धर्मशाला विवाद जटिल माेडमा - रुपान्तरण
 २०८१ माघ २६, शनिबार    

धर्मशाला विवाद जटिल माेडमा

बिचाैलियाकाे खेल राेक्न सरकार असक्षम


- रूपान्तरण संवाददाता 

सहकारी ठगी र पशुपति गौशालामा रहेको धर्मशाला बिवादले आन्दोलित भएको संघीय राजधानी काठमाडौं अहिले केही सुस्ताएकोछ । सहकारी ठगीको अभियोग लागेका पूर्व गृहमन्त्री पोखरामा न्यायिक हिरासतमा रहेका छन भने पशुपति गौशाला मुद्दा पनि तत्कालका लागि स्थगित भएकोछ ।

पशुपति मन्दिर वरपरका स्थानीयहरुको भनाइमा जसरी एकाएक गौशाला धर्मशालाको विषय चर्किएकोछ त्यसैगरी केही दिनमा घटना गुमनाम भएर जानेछ । उनीहरुका अनुसार विवादमा ल्याउनै नपर्ने गौशाला धर्मशालाको विषयलाई विवादमा ल्याउनुमा राजनितिक स्वार्थ जोडिएको हुनसक्छ । बर्षौ देखि पशुपति बिकास कोषको गतिविधि नियालीरहेका स्थानीयहरु भन्छन, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ परिसरमा रहेको जीणर् अवस्थामा पुगेको धर्मशालालाई पुनः निर्माण सम्म गर्न सकेकोछैन । त्यो धर्मशालालाइ पनि का.म.न.पा.ले आफ्नो लिने प्रयत्न गरिरहेकोछ । भारत सरकारले निर्माण गरेर उपहार दिएको तीलगंगा धर्मशालालाइ पशुपति बिकास कोषले बतास समूहलाइ तीन तारे होटल संचालन गर्न ठेक्कामा दिएकोछ । अहिले आएर गौशाला धर्मशालामा कोषको गिद्धे नजर पर्नु अस्वाभाविक होइन ।

संसारभरिका हिन्दूहरुले देवाधिदेव मान्दै आएका पशुपतिनाथ समय-समयमा विवादमा तानिने गरेकाछन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका समयमा पशुपतिनाथका पूजारी भारतीय नागरिक भएकोले उनीहरुलाई हटाएर नेपाली पूजारी राख्ने निणर्य गरेको थियो सरकारले । तर, त्यो निणर्य मान्य भएन । नेपालका धर्मभिरु हिन्दूहरु शिवजीलाई चढाइएको ‘शिवश्व’ खान तयार थिएनन । सक्रिय राणातन्त्र र राजतन्त्रको समयमा पशुपतिनाथको पूजा आराधनाकै लागि दक्षिण भारतबाट झिकाइएका पुजारीहरुको मान-मर्यादा निकै उच्चस्तरको थियो । पुजारी भट्टहरु मध्येका मूल पूजारी अर्थात् मूल भट्ट प्रत्येक साता राज परिवारका लागि पशुपतिनाथको प्रसाद बोकेर ‘उलिनकाठ’ चढेर राजदरवार जाने गर्दथे । उनीहरुको निकै ठूलो प्रतिष्ठा थियो ।

देशमा राजनीतिक र सामाजिक परिवर्तनको लहर चलेपनि पशुपति मन्दिरका आफ्नै नियम छन । ती नियमहरु अहिले पनि बदलिएका छैनन । धर्मभिरु हिन्दूहरु मर्नेबेलामा पशुपतिनाथको स्नानपछि आर्यघाटको ब्रम्हनालमा झरेको जल आफ्नो शरीरमा परोस् भन्ने चाहन्छन ।

त्यतिमात्रै नभएर कांग्रेस, कम्युनिष्ट, माओवादी, जनवादी, आस्तिक र नास्तिक सबैथरिका राजनीतिज्ञहरुको मृत शरीरलाई आर्यघाटमा नै जलाइन्छ । संसारका हरेक समाजमा कतिपय चलनहरु यस्ता हुन्छन, तिनलाई अपवादका रुपमा त्यत्तिकै छाडिन्छन । हिन्दूहरुका आराध्यदेव मानिने पशुपतिनाथ मात्रै अपवाद होइनन ।

pashupatinath

 

देवपत्तन र बत्तीसपुतली गाउँको सीमानामा बनाइएको गौशाला पशुपतिनाथकै नाममा समर्पित थियो । यहाँबाट नित्य-प्रतिदिन पशुपतिनाथको दुग्ध स्नानका लागि दूध लगिन्थ्यो । पशुपतिनाथको स्नानका लागि दूध छुट्याएपछि बाँकी रहेको दूध सर्वसाधारण जनतालाई सुपथ मूल्यमा बेचिन्थ्यो । पशुपतिनाथको पूजाकै प्रयोजनका लागि नजीकैको भण्डारखालमा थरिथरिका फूलहरु रोपिन्थे । यी सबैको प्रयत्न र प्रवन्ध पशुपतिनाथको परिसरलाई समृध्द बनाउनु थियो ।

नेपालमा ब्यापार ब्यबसाय गरेर बसेका भारतीय मूलका मारवाडी समुदायका साहू-महाजनहरुको संलग्नतामा नै पशुपति गौशालाको बिकास भएको हो । सुप्रसिध्द हिन्दू तीर्थस्थलका रुपमा पशुपतिनाथको पहिचान स्थापित गराउन मारवाडी समुदायको निकै ठूलो योगदान रहेको इन्कारगर्न सकिदैन । पशुपति परिसरको बिकासका लागि हिन्दू बहूल देश भारतको योगदान पनि उत्तिकै रहेकोछ । बिश्वभरि मौलिक हिन्दू धार्मिक देशका रुपमा नेपालको महिमा बढाउन भारतीय मूलका ब्यापारी र ब्यवसायीहरुको योगदानको चर्चा नगर्नु कृतध्नता हुनेछ ।

अहिले पशुपति क्षेत्र धार्मिक तीर्थका रुपमा संसारका हिन्दूहरुको ‘हब’ बनेकोछ । यहाँ प्रतिदिन कति दर्शनार्थी यात्रुहरु आउँछन ? त्यसको लेखाजोखा सम्भवतः पशुपति बिकास कोषले पनि राख्न सकेको छैन । पशुपतिनाथकै नाममा वागमती परिसरमा सयौं ब्यबसायिक भवन बनेका छन ।

धर्मका नाममा दानको बर्षाहुने हुनाले नै सरकारले पशुपति बिकासका लागि पशुपति बिकास कोषको नाममा एउटा सेतो हात्ती खडा गरेको छ । यो सेतो हात्तीको अहिलेसम्मको कामलाई हेर्दा यसले पशुपति क्षेत्रको बिकासका लागि माखो मारेको छैन । भारत सरकारले तीर्थयात्रुहरुका लागि बनाइदिएको धर्मशालालाई होटल चलाउन ठेक्कामा सहमतिदिने कोषका अधिकारीहरुमा शिवश्व खान हुँदैन भन्ने चेतना कतै बाँकी नै रहेको छैन ।

अहिले चलाइएको पशुपति गौशाला बिबादमा अनाबश्यक रुपले मुछिन आएको छ: काठमाडौं महा-नगरपालिका । सबैलाई थाह छ: पशुपतिनाथ नेपालको मात्र होइन, संसारका सबैभन्दा धनी देवाधिदेव मध्येका एक हुन । अहिले चलेको यो विवादको अन्तर्राष्ट्रियकरण भयो भने नेपालको तस्वीर कति धमिलो होला ? यतिखेर, गौशाला निर्माणगर्ने धर्मभिरु मारवाडीहरुको पुस्ता छैन । उनका सन्तानहरु नेपालबाट बाहिरिइ सकेकोछ । काठमाडौंमा अहिले रहेको मारवाडी समाज आपूmलाई कमजोर ठान्न थालेकोछ । तिनका धारणा बिथोलिएका छन । उनीहरु आपूmले गरेको धर्मार्थ कार्यको तत्काल प्रतिफल खोज्न थालेका छन भने देशको केन्द्रीय सत्ता नियन्त्रणमा लिएर बसेका नेताहरुले धर्म र यसको सार्वजनिक संवेदनशीलतालाई बुझेका छैनन । सरकारले नियमित र सुगम गराउन आफ्नै स्रोत खर्च गरेर सघाउनुपर्ने क्षेत्रमा शासनगर्न खोजेपछि नभडकिने कोही हुँदैनन । धर्मशालामा कसैको मोहियानी हक लाग्दैन । किनभने, धर्मशाला र गौशाला सार्वजनिक सम्पत्ति हुन । शहरमा सामान्य अपराधसम्म नियन्त्रणगर्न नसक्ने प्रशासन, शहरका बाटा-घाटा सफा र सुविधाजनक बनाउन नसक्ने स्थानीय वडा निकाय, सार्वजनिक महत्वका स्थानहरुमा शौचालयको ब्यबस्थासम्म गर्न नसक्ने काठमाडौं महानगरपालिकाका नेताहरु नगर प्रहरी खटाएर जनता तर्साउन चाहन्छन । यस्तो प्रवृत्तिले देशलाई कमजोर बनाउँछ ।