नेपाल युथ समिटबाट सात बुँदे घोषणा पत्र जारी - रुपान्तरण
 २०८१ आश्विन १९, शनिबार    

नेपाल युथ समिटबाट सात बुँदे घोषणा पत्र जारी


काठमाडौं । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा भदौ २८ र २९ गते काठमाडौंमा भएको नेपाल युथ समिटले सात बुँदे घोषणा पत्र जारी गरेको छ । समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरू प्यानलिस्टका रूपमा सहभागी हुनुका साथै देशभरका पाँचसय भन्दा बढि युवाले सहभागिता जनाए ।

समिटमा विभिन्न क्षेत्रमा काम गरिरहेका, आफ्नो उर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ती खर्चिरहेका युवाहरूलाई एउटै मञ्चमा ल्याएर देश निमार्णको एउटा साझा संकल्प गर्ने उदेश्यले नेपाल युथ समिटको आयोजना गरिएको हो। सबै क्षेत्रमा काम गरिरहेका युवाहरू एकै ठाउँमा बसेर एकअर्काको अवधारणाहरू आपसमा बाढेर नयाँ, साझा एउटा संकल्प गर्नको लागि नेपाल युथ समिटको आयोजना गरिएको हो ।

‘दुइ दिन चलेको युथ समिटको पहिलो दिन अर्थात् भदौ २८ को उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामा, रिता शाहीलगायतले सहभागिता जनाएका थिए ।

समिटमा चर्चित उद्यमी विदुषी राणा, चर्चित खेलाडी पलेशा गोवद्र्धन, सफल व्यवसायी भरत ढकाल बैंकर्स मनोज ज्ञवाली, राष्ट्रीय युवा परिषद उपाध्यक्ष सुरेन्द्र बस्नेत, वरिष्ट पत्रकार दिलभुषण पाठक, नेपाल चिकित्सक सङ्घ केन्द्रीय अध्यक्ष डक्टर अनिल कार्की, नेपाल शिक्षक महासङ्घ अध्यक्ष लक्ष्मी किशोर सुबेदी, अभिनेता सनम कठायत, अभिनेत्री उषा रजक, गायिका राधिका हमाल, कार्यक्रम सन्चालिका मन्जु पौडेल लगायत विभिन्न क्षेत्रका विज्ञहरू, युवा उद्यमीहरू, युवा नेता, चलचित्रकर्मी, लेखक, साहित्यकार, सामाजिक अभियन्ताहरू, जनप्रतिनिधिहरू लगायत ५०० भदा बढि बिभिन्न क्षेत्रका युवाहरुको सहभागिता मा बृहत अन्तरक्रिया, बहस र छलफल मार्फत सात बुँदे घोषणा पत्र जारी गरिएको कार्यक्रम संयोजक भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

नेपाल युथ समिट
घोषणा पत्र
राष्ट्र निर्माणमा साझा संकल्प सहित २०८१ भदौ २८ र २९ गते काठमाण्डौमा राष्ट्र निर्माण मञ्च नेपालद्वारा आयोजित नेपाल युथ समिट मा विविध २५ भन्दा बढी क्षेत्रमा आवद्ध युवाहरुसंगको छलफलबाट तय गरिएको ७ बुँदे संकल्प सहितको घोषणा पत्र ।

१. युवा उद्यमशीलता, रोजगारी र स्वदेशी उत्पादनको उपभोग स् स्वदेशमै आफ्नो ज्ञान, सीप र क्षमताका आधारमा देशभित्रै रोजागार गर्ने सक्ने वातावरण निर्माण गर्ने, युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्ने, स्वदेशी उत्पादनका उपभोगलाई प्राथमिकता र सोको लागि समय सापेक्षित नीति, नियम, योजना र बजेटको व्यवस्था हुनुपर्ने ।

२. युवा सशक्तिकरण र नेतृत्वः युवाहरूलाई राजनीतिक, सामाजिक, र आर्थिक नेतृत्वमा पहुँच दिन राज्यका सबै तहमा समानुपतिक र अर्थपूर्ण सहभागी गराउने र उनीहरूको क्षमताको विकास गर्ने कार्यक्रम लागू गर्नुपर्ने ।

३. शिक्षा, प्रविधि र नवप्रवर्तनः सीप र बजारोन्मुख शिक्षा, डिजिटल शिक्षामा पहुँच, नवप्रवर्तनलाई प्रोत्साहन, र प्रविधिमा युवाहरूको पहुँचलाई सुनिश्चित गरी डिजिटल साक्षरता र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने ।

४.सामाजिक न्याय , लैङ्गिक समानता र सीमान्तकृत समुदायको समावेशिताः सामाजिक न्याय, लैङ्गिक समानता, अल्पसंख्यक, पछाडि पारिएका तथा सीमान्तकृत समुदायको मानव अधिकारको प्रवर्द्धन गर्दै सबै प्रकारका विभेद, हिंसा, र अन्यायको अन्त्य गर्ने ।

५. युवाहरुको भूमिकाको पहिचान, सम्मान र अवसर ः युवा भनेका भविष्यका कर्णधार मात्र हैन वर्तमान हुन र उनीहरुको भूमिका, योगदान र राष्ट्र निर्माणमा मेरुदण्डको आवश्यकतालाई अहिलेनै पहिचान गरी बढी भन्दा बढी अवसर प्रदान गर्नुपर्ने ।

६.पर्यावरण संरक्षण र दिगो विकासः वातावरणीय संरक्षण र दिगो विकासका लागि युवाहरूको सक्रिय भूमिका सुनिश्चित गर्दै हरित ऊर्जा, जलवायु परिवर्तन, र वातावरणीय न्यायको प्रवर्द्धनमा जोड दिनुपर्ने ।

७. सहकार्य, समन्वय र सहयोगः विविध क्षेत्रमा आवद्ध, कृयाशिल र विचारका युवाहरुबीच सहकार्य, समन्वय र सहयोगका भावनालाई बढाउने विविध कार्यक्रमहरुलाई स्थानीय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म संचालन गर्ने र राष्ट्र निर्माणको साझा संकल्प पुरा गर्न लागिपर्ने ।

भुपेन्द्र जंग शाही, सम्योजक


निर्मल कुमार उप्रेती, अध्यक्ष