निर्दलीय बालेनप्रति वडाध्यक्षहरु ‘आगो’ - रुपान्तरण
 २०८१ माघ २४, बिहीबार    

निर्दलीय बालेनप्रति वडाध्यक्षहरु ‘आगो’


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विरोध नभएको दिन विरलै पाइन्छ । केही दिनअघिसम्म न्यूरोडबासीहरु विरोधमा थिए भने रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायी आन्दोलित छन् । स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित बालेन साँच्चै स्वतन्त्र भएर काम गरिरहेका छन् । स्वतन्त्रताका नाममा संविधान र कानुन नै उल्लघंन गरेकोप्रति औंला उठाइएको छ । बालेनका कतिपय निर्णयहरु सर्वोच्च अदालतले नै खारेज गरिदिएको दृष्टान्तहरु प्रशस्त छन् ।

केही दिनअघि मात्र उच्च अदालत पाटनले सामुदायिक विद्यालयका सटरमा ताला लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय र कार्यमा रोक लगाइदिएको छ । महानगरपालिकाको शिक्षा विभागले ७ वटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएपछि विद्यालयहरु अदालत पुगेका थिए ।

आइतबार नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठक स्थगित भएको घटनाले बालेनमाथि अर्को झट्का लागेको छ । एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा नै स्थगित हुन पुगेको छ । एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले बहिष्कार गरेपछि आइतबारबाट सुरु भएको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले आर्थिक वर्ष २०८१–८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केही जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरेका हुन् । बैठक स्थगित भएपछि मेयर साहले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका थिए ।


उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उल्लेख गरेका थिए । उनले लेखेका थिए, ‘तीनजना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’

काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिँदै उनले थप भनेका थिए, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन ।’

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले तयारी नपुगेका कारण कांग्रेस(एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेको बताए । न्युरोडलाई ‘नो भेकल जोन’ बनाउने महानगरपालिका प्रमुख शाहको प्रस्ताव थियो। उक्त प्रस्तावलाई आज बस्ने नगरसभामा पारित गर्ने तयारी गरिएको चर्चा छ।

तर, उक्त कारणले बैठक बहिष्कार नभएको महानगरपालिका प्रवक्ता मानन्धरले बताए। ‘त्यो विषयमा आज केही कुरै थिएन,’उनले भने। यस अघिदेखि नै न्युरोडमा सडक काटेर फुटपाथ थप्ने महानगरपालिकाको योजनामा केही वडाअध्यक्षहरू असन्तुष्ट थिए।

जेठ १८ गते बसेको महानगरपालिका ३२औँ नगर कार्यपालिका बैठकमा यही विषयमा झण्डै २५ मिनेट महानगर प्रमुख शाह र वडा अध्यक्षहरूबीच चर्काचर्की नै परेको थियो। महानगरपालिका वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले महानगरपालिकाले आफूखुसी न्युरोडलाई खण्डीकरण गरेको र यो काम तत्काल रोक्नू भन्दै प्रमुख शाहसँग आक्रोश पोखेका थिए।

कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि महानगरपालिकाका प्रमुख शाहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू भन्दै आक्रोश पोखेका हुन्।

महानगर प्रमुख साह स्वतन्त्र रूपमा निर्वाचन जितेर आएका व्यक्ति हुन् । पुराना दलसँग मतदाताको वितृष्णाका कारण उनलाई महानगरवासीले मेयरको कुर्सीमा पुर्याएका हुन् । तर, नगरसभामा उनी मात्रै निर्दलीय जनप्रतिनिधि छन् । नगर उपप्रमुख सुनीता डंगोल स्वयं पनि एमालेबाट निर्वाचित हुन् ।

सबै वडाका अध्यक्ष तथा सदस्यहरु पनि दलकै प्रतिनिधि छन् । यस्तो अवस्थामा उनीहरूसँग समन्वय नगरीकन एक्लै अघि बढ्छु भन्न उनी स्वयंका लागि घातक हुनसक्छ । वडाका अध्यक्ष तथा सदस्यहरु पनि जनताबाटै निर्वाचित भएर आएका हुन् । दलका प्रतिनिधि हुन् भन्दैमा उनीहरूको कुरा नसुनीकन एक्लै अघि बढ्न खोज्नु बालेनको राजनीतिक निर्णय होइन । किनकि यो निर्दलीय व्यवस्था होइन ।

बालेन स्वतन्त्र निर्वाचित हुन् भन्दैमा दलका प्रतिनिधिले पनि उनलाई बाइपास गरेर जान मिल्दैन । महानगर र महानगरवासीको हितमा उनले ल्याएका प्रस्तावलाई आफ्नो दलको कसीमा जाँच्न थाल्ने हो भने विकासले गति लिन सक्दैन । त्यसैले दुवै पक्षले आआफ्नो दम्भ त्याग्नैपर्छ ।