काठमाडौं उपत्यकामा ‘लकडाउन’ - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

काठमाडौं उपत्यकामा ‘लकडाउन’


काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।

उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीका अनुसार निषेधाज्ञामा काठमाडौँ उपत्यका भित्र निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पूर्ण रूपमा बन्द गरिने छ । यस्तै कार्यालयहरू आधा मात्रै कर्मचारी राखेर सञ्चालन गरिने छ ।

वैशाख १६ गते बिहान ६ बजेदेखि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने छैन । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाइ टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका हकमा सहजीकरण गर्न सकिने भनिएको छ ।

यसैगरि, सरकारी कार्यालय लगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्वन्धित मन्त्रालय वा विभागको अनुमति लिइ सवारी साधन प्रयोग गर्न पाइनेछ ।

अन्य व्यवसायका हकमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका साधन सञ्चालन गर्न पाइनेछ । यीबाहेक भिडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।

सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्नका लागि बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम २ मिटरका भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ ।

नेपाल सरकारका कर्मचारी बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । यस्तै, सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बन्धित संस्थाले जारी गरेको प्रेस पासका आधारमा आवतजावत गर्न सक्ने भनिएको छ ।

काठमाडौं उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्यरुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्ने छ । अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा प्रवाह हाललाई स्थगित गर्ने सीडिओको आदेशमा उल्लेख छ ।