काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महासमिति सकिएको छ महिनापछि प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । पार्टी मुख्यालय बीपीनगर सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमितिका प्रस्तावलाई परिमार्जन गरी पारित गरेको हो ।
२०८० फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको महासमिति बैठकले निर्णय गरेका प्रस्तावलाई केन्द्रीय कार्यसमितिले छलफल गरी पारित गर्ने निर्णय गरेसँगै आइतबारको बैठकमा सर्वसम्मत पारित गरिएको हो ।
महामन्त्री गगनकुमार थापाले सर्वसम्मत पारित निर्णयहरु सुनाएका थिए । उनी आफैले गरेको प्रस्ताव जस्ताको त्यस्तै पारित भएसँगै उत्साहित देखिएका छन् । उनले चुनावअघि कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने र सबै कांग्रेसले रुखमा मात्रै भोट हाल्न पाउनु पर्ने प्रस्ताव गरेका थिए । जुन सर्वसम्मत पारित भएको छ ।
त्यस्तै गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति संविधान संशोधन र सुशासनसहित पालना गर्न पार्टी प्रतिबद्ध रहेको निर्णय गरिएको छ ।
संविधानको स्वामित्व र यसको रक्षाको मूल दायित्व नेपाली कांग्रेसको हो भन्ने कुरालाई हृदयंगम गर्दै संविधानको वास्तविक मर्म बमोजिम परिमार्जन गर्न कांग्रेसले वृहत छलफल गर्ने र अग्रसरता लिने भएको छ । त्यस्तै कुनै भ्रममा नपर्न पनि सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।
त्यस्तै बैठकले विधानसँग सम्बन्धित विषय र विधान संशोधन गर्ने विषयलाई विधान संशोधन मस्यौदा तयार गर्न समिति गठन गर्ने र समिति सदस्यहरु आवश्यताअनुसार चयन गर्न पार्टी सभापतिलाई अधिकार प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
नेपाली जनसम्पर्क समिति सम्बन्धमा अधिवेशन प्रक्रिया सहज बनाउनका लागि विधानको धारा १४ को उपधारा ३ बमोजिम चयन गर्ने व्यवस्था गरी उपधारा ४, ५ र ६ निलम्बन गर्ने पदावधि ३ वर्षभित्र गर्ने लगायतका निर्णय भएको छ ।
त्यस्तै सदस्यता वितरण बारेमा पनि निर्णय भएको छ । साथै राज्यका विभिन्न तहको जिम्मेवारीमा रहने राजनीतिक पदाधिकारीको पदावधि सम्बन्धमा पार्टीगत मात्र नभएर संवैधानिकसमेत रहेको तथ्य दृष्टिगत गरी संविधान संशोधनको समयमा पार्टीले आवश्यक छलफल गरी निर्णय गर्ने भएको छ ।
त्यस्तै विवादमा रहेका एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धनको विषयमा पनि बैठकले निर्णय गरेको छ । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ दुई पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको पोलीसी अर्थात् एक्जीट पोलीसीलाई अहिले यथावत् राख्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारी अनुसार यो विषयमा संविधान संशोधनको समयमा निर्णय हुनेछ ।
‘एक्जीट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन । यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ‚’ उनले भने ।
मन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि सरकारको नेतृत्वमा आफू नभइ दोस्रो तहका नेताहरुलाई अघि सार्न सुझाव दिएका छन् । जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
देउवालाई सुझाव, ठाडो इन्कार
बैठकमा सभापति शेरबहादुर देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि सरकारको नेतृत्वमा आफू नभइ दोस्रो तहका नेताहरुलाई अघि सार्न सुझाव दिएका छन् । जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
“जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस्,” शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “कांग्रेसको महामन्त्रीले घुमाएर होइन सिधै कुरा गर्छ । ०८३ को असारसम्म केपी ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यसपछि तपाईंले पार्टीका नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का जसलाई छान्नुहोला, छान्नुहोस् ।”शर्माले यस्तो प्रस्ताव गरेपछि देउवाले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए ।
“मैले छाड्नेवाला छैन भनेपछि यस्तो कुरा गर्न मिल्छ ? अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्,” देउवाको चुनौती थियो । शर्माको प्रस्तावपछि देउवाले भन्नेबित्तिकै कसैले छाड्छ भनी प्रश्न गरेका छन् । “भन्नेबित्तिकै कसैले छोड्छ ? तपाईंलाई छोड्न मन छैन भने, तपाईं छाड्नुहुन्छ ? यस्तो कुरा नगर्नुस्,” उनले बैठकमा भने ।
यता, धर्मको प्रस्तावलाई सभापति देउवाले धन्यवाद दिएर टुंग्याएका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीले महासमिति बैठकमा पदाधिकारीहरुले नै धर्मको प्रस्ताव राख्न दिएको र सोअनुसार आफूहरुले प्रस्ताव राखेको तर यसबारे किन निर्णय नभएको भन्दै प्रश्न गरेका थिए । तर यसलाई देउवाले सहज रुपमा लिँदै धन्यवाद दिएर टुंग्याएका थिए । यसले एकैछिन बैठकमा हाँसो गुन्जिएको थियो ।