सिन नेपालमा प्रतिगोटा तीनदेखि पाँच हजार रुपैंयाँ पर्ने कीर्तिपुर अस्पतालका ल्याब इन्चार्ज सन्जित श्रेष्ठले बताए ।

ट्रष्टका जनस्वास्थ्य निर्देशक डा।सम्भु कुमार उपाध्ययले रोटरी ओकल्याण्ड र कार्यक्रमको संयोजन गर्नुहुने राजभण्डारीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याएर अस्पताललाई सहयोग गर्नेमा विश्वास व्यक्त गरे । संयोजक राजभण्डारीले केही महिना पछि अमेरिकाबाट रोटरियनहरु नेपाल भ्रमण गराएर स्थलगत अध्ययनपछि थप स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले प्राप्त सहयोग अमेरिकाका चारवटा रोटरी क्लबको संयुक्त प्रयासबाट सफल भएको जानकारी दिए । ल्याब मेसिन हस्तान्तरण समारोहमा भने अमेरिकाबाट नै डा.बाराबारा बेरी, डा.जोब्य कौशिक, डा.रिचार्डलगायतको उपस्थिति थियो ।