-रुपान्तरण संवाददाता
काठमाडौँ । यतिबेला उपत्यकाका सडकमा दैनिक रूपमा बढिरहेको समस्या हो ट्राफिक जाम । काठमाडौं उपत्यकाका शहरिया जनताको सुविधाका लागि बनेका सडकको प्रयोगगर्ने सवारीवाला, तोकिएको समयमा कतै पुग्न ट्याक्सी प्रयोगगर्ने ब्यक्तिहरुले वा दैनिक सार्वजनिक यातायातको प्रयोगगर्ने सर्व साधारणले तोकिएको समयमा तोकिएको ठाउँमा पुग्न ट्राफिक जाममा बित्ने समयको समेत हिसाव गरेर यात्रा शुरु गर्नुपर्ने अवस्था छ ।
काठमाडौँ उपत्यका वरपरका काँठ क्षेत्रका रमणीय कान्लाहरु शहरमा परिणत हुन थालेको धेरै भएको छैन । काठमाडौं उपत्यका वरपरका गाउँहरुको बढ्दो शहरीकरणसँगै बाटाघाटा साँघुरिनु अस्वाभाविक पनि होइन । केही समय अगाडिसम्म राष्ट्रपति, प्रधानमन्त्री र अति विशिष्ट ब्यक्तिहरुको आवागमनका बेला छोटो समयका लागि सडक जाम हुन्थ्यो । हिजोआज केही कार्यक्रम विशेषमा मात्र सवारी चलाउन रोकिन्छ र पनि जाम बढ्ने गरेको छ । सरकार चलाउने मन्त्रीजीहरु पुल्चोकस्थित मन्त्री टोलबाट खुमलटारमा बनेको नयाँ मन्त्री टोलमा सरेपछि ललितपुर महानगरपालिकामा पनि सवारीको चाप व्हात्तै बढेकोछ ।
सडकमा दिनभर धुवाँधुलोमा डुबेर इसाराले सवारीसाधनको भीडलाई नियन्त्रित गरी रहेका ट्राफिक प्रहरीको शारीरिक, मानसिक स्थिति तर्फ कसैले सोचेको देखिदैन ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता रवीन कार्की बताउनुहुन्छ: चाडपर्वको समयमा सवारीसाधनको भिडभाड हुनुलाई स्वभाविक रूपमा लिनुपर्छ । सधैं एउटै परिस्थिति रहने होइन । यातायात प्रशासनबाट दुइबर्षसम्म पनि सवारी चालकको प्रमाणपत्रलिन नसकिने अवस्था रहेको स्थितिमा सरकारले हाल केही सुधारगर्न खोजेको देखिन्छ । ‘नागरिक एप्स’ मार्फत अहिले सहज रूपमा लाइसेन्स लिन सकिने प्रक्रिया अगाडि बढाइएको दावी सरकारले गरेकोछ । यसले लाइसेन्सलिन यातायात कार्यालयमा लाग्ने भीड समाधान हुने बताइन्छ । तर, लाईसेन्सलिने प्रक्रिया अझै सरल भएको छैन । यातायात प्रशासनले लाइसेन्स लिन ‘ट्रायल’ पास गरेर शुल्क तिरेपछि भुक्तानी गरेको रसीद प्रक्रियागत रूपमा इन्ट्रि गराएपछि लाइसेन्स नम्बर पाउन सकिने दावी गरेपनि सवारी चालकको जाँचलिने पध्दति नै अवैज्ञानिक छ । प्रबक्ता कार्कीले नागरिक एप्सको प्रयोगले सर्वसाधारणले सजिलै लाइसेन्स लिनसक्ने दावी गरेका छन ।
सार्वजनिक र निजी सवारीका बीच सरकारले सहज सम्बन्ध कायम गर्न सकेको छैन । यातायात चालकको अनुमति नपाएका चालकहरू धेरै रहेका छन । शहरमा पठाओ, इन–ड्राइभ र निजी चालकको चलन बढ्दो छ । तर, यस्ता सेवादिने ब्यक्ति र कम्पनीहरुको ‘परिचय’ यातायात बिभागसंग छैन ।
सवारी नियन्त्रणका लागि उपत्यकाका सडकमा राखिएका ६५ वटा ट्राफिक लाइट मध्ये अहिले २३ वटाले काम गरिरहेका छन । बाकी ४२ वटा बिग्रिएका छन ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनहरूको नियमन र नियन्त्रणका लागि नौ वटा क्षेत्रमा स्क्यान पिआर मसिन जडान गरेकोछ । यसले तीब्र गतिमा सडकमा दौडिइरहेका सवारीसाधनको नम्बर स्क्यान गरि मोनिटरिङ गर्ने काम गर्दछ । सवारी कुन दिशातर्फ कुन गतिमा अग्रसर हुदैछ त्यसको आंकलन गर्ने कार्य भइरहेको दावी ट्राफिक प्रहरी कार्यालयको छ ।
उपत्यकामा धनीमानी ब्यक्तिहरुका लागि यातायात र यसका नीति–नियमको समस्या छैन । ‘पावर’मा रहेकाहरु पावरको प्रभावले जोगिन्छन । तर, सर्वसाधारण नागरिकभने सवारीसाधनबाट हुने ध्वनि प्रदूषण, साना टेम्पोदेखि बस, मिनी बस र निजी सवारीसाधनको मनपरीले पीडित छन । यातायातको अब्यबस्थाले संघीय राजधानीको स्वच्छता रहन दिएको छैन ।
संघीय राजधानीका सडकहरुमा ट्राफिक चिन्ह राखिए पनि यसको उपयोग भएको छैन । सडकका दोबाटो, चौबाटोमा पैदल यात्रीको सुविधाका लागि जेब्रा क्रसिंंग बनाइएकोछ । तर, पैदल यात्रीका लागि सवारी चालकले बाटो छोड्नुपर्ने नियमको पालना गराउने क्षमता छैन ट्राफिक प्रहरी जवानहरुको । नेपालका ठूला बडाहरु न नियमको पालना गर्दछन, न जनताको सम्मान ।
ट्राफिक प्रहरीको काम, कर्तव्य र जिम्मेवारी एकातिर, सार्वजनिक यातायात संचालकहरुको ब्यबसायिक प्रवृत्ति अर्कोतिर । अहिले जनताले सुविधाजनक हिसावले सार्वजनिक यातायातमा यात्रा गर्नपाउने अवस्था नै छैन । यस्तो अवस्था सिर्जना नहुने हो भने साँघुरिदै गएको उपत्यकाका ऐतिहासिक शहरहरुको अस्तित्व लोप हुनेछ । शहरी यातायातका समस्या संघीय सरकारको यातायात ब्यबस्था बिभागले मात्रै समाधानगर्न सक्दैन । अहिलेसम्मको अनुभवले यही बताउँछ । सार्वजनिक जीवनसंग जोडिएका कतिपय सरकारी बिभागहरु नीहित स्वार्थीहरुको कमाउने स्वार्थसंग जोडिएका छन । आवश्यकताभन्दा बाध्यताले जनताले सार्वजनिक यातायातको भीड छिचल्नु परेकोछ । समस्या सानो देखिन्छ, तर समाधान जटिल छ ।