कोरोनाबाट जोगाउने भन्दा शवको व्यवस्थापनको चिन्ता - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

कोरोनाबाट जोगाउने भन्दा शवको व्यवस्थापनको चिन्ता


धरान । नेपालमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहर कोभिड–१९ को त्रास धरानमा पनि बढेको छ । संक्रमणबाट बच्ने उपाय मास्कको प्रयोग, बजारका भिडभाडमा नजाने, बेला बेला साबुन पानीले हात धुने कुरालाई उपमहानगरपालिकाले दैनिक माइकिङ गर्दै व्यापक बनाएको छ ।

धरानमा प्रारम्भिक तयारीका लागि भएको छलफलमा कोरोनाबाट जोगाउने भन्दा मृत्यु भएपछि शवको व्यवस्थापनमा बढी चिन्ता लिइएको पाइएको छ । कोरोनाको संक्रमण बढेपछि शनिवार धरान उपमहानगरपालिकामा बसेको बैठकको निर्णयले यस्तो देखाएको हो । धरानमा अहिलेसम्म दुई दर्जन बढी कोरोना संक्रमित देखिएका छन् ।

यसपाली अस्पतालमा कोरोनाबाट मृत्यु भएका शवलाई ब्याग र्‍यापिङ गरी परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाउन वीपी प्रतिष्ठानलाई अनुरोध गरिने भएको छ । घरमै कोरोनाले मृत्यु भएका सरकारी नीति अनुसार सुरक्षा मापदण्ड सहित इलाका प्रहरी र धरान उपमहानगरपालिकाले शव व्यवस्थापन गर्ने निर्णय गरिएको छ । शव र्‍यापिङ गर्ने आवश्यक ब्याग सुनसरी रेडक्रसंग माग गरिने भएको छ । संक्रमितको मृत्यु भएमा जिल्ला प्रशासन सुनसरीले उपलब्ध गराएको शव बाहन प्रयोग गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

कोरोनाको पहिलो लहरमा अस्पताल र घरमा मृत्यु भएको कोरोना संक्रमितको अन्तिम संस्कार गर्न नातेदारहरुलाई शव दिइएको थिएन । उपमहानगरपालिकाले नेपाली सेनाको सहकार्यमा स्थानिय चारकोशे जंगलमा समाधिस्थ गर्ने गरेको थियो । शवदाहका बेला कसैलाई मलामीका रुपमा पनि उपस्थित हुन दिइएको थिएन् । अस्पतालमा समेत भेट्न नपाएका संक्रमितको मृत्यु भएपछि स्काभेटरले खाल्डो खनेर हाल्दा अन्तिम पटक पनि आफन्तले अनुहार हेर्न पाएनन् ।

त्यस्तो त्रासद कोरोना महामारीको दोश्रो लहर रोकथामको उपायहरु अवलम्बन गर्न मेयर तिलक राईको सभापतित्वमा पहिलो बैठक बसेको हो । छलफलमा बजारमा विक्री वितरण भैरहेका सेनिटाइजरको गुणस्तरका बारेमा पनि चिन्ता प्रकट गरिएको छ । बजारमा पाइने विभिन्न ब्राण्डका सेनिटाइजरहरुको गुणस्तर परिक्षण गर्न उद्योग बाणिज्य संघ, प्रहरी, नगर प्रहरी र स्वास्थ्य महाशाखाको टोलीले नमुना संकलन गर्ने भएको छ । संकलित नमुनाहरुको गुणस्तर परिक्षण गर्ने जिम्म केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार लाई दिइने निर्णय गरिएको छ ।

कोविड–२ रोकथाम, नियन्त्रण गर्न क्वारेन्टाइन, आईसोलेशनको व्यवस्थापनका बारेमा भने अर्को बैठकमा छलफल गरिने भएको छ । तत्काल मास्कको अनिवार्य प्रयोग गर्न÷गराउन, उद्योग बाणिज्य संघको नेतृत्वमा प्रहरी, नगर प्रहरी, रेडक्रस, स्काउटको सहकार्यमा व्यापक रुपमा सचेतना राउने निर्णय गरिएको छ । बैठकमा उद्योग बाणिज्य संघ अध्यक्ष गिरिधारी सापकोटा, इलाका प्रहरी निरिक्षक हेमराज वली, रेडक्रस सुनसरीका श्याम पोखरेलसहित उपमहानगरपालिकाका सम्बद्ध अधिकृतहरु सहभागी थिए ।