काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह जुहारीमा उत्रिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यकर्तालाई सामान्य ज्ञान दिएर मात्रै राजनीतिमा लगाउन आग्रह गर्न भ्याएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले यस्तै ज्ञानविहीन कार्यकर्ता पछि देश चलाउने ठाउँमा पुग्दा अहिलो नेताहरु झैं अरूको इशारामा चल्नुपर्ने अवस्था आउला भन्ने ब्यंग्य समेत गरे ।
आइतबार साँझ मेयर शाहले सामाजिक सञ्जालमार्फत एमाले प्रदेश सांसद रेखा शर्माले घरेलु कामदारको रुपमा एक बालिकालाई राखेको ती बालिकालाई सांसदले घरेलु हिंसा गर्ने गरेको भन्दै ती सांसदलाई पक्राउ गराई कारबाहीका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
त्यसपछि एमाले कार्यकर्ता पंक्ति मेयर बालेन शाह विरुद्ध खनिंदै सांसद शर्माको बचाउमा उत्रिएका थिए । त्यसपछि मेयर शाहले फेरि सामाजिक सञ्जाल मार्फत नै सांसद शर्माले आफूले गरेको कसुरमा जेल जानसक्ने सम्भावना देखेर त्यसबाट बच्न आफैँ सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै र हार्दै आएको उल्लेख गरेका छन् । तर महानगरपालिकाले सांसद शर्मा विरुद्ध हालेको मुद्दा भने प्रहरीले अघि नै नबढाएको र मुद्धा अदालतमा प्रवेश गर्नै नपाएको पनि मेयर शाहले उल्लेख गरेका छन् ।
उक्त मुद्धा सांसद शर्मा र महानगर बीचको नभएको भन्दै मेयर शाहाले बालिकाको बाबुले छोरी महानगरले अपहरण गर्यो भनी हालेको रिट अदालतले खारेज गरेको हो भनेका छन् । अदालतले मुद्धा नै खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको भन्दै उनले कार्यकर्तालाई सामान्य ज्ञान सिकाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
केही दिनअघि मात्र एमालेले सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदी किनारको २० मिटर क्षेत्रमा बनेका संरचना हटाउन गरेको फैसलाविरुद्ध ‘भ्याकेट’ निवेदन लिएर काठमाडौँ महानगर र उपत्यका विकास प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको थियो । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले आइतबार काठमाडौँमा महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपछिको एक समारोहमा उपमेयर सुनिता डंगोलले मेयर बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिंगो महानगर नै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडि असन्तुष्टि जनाएकी हुन् ।
कार्यपालिका बैठकमा डंगोलले भनिन्, ‘महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ ।’
यस्तो संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचना गएको भन्दै डंगोलले आफूसहित जनप्रतिनिधिहरुले सूचनाबाट नै सो बारेमा जानकारी पाएको बताएकी थिइन् । उनले शुरुमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरैजसो निर्णय लागू हुन नसकेको र संशोधन गर्नुपरेको बताइन् ।
त्यसअघि सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन बालेनलाई आग्रह गरेका थिए । बालेनले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए ।
‘हामी काठमाडौं महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं । एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख साहप्रति लक्ष्य गर्दै भने, ‘काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनूहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।’