काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । शपथ ग्रहणको पहिलो चरणमै सबै मन्त्रीहरुको शपथ भएको हो । संविधानअनुसार बढीमा २५ जना सम्मको मन्त्रिपरिषद् हुनेछ । तर पहिलो चरणमै मन्त्रालय पूर्ण गरेर २२ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ ।
सोअनुसार वरीयता पनि तोकिएको छ । प्रधानमन्त्री ओली पहिलो वरीयतामा रहँदा दुई उपप्रधानमन्त्रीमध्ये शहरी विकास मन्त्री प्रकाशमान सिंह दोस्रो तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तेस्रो वरीयतामा रहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ चौथो तथा गृहमन्त्री रमेश लेखक पाँचौँ वरीयतामा रहेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी छैटौँ तथा परराष्ट्र मन्त्री डा। आरजू राणा देउवा सातौँ वरीयतामा रहेकी छिन् ।
खानेपानी मन्त्री प्रदीप यादवलाई आठौँ वरीयता दिइएको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई नवौँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई दशौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई ११ औँ तथा भौतिक पूर्वाधार तथा यातायात मनत्री देवेन्द्र दाहाललाई १२ औँ वरीयता दिइएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई १३ औँ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई १४ औँ वरीयता दिइएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई १५ औँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई १६ औँ तथा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीलाई १७ औँ वरीयता दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई १८ औँ, रक्षा मन्त्री मानवीर राईलाई १९ औँ, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई २० औँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई २१ औँ तथा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई २२ औँ वरीयता दिइएको छ ।
मन्त्रिपरिषद्मा नौजना पहिलोपटक मन्त्री भएका छन् । १० जनालाई मन्त्री बनाएको कांग्रेसले पाँच जनालाई पहिलोपटक अवसर दिएको छ । कांग्रेसबाट आरजु, बद्री, पौडेल, रामनाथ र ऐनबहादुर पहिलोपटक मन्त्री बनेका हुन् । ऊर्जामन्त्री दीपक खड्का र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी यसअघि राज्यमन्त्री बनेका थिए । सभापति शेरबहादुर देउवाको पक्षबाट ६ र शेखर–गगन समूहबाट चारजना मन्त्री बनेका हुन् ।
नेकपा एमालेले पनि मन्त्रिपरिषद्मा चार नयाँ अनुहार ल्याएको छ । विद्या, देवेन्द्र, मानवीर र राजकुमार पहिलोपटक बन्त्री बनेका हुन् । एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भएका दामोदर भण्डारी र बलराम अधिकारीलाई दोहोर्याएको छ । जसपाबाट पूर्ववर्ती मन्त्रिपरिषद्मा रहेका प्रदीप यादव र नवलकिशोर साह सुडी यसपालि पनि दोहोरिएका छन् ।
ओली मन्त्रिपरिषदमा एउटा रोचक कुरा के छ भने लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए ।
यस्तोमा एमाले र कांग्रेसको गठबन्धनलाई पनि महन्थ ठाकुर नेतृत्वको लोसपाले साथ दिएको थियो । त्यही साथको गुन तिर्दै नयाँ प्रधानमन्त्री ओलीले एक मन्त्री पद लोसपालाई दिएका हुन् । लोसपालाई ओलीले गुन तिर्दा अध्यक्ष महन्थ ठाकुरले शरदसिंहलाई नै फेरि मन्त्री बनाएका हुन् । उनी फेरि श्रममन्त्री बनेका हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा डोलप्रसाद अर्याल श्रम मन्त्री थिए।
वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तकमा २०७५ सम्म बनेका नेपालका मन्त्रिमण्डलहरुको सूची छ । उक्त पुस्तकमा रहेको मन्त्रिमण्डलको सूचीअनसार भण्डारी मन्त्रिमण्डल निर्माण, पुनर्गठन र विस्तारमा गरी २०७५ सम्मै १७ पटक मन्त्री बनिसकेका छन् ।
उनी त्यसयता ओली, प्रचण्ड र फेरि अहिले ओली नेतृत्वको गरी २० औँ पटक मन्त्री बनेका छन् । भण्डारी पहिलो पटक २०४३ असार २ मा सहायकमन्त्रीका रुपमा मन्त्री मण्डलमा प्रवेश गरेका थिए । त्यसयता उनले ११ वटा मन्त्रालयको नेतृत्व लिइसकेका छन् ।