-किशोर नेपाल
‘नाती जर्नेल’ श्री ३ महाराजा चन्द्र शमशेर जंगबहादुर राणाका नाती पशुपति शमशेर जगबहादुर राणालाई दरवारियाहरु सांकेतिक हिसावले यही नामले बोलाउँथे । पछि तत्कालीन निर्दलीय पन्चायत ब्यबस्थाका कार्यकर्ताहरु पशुपति शमशेर जंगबहादुर राणालाई यही ‘खानदानी’ नामले चिन्दथे र सम्बोधन गर्दथे । भारदारहरुबाट संरक्षित नेपाली समाजमा त्यो समयमा पनि, र अहिलेको समयमा पनि, पशुपति शमशेर जंगबहादुर राणा नाती जर्नेलको नामले नै बढी परिचित हुनुहुन्छ । उहाँको ब्यक्तित्व अहिले पनि निकै आकर्षक छ । बिद्या र बुध्दिका हिसावले तीक्ष्ण ब्यक्तित्वका धनी पशुपति राणाको ब्यक्तित्वमा राजषी प्रवृत्ति रहनु आश्चर्यको कुरा होइन ।
राणाकालीन श्री ३ महाराजा मध्ये सर्वाधिक शक्तिशाली र सर्वाधिक बढी समय (२९ बर्ष) शासनगर्ने चन्द्र शमशेर जबराका पनाती, श्री ३ महाराजा मोहन शमशेरका नाती तथा युवराज बिजय शमशेरका छोरा पशुपति शमशेर जंगबहादुर राणाको जन्म १९४१ मा भएको हो । पन्चायत राजनीतिमा उहाँको चर्चा निकै भएपनि उहाँलाई एक बौध्दिक ब्यक्तित्वका रुपमा चिन्नेहरु धेरै छन ।
यो पंक्तिकारले चिने–जानेका दरवारिया स्रोतहरुले बताए अनुसार, राजा महेन्द्र आफ्ना छोरीहरुको विवाह भारतका राजघरानासंग होस भन्ने चाहन्थे । यही क्रममा उनले ग्वालियर राजघरानाकी राजमाता विजयाराजे सिन्धियालाई पनि निम्त्याए । तर, उनको प्रयास सफल भएन । राजा महेन्द्रले आफ्नी छोरीको विवाह पशुपति शमशेरसंग होस भन्ने चाहना पनि राखेका थिए । त्यसै अनुसार उनले पशुपति शमशेरलाई विवाहको प्रस्ताव पठाए । तर, राजा महेन्द्रको प्रस्तावको जवाफमा पशुपति शमशेरले ‘विन्ति’ गर्नु भएछ ः मेरो दरवार (लक्ष्मी निवास) सरकारले अधिग्रहण गरी सक्यो । म आफै गोठमा बसेकोछु । अधिराजकुमारीसंग बिहे गरेर मैले मौसूफलाई कहाँ लगेर राख्नु ?
यसलाइ संयोग मान्ने कि भाग्य, पशुपति शमशेर जबराको बिवाह राजमाता सिन्धियाकी सुपुत्री उषाराजे सिन्धिया संग सम्पन्न भयो ।
सक्रिय पत्रकारका रुपमा पशुपति शमशेर राणासंग सन १९८९ को ६ जुलाइको साँझ ८ः१५ बजेदेखि राति ११ः१५ बजेसम्म लामो कुराकानी भएको थियो मेरो । उहाँसंगको मेरो कुराकानीमा धेरै बिषय समेटिएका थिए । ती मध्ये प्रमुख थिए ः राणाकालपछिको राजनीति, नेपाली समाज, सन १९५१ को क्रान्ति, कुलीनतन्त्र, सामन्तवाद, जनताका लोकप्रिय नेताका रुपमा बी.पी.कोइरालाको उदय, प्रधानमन्त्रीका रुपमा बी.पी.कोइरालाले चाल्नु भएका केही क्रान्तिकारी कदमहरु र नेपालको भबिष्य ।
पशुपति शमशेरको रुचि बौध्दिक बिषयमा बढी रहने गरेकोछ । बेलायतको अक्सफोर्ड बिश्वबिद्यालयबाट उच्च शिक्षा हासिलगर्नु भएका पशुपति शमशेर राणा अध्ययन सकेपछि देश फर्किएर राजनीतिमा प्रवेशगर्न चाहनु हुन्थ्यो । कुराकानीको क्रममा पशुपति शमशेरले मलाइ बताउनु भएको थियो, ‘राजा महेन्द्रले मलाई राजनीतिमा प्रवेशगर्नबाट रोक्नु भएको थियो ।’
वार्ताको क्रममा पशुपति शमशेरले त्यो साँझ मलाई अरु पनि निकै चाखलाग्दा कुराहरु बताउनु भएको थियो, ‘राजा महेन्द्रको निधनपछि मात्रै म पन्चायती राजनीतिमा प्रवेश गरेको हूँ ।’
मैले उहाँसंग पटक पटक आग्रह गर्दापनि राजा महेन्द्रले किन उहाँलाई राजनीतिमा प्रवेश निषेध गरेका थिए ? उहाँले त्यसको जवाफ दिन चाहनु भएन । राजा महेन्द्रको शासनकालमा राणाले केही समय श्री ५ को सरकारको सह–सचिवका रुपमा प्रशासनिक दायित्व वहनगर्नु भएको थियो ।
पन्चायत ब्यबस्थाको राजनीतिमा लागेपछि पशुपति शमशेर राणा, आफ्नो उदार बिचार र स्वभावका बिपरित, पन्चायतको अनुदारवादी भनिने समूहसंग जोडिनु भयो । सम्भवतः यो उहाँको राजनीतिक बाध्यता थियो होला । सन १९७९ मा भएको निर्दल र बहुदल बीच जनमत संग्रह गराउने दायित्व राजा बीरेन्द्रबाट प्रधानमन्त्री सूर्यबहादुर थापाले पाएका थिए । पशुपति शमशेर पन्चायत ब्यबस्थाभित्र थापा बिरोधी समूहमा हुनुहुन्थ्यो ।
भारतले नेपालमा नाकाबन्दी शुरु गरेपछि देशको आर्थिक र राजनीतिक ब्यबस्था संकटमा परेको थियो । त्यही सन्दर्भमा, त्यो साँझ म संगको अन्तर्वार्तामा पशुपति शमशेरले स्पष्ट शब्दमा बताउनु भएको थियो ः सामान्य अवस्थामा म देशको प्रधानमन्त्री हुन सक्दिन भन्नेमा मलाई अलिकति पनि भ्रम छैन । हो, अवस्था निकै गम्भीर भयो भने देशलाई मेरो प्रधानमन्त्रीत्वको आबश्यकता पर्नेछ । देशमा या त जुलाईको अन्त्यतिर या अगष्टको प्रारम्भमा हुने प्रस्तावित आन्दोलनले पनि मेरो प्रधानमन्त्रीय नेतृत्वको आवश्यकता तयगर्न सक्दछ । प्रस्तावित आन्दोलन वर्तमान पन्चायत ब्यबस्थाका लागि कठोर हुनेछ ।
त्यतिबेला पशुपति शमशेर निकै आशावादी देखिनु भएको थियो ।
भारतले कलकत्ताको बजबज बन्दरगाहको मर्मत–सम्भारको कारण देखाएर नेपालसंगको नाका बन्द गरेपछि नेपाल सरकारले त्यसको बिरोधगर्नु स्वाभाविक थियो । नेपालका लागि पेट्रोलियम पदार्थको आपूर्ति बजबजबाटै हुने गर्दथ्यो । मैले जुलाइ २७ कै दिन कलकत्तामा रहेका मेरा मित्रहरुबाट बजबज बन्दको खवर पाइ सकेको थिएँ । त्यतिखेर म रोयटर्सको संवाददाता थिएँ । रोयटर्सले मेरो समाचार प्रकाशितगर्ने बित्तिकै बीबीसी लगायतका प्रायः सबै संचार माध्यमले त्यसलाई प्राथमिकताका साथ प्रसारित गरे ।
त्यो समयमा नेपाली जनता बिवादको यही मेसोमा भएपनि केही परिवर्तन होस् भन्ने चाहीरहेका थिए । तर, मलाई त्यस्तो केही होला जस्तो लागेको थिएन । तत्कालीन प्रधानमन्त्री मरीचमान सिंह सुरक्षित थिए । त्यतिबेला बजबज समस्याको अल्पकालीन समाधानका लागि पशुपति शमशेर राणाको प्रभावको प्रयोग भइरहेको थियो । मैले पाएको सूचना आधारहीन थिएन । त्यतिबेला सामयिक सन्दर्भहरुलाई केलाउँदै मैले देशान्तर साप्ताहिकको पहिलो पृष्ठमा सम्पादकीय टिप्पणी लेखेंको थिएँ ः हे पशुपतिनाथ, तपाईंको नेत्र खुलोस् ।
तर, पशुपतिनाथले न त्यतिबेला नेत्र खोल्नु भयो, न अहिले नै खोल्नु भएकोछ । पशुपतिनाथले नेत्र खोलिदिनु भएको भए पछिल्लो समयमा नेपालमा भएको यति बृहत राजनीतिक परिवर्तनको यति ब्यापक अराजनीतिकरण हुने थिएन होला । यो सत्यलाई इन्कारगर्न सकिदैन ः नेपाली समाजमा बडा–महाराजाधिराज पृथ्वीनारायण शाहका सन्ततीको तुलनामा नेपालका राणा प्रधानमन्त्रीहरु प्रभावी थिए । पृथ्वीनारायण शाहले राज्य बिस्तार गरे । तर, उनका सन्ततिले शासन–सत्ताको सुख भोग्न पाएनन ।