न्यूरोडमा पार्किङ छैन, ब्यापारी मर्कामा छन - रुपान्तरण
 २०८१ मंसिर २९, शनिबार    

न्यूरोडमा पार्किङ छैन, ब्यापारी मर्कामा छन


सुजन तिमल्सिना

काठमाडौ । दशैं, तिहार र छठपर्व पछि बजार केही सुस्ताएकोछ । चाडपर्वमा ब्यापार बढ्ने गरेपनि चाडपर्वपछि बजार सुनसान जस्तै देखिन्छ । दशैं तिहारमा बजार राम्रोसँग चलेपनि त्यसपछि बजारमा ग्राहकहरू कमै आउने गरेको देखिन्छ । शहरको एकमात्र उच्चस्तरीय बजार मानिने न्यूरोडमा दिनहूँ जसो भीडभाड लाग्ने गर्दछ । यो ब्यापारिक जमघटहुने राम्रो ठाउँ हो । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सडकमा पार्किङगर्न रोक लगाए पछि बजार सुस्ताएको देखिन्छ । पार्किङ नहुदाँ सवारीवाला ग्राहकहरु आउन कम भएको छ ।
काठमाडौँ महानगरपालिकाले सडकछेउमा पार्किङ रोकेसंगै बजारमा सन्नाटा छाएको थियो । पछि केही हदसम्म बजार रूपान्तरित भएको देखिन्छ ।

न्युरोड खिचापोखरीमा रहेको ह्याप्पी लगेज हाउसका सञ्चालक केन्द्र कार्कीको भनाईछ : चाडपर्वपछि बजारमा मानिसको आवागमन घट्नु स्वभाविक हो । बजार मिश्रित रहेकाले महानगरले पार्किङ हटाए पछि केही हदसम्म मानिसको आगमनमा कठिनाई रहेकोछ । तर, आवश्यकता पूर्तिका हिसावले सामान किन्न आउने खरीददारको संख्या घटेको भन्न मिल्दैन ।
बजारमा सामान ल्याउन गाह्रो भएकाले पनि सर्वसाधारणको माग धान्न गाह्रो भएको अनुभव छ कार्कीको । रोजगारीका लागि विदेशिन लागेका नागरिक तथा स्कुल कलेजका विद्यार्थीहरू बजारमा सामान किन्न आउने गरेका छन । महानगरपालिकाले पार्किङ हटाउँदा भीडभाड कम भएकोछ । तै पनि, आवश्यकता अनुुसार मानिसहरू बजार त आइरहेकै छन ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार, धर्मपथ, जुद्ध सालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा सवारी साधन पार्किङ गर्न पाइदैन । यी क्षेत्रमा २०८० माघ ९ गतेदेखि पार्किङ निषेध गरिएको थियो । सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएकाथिए । तर, महानगरसंगको वार्तापछि सहमति स्थापित भयो ।

खिचापोखरीमा तन्ना तथा सिरकका खोलहरूका ब्यापारी चिरन पौडेलका अनुसार महानगरपालिकाले पार्किङ निषेध गरेको केही समयसम्म सटरको भाडा तिर्नै धौ-धौ परेको थियो । चाडपर्वमा व्यापारबाट केही राहत मिलेपनि सर्वसाधारणको नयाँसडक आवागमन निकै पातलिएकोछ । पार्किङ नहुदाँ धनी ग्राहकहरुलाई समस्या पर्नु स्वाभाविक हो । तर,महानगरको कामले ब्यक्तिगत रूपमा समस्या परेपनि काम राम्रो गरेको पौडेलको दावी छ । त्यस्तै, सनराइज फेन्सी कलेक्सन सेन्टरले न्युरोड, खिचापोखरीमा धेरै लामो समयदेखि कपडाका विभिन्न भेराइटीहरू बेच्दै आईरहेको छ । यहाँका सञ्चालकका अनुसार पार्किङको समस्या र सिजन अनुसार कपडाहरू समयमा भित्य्राउन नसक्दा ब्यापार स्वतः कम भएकोछ । प्रायः जसो सामान बिभिन्न बजारबाट ल्याएर बेच्नका लागि बलियो ग्राहकको आबश्यकता पर्दछ । बजारमा खरीददार नै कम भएपछि सोचेजस्तो ब्यापार हुँदैन । बजार अनुरूप चल्नका लागि सिजन अनुसारको कपडा झार्नसक्नु पर्दछ ।

काठमाडौँ महानगरपालिकाले लामो समय सडकमा सवारीसाधन रोक्न नपाउने नियम लागू गरेकाले भारी बोकेर जीवन चलाउने मजदूरले पक्कै पनि केही राहत पाएका छन ।
न्यूरोडको पार्क प्लाजामा रहेको भाइवर कलेक्सनका संचालकहरु अघिल्ला बर्षहरूमा जस्तो यो बर्ष कपडा नविकेको बताउँछन् । बजारको माग अनुसारको कपडा नभएर वा आकर्षक डिजाइन भित्य्राउन नसक्दा ब्यापारमा ह्रास आएको बताउँछन ।

महानगरले न्यूरोडको ऐतिहासिक महत्व र आकर्षणलाई बुझेर बजारका केन्द्रस्थलहरुमा सीमित समयका लागि पार्किंगको ब्यबस्थापन गर्न सकेको खण्डमा न्यूरोड जाने रहर बोकेका नव–धनिकवर्गका ग्राहकको रहर मेटिने छ । महानगरलाई पनि घाटापर्ने छैन ।