सरकारकै कारण कोरोना फैलियो, उद्घाटन र भीडभाडमा उत्रियो - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

सरकारकै कारण कोरोना फैलियो, उद्घाटन र भीडभाडमा उत्रियो

पार्टी महाधिवेशन धकेल्न नमिल्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रुपमा फैलिएको आरोप लगाएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा केहीबेरअघि पत्रकारसम्मेलन गर्दै देउवाले सरकारले विगतबाट पाठ नसिक्दा तथा उद्घाटन, भीडभाड र तडकभडकमा व्यस्त रहेर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणतर्फ कुनै ठोस काम नगरेकाले यस्तो अवस्था आएको बताए ।

देउवाले संक्रमण व्यापक रुपमा बढेको भन्दै आवश्यक आइसियु बेड, अक्सिजन र भेन्टिलेटरको तत्काल व्यवस्था मिलाउनसमेत सरकारलाई आग्रह गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कांग्रेससहित अन्य सरोकारवालाहरुले पटक पटक दिएको सुझावलाई समेत सरकारले नसुनेको भनेका छन् ।

अत्यावश्यक अक्सिजनन भेन्टिलेटरको आपुर्ति तत्काल सुनिश्चित गरियोस, अस्पतालमा आइसियु बेड, आवश्यक औषधिको तत्काल समुचित व्यवस्था गरियोस, कन्ट्रयाक टेसिङलाई व्यापक बनाइयोस्,’ देउवाले पत्रकारसम्मेलनमा भनेका छन् ।

यस्तै सीमा नाकाबाट आएकाहरुमा परिक्षण बढाउन र उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई जोखिम भत्ताको व्यवस्था तत्काल गर्न पनि देउवाले आग्रह गरेका छन् ।

काठमाडौं उपत्यका लगायतका ठाउमा लकडाउनको निणर्यपछि उपत्यका छाड्ने समय दिएपछि संक्रमित गाउँगाउँ पुगेको भन्दै देउवाले सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेका छन् । देउवाले खोपको आपुर्तिका लागि व्यवस्था गर्नेतर्फ तत्काल पहल गर्नसमेत सरकारलाई सुझाएका छन् ।

यस्तै लकडाउनका कारण आर्थिक सामाजिक रुपमा मारमा परेकाहरुका लागि आवश्यक कार्ययोजना ल्याउनसमेत देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोना बिरुद्धको सचेतना अभियानमा परिचालित हुन निर्देशनसमेत दिएका छन । यस्तै आर्थिक सामाजिक समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभियान चलाउनसमेत पार्टी पंक्तिलाई निर्देशन गरेका छन् ।

उनले अमेरिकालाई खोप सहयोग गर्ने निर्णय गरेकामा धन्यवाद दिंदै यसअघि भारत र चिनलाई पनि खोप सहयोग गरेकोमा धन्यवाद दिएका छन् । यस्तै खोपको मात्रा सुरक्षित गरिराखेका देशहरुलाईसमेत बुक गरिएको कोटाबाट केही डोज नेपाललाई उपलब्ध गराउनसमेत पुनः आग्रह गरेका छन् ।

सभापति देउवाले संविधान अनुरूप पार्टी महाधिवेशन धकेल्न नमिल्ने भएकाले महाधिवेशन गर्नुको विकल्प नरहेको पनि बताए । उनले भने, ‘विकल्प केही छैन, नेपालको संविधान अनुसार कुनै पनि हालतमा हुनैपर्छ।’

 

"