काठमाडौँ । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै रु तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न रु २० देखि रु २५ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संसद्को पूर्वाधार समितिको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रुपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिए ।
गत हप्ताको भीषण वर्षा र बाढीका कारण ३४ राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा सात सय ७४ स्थानको पहिरो हटाइएको छ । कूल २९ वटा राजमार्गमा विभागीय तथा भाडाकायन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ । हालसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालनका गर्न अनवरत प्रयास जारी छ ।
कतिपय स्थानमा पहिरो हटाउनुका अतरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेजिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
अरनिको राजमार्गको लार्चा– कोदारी खण्डको पाँच किलोमिटर क्षेत्रमा समस्या रहेको छ । लिपिङ पुल र लार्चाको बेजिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ । त्यसका लागि लार्चामा ह्यूम पाइप र पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरिनेछ ।
बिपी राजमार्गको चौकीडाँडा– कालढुङ्गा खण्डको १८ किलोमिटर क्षेत्रमध्ये १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारणबीच बीचमा सवारी साधन रोकिएका छन् । दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको, रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भ भएसममका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालनको प्रयास गरिएको छ ।
पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत दोलालघाट राकथुम ८० किलोमिटर खण्डको धेरै स्थानमा पहिरो गई सडकसमेत बासआउट भएको, दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक सफा गरी बर्दिबासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौँ प्रवेश गराइनेछ ।
कान्ति राजपथको घपेली बगुवा खण्डको १३ किलोमिटर र बागमती पुलको दाँयाबाँया एप्रोचमा समस्या भएको छ । कमवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । बाग्मती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारीसाधन नियमित गराइने छ ।
मेची राजमार्ग अन्तर्गत रमिते फिदिमको आठ किलोमिटर खण्डको रमितेडाँडाको पहिरो हटाउने काम भइरहेको छ । हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिनेछ ।
यस्तै, अरनिको राजमार्गको लिपिङमा १७ मिटर लामो बेलिब्रिज जडान गरिनेछ । यस्तै अरनिको राजमार्गको लार्चामा ४५ मिटर, बिपी राजमार्गको सुनकोशी खैरेनीटारमा ५० मिटर लामो बेलिब्रिज जडान गर्नुपर्नेछ । यस्तै, बिपी राजमार्ग रामेछाप जोड्ने सडकको सुनकोशी खुर्कोट खण्डमा ५० मिटर लामो बेलिब्रिज जडानका लागि आवश्यक पहल सुरु गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरूको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताए ।
उनले सडक सञ्जाल विच्छेद भएका कारण बीपी राजमार्गमा सयौँ सवारी साधनहरू फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरू समेत अलपत्र परेका भन्दै सरकारले उनीहरूको उद्धारका लागि काम गरिरहेको बताए । उनले बीपी राजमार्ग दशैँ अगाडी खुलाउन नसकिने निष्कर्ष सरकारको रहेको स्पष्ट पारे । उनले देशभरको विपद्मा परेका नागरिकहरूको उद्धारमा सरकार लागिरहेको बताए । सडक विभागले नेपाली सेनाको तरिकामा काम गरिरहेको भन्दै उनले बिदाको बेलामा पनि विभागका कर्मचारीहरू विभिन्न उपकरणहरू लिएर काम गरिरहेका जानकारी दिए ।