देशव्यापी लकडाउन नहुने, काठमाडौंमा कडाइ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

देशव्यापी लकडाउन नहुने, काठमाडौंमा कडाइ


काठमाडौं । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशब्यापी लकडाउन नगर्ने जानकारी दिए।

व्यापक संक्रमण देखिएका ठाउँमा भने क्षेत्रगत रुपमा लकडाउन गर्न सकिने उनको भनाइ छ । अहिले सरकारको आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने रहेको मन्त्री ज्ञवालीले बताए ।

लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको भन्दै मन्त्री ज्ञवालीले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको उल्लेख गरे । यसैबीच एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो । एमालेले क्वारेन्टिन बनाउन, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।

यता काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना माहामारीको बढ्दो जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रसासन कार्यालयबाट हुँदै आएका नयाँ नागरिकता प्रमाणपत्र र प्रतिलिपी वितरण, राहदानी बनाउने काम पत्रपत्रिका तथा संघ संस्था दर्ता, राष्ट्रिय परिचय पत्रका लागि हुँदै आएको नाम दर्ता गराउने लगायतका काम एक साताका लागि बन्द गरिएको जानकारी दिए ।