नयाँ सरकार गठनका लागि कांग्रेस तयार, जसपाको निर्णय अनिवार्य: नारायणकाजी - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

नयाँ सरकार गठनका लागि कांग्रेस तयार, जसपाको निर्णय अनिवार्य: नारायणकाजी


काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीको निर्णय कुरेर बसिएको स्पष्ट पारेको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसले बल्लबल्ल मानेको छ, अब जसपाले निर्णय दिएपछि त्यो प्रक्रिया अगाडि बढ्छ भने ।

उनले आफ्नो पार्टी वर्तमान ओली नेतृत्वको सरकार विस्थापन गर्न यसअघि नै तयार भएको तर नयाँ सरकार गठनका लागि जसपाको साथ अनिवार्य भएकाले उक्त पार्टीको निर्णय कुरिरहेको प्रतिक्रिया दिएका हुन् ।

बैठकले माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजानेगरी पारित गरेको छ । पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरु कमिटीमा त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको छ ।

पार्टीको सबै कमिटीको पदाधिकारीमा एक जना महिला राख्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । कार्यकारीको उमेर हद राख्ने कि नराख्ने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

कोभिड संक्रमणबारे पनि बैठकमा व्यापक छलफल भएको उनको भनाइ छ । ‘नेपालमा दोस्रो लहर तीब्र रुपमा फैलिएकाले यसको रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकार, सबै दल, नागरिक समाज, जनता सबै एकताबद्ध भएर अघि बढ्न अपिल गरिएको छ’– श्रेष्ठले भने। ‘यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग पनि गरेका छौं’, उनले भने । नेपाल भारत सीमा नाकामा कडाइ गर्न बैठकले सरकारसँग माग गरेको छ ।