काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । आन्तरिक उडान भने तत्काल नरोक्ने मन्त्रिपरिषद्को निर्णय छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोरोना रोकथामका विषयमा केन्द्रित थियो । बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि मन्त्रीपरिषद्ले अहिले यसबारे निर्णय नगरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।
‘अहिले स्वास्थ्य मापदण्डहरु पालना गरेर उडान यथावत सञ्चालन गर्ने कुरा भएको छ,’ उनले भने, ‘पछि आवश्यक पर्यो भने अर्को निर्णय लिन सकिन्छ ।’
भारतमा कोरोनाभाइरसको संक्रमण बढेर नेपालमा पनि फैलिरहेको र सीमा नाकामा बन्द गरिनुपर्ने आवाज उठ्दै आएपनि सरकारले तत्काल सीमा नाका बन्द गरेन् । मन्त्रिपरिषद् बैठकले भारतसँगको स्थल सीमा नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय भएको जनाइएको छ ।
सीमा नाका नेपालीलाई खुला गरिएपनि गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन । सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।
पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।