अवस्था हेरेर निषेधाज्ञा गर्न सिफारिस - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

अवस्था हेरेर निषेधाज्ञा गर्न सिफारिस


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अवस्था हेरेर निषेधाज्ञाको निर्णय गर्न सरकारलाई सिफारिस गरेको छ । पहाडी जिल्लामा दुई सय तथा शहरी क्षेत्रमा पाँच सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको हो

सीसीएमसीको आइतबार बसेको बैठकले सक्रिय संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि अवस्था हेरेर निषेधाज्ञाको निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो ।

‘पहाडी क्षेत्रमा दुई सय, शहरी क्षेत्रमा पाँच सय सक्रिय संक्रमित बढे निषेधाज्ञा लगाउन मन्त्रीपरिषद्लाई सिफारिस गर्ने सीसीएमसीको निर्णय हो,’ सिसिएमसीका एक सदस्यले भने । बैठकले चालु अवस्थामा रहेका तथा सुरु हुने क्रममा रहेका सबै परिक्षा स्थगित गर्न पनि मन्त्रीपरिषदमा सिफारिस गरेको छ ।

यसैगरी भारतीय सिमा नाका हुँदै आउने नेपाली बाहेकका नागरिकलाई प्रवेशमा रोक लगाउन पनि सिसिएमसीले सिफारिसमा भनेको छ । बैठकमा लक डाउन गर्ने विषयमा भने मन्त्रीहरुबीचमा नै मत बाझिएको छ ।स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गरेर भएपनि स्थितिलाई नियन्त्रणमा राख्नु पर्नेमा जोड दिएका थिए ।

तर, सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत केहीले भने स्वास्थ्य मन्त्रीको भनाइमा सहमती जनाएनन् । उनीहरुले देशव्यापी रुपमा नभएर स्थान अनुसार स्थानीय प्रशासनलाई त्यो अधिकार दिन सकिने मत राखेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।