निषेधाज्ञा लकडाउन भन्दा खुकुलो : सडकमा ३५ सय सुरक्षाकर्मी - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

निषेधाज्ञा लकडाउन भन्दा खुकुलो : सडकमा ३५ सय सुरक्षाकर्मी


काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर रोक्न काठमाडौं उपत्यकामा जारी गरिएको पहिलो दिनको निषेधाज्ञामा सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् । सार्वजनिक यातायातका साधन सञ्चालन भएनन् ।

निजी तथा अन्य अत्यावश्यक सेवाका साधनको भने सडकमा देखिन्थे । प्रहरीले सडकका विभिन्न चोक तथा गल्लीमा सवारी चेकजाँज गरी विना परिचयपत्र आवतजावत गर्नेहरुलाई होल्डमा राखेको थियो । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्थे ।

सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएको हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए । अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै गराउने खालको भएको र पासका आधारमा मात्रै हिँड्न पाउने व्यवस्था थियो । अहिले निषेधाज्ञा केही खुकुलो र आदेश पनि त्यहीअनुसारको भएको उनको भनाइ छ ।

प्रहरीले निषेधाज्ञा पालना नगर्नेलाई ‘होल्डिङ सेन्टर’ मा राखेर सम्झाइबुझाइ गरिरहेको छ । २०० बढी ठाउँमा चेक प्वाइन्ट र ठाउँठाउँमा मोबाइल टोली खटिएको उनको भनाइ छ । निषेधाज्ञा पालना गराउनकै लागि उपत्यकामा ३ हजार ५ सयजति प्रहरी खटाइएका छन् ।

मुख्य सडक सुनसान हुँदा भित्रि गल्लीमा भने केही पसल खुलेका र मान्छेको आवतजावत पनि देख्न सकिन्छ । उपत्यकामा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार विहीबार बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।

आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

तर कोरोना संक्रमण रोक्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण जनताले अनेक सास्ती भोगिरहेका छन् । त्यस्तै निषेधाज्ञा जारी भएको पहिलो दिन एक हजार ४८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिएका सवारीसाधनलाई साँझ ६ बजेसम्म होल्ड गरेर मात्रै छाड्ने प्रहरीले जनाएको छ ।

काठमाडौं सहरभित्रका मुख्य सडकहरूमा सवारी चाप घटे पनि कोटेश्वर, बल्खु, कलं‍कीलगायत नाकाहरूमा भने केही बेर ट्राफिक जाम पनि देखिएको छ । बुधबार बाहिरी जिल्लाबाट हिँडेका सवारी बिहान उपत्यका भित्रिएकाले पनि नाकाहरूमा चाप बढेको हो ।