काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टी विधानमा एक महामन्त्री वा एक उपसभापति निर्वाचित गर्ने व्यवस्था अनिवार्य गर्न प्रस्ताव गरेकी छिन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना भनाइ राख्दै थपलियाले पार्टी तल्लो संरचनादेखि केन्द्रीय समितिमा महामन्त्री वा उपसभापति पदमा अनिवार्य निर्वाचित हुनुपर्ने प्रस्ताव अघि सारेकी हुन् ।
‘राजनीतिमा महिलाहरुको उल्लेख्य सहभागिता र आकर्षण बढेपनि ‘उप’ मै सिमित राख्ने परिपाटी तोड्न जरुरी छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख/उपप्रमुखमा एक जना महिला अनिवार्य त गरियो तर प्रमुखमा महिलाहरुको सहभागिता दुई प्रतिशत पनि छैन् । तर अब कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ । पार्टीका सबै संरचनामा एक महामन्त्री वा उपसभापति अनिवार्य निर्वाचित गर्ने व्यवस्था राखौं,’ उनले भनिन् ।
उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख समेत रहेकी थपलियाले भ्रातृ एव शुभेच्छुक संस्थाहरुले समयमै अधिवेशन गर्न नसक्दा संगठनको गतिविधिमा सुस्तता आएको उल्लेख गर्दै प्रत्येक दुई/दुई बर्षमा अधिवेशन गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिइन । उनले भनिन्,‘भ्रातृ एव शुभेच्छुक संस्था आफुले अधिवेशन गर्न सक्दैनन् भने सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैं तोक्नसक्नुपर्छ र संगठनलाई चलायमान बनाउनुपर्छ ।’ बैठकमा थपलियाले विभागबाट चाँडै नै व्यवसायी एवम उद्यमीहरुको राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराइन ।