म शून्यमा शून्यसरी बिलाएँ - रुपान्तरण
 २०८१ मंसिर २९, शनिबार    

म शून्यमा शून्यसरी बिलाएँ


-किशोर नेपाल

छोरा निमेष र निशेष दमनदाइलाई दागबत्ती दिइ रहेका थिए । चिताको छेउमा अन्तिम दर्शनका लागि उभिएका मानिसको भीडमा उभिएर छोरी नीतिका रोइ रहेकी थिइ । बागमतीपारी र वारी दमनदाइप्रति श्रध्दान्जली दिन आएका जन–समूह शिथिल देखिन्थ्यो । म आफ्नै अतीत सम्झी रहेको थिएँ । आठबर्षको उमेरमा हामी एकहूल केटाकेटी दमनदाइको पछि लागेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको दर्शनका लागि आर्यघाट आएका थियौं । सम्भवतः त्यो कष्टकर समयमा नै महाकवि देवकोटाले एउटा कवितामा लेख्नु भएको थियो– म शून्यमा शून्यसरी बिलाएँ ।

आज अपरान्ह आर्यघाटमा अन्तिम दर्शनका लागि पुग्दा चितामा सुताइएको उहाँको पार्थिव शरीर देखेर मलाइ त्यस्तै अनुभूति भयो ।

आज नेपाली लोकतान्त्रिक आन्दोलनका मजबूत खम्बा दमननाथ ढुंगाना ‘शून्यमा शून्यसरी’ बिलाउनु भयो । अब उहाँको सम्झना बाहेक केही बाँकी रहेन ।
दमनदाइले आफ्नो नामसंग कहिल्यै पनि ‘नाथ’ जोड्नु भएको थिएन । २०४७ सालको संसदीय चुनावमा उम्मेदवारी दिएपछि औपचारिक सरकारी कागजपत्रमा दमननाथ ढुंगाना लेखिन थाल्यो । २०४७ सालको आन्दोलनलाई टुंगोमा पुर्याउन दमनदाइले अथक मेहनत गर्नु भएको थियो । राजा बीरेन्द्रले दलहरुमा लागेको प्रतिबन्ध हटाएर बहुदलीय प्रजातान्त्रिक ब्यबस्थाको घोषणा गरेपनि पन्चायत ब्यबस्थाका कार्यकर्ता अकडिएका थिए । दमनदाइ र बहुदलीय पक्षका प्रतिनिधि नेताहरु प्रज्ञा–प्रतिष्ठानमा पन्चायतका नेताहरुसंग ‘वार्ता’ गर्दै थिए । त्यो समयमा जनता बहुदलीय प्रजातन्त्रका पक्षमा थिए । ठूलो जन–दवावपछि बल्लतल्ल कुरा सल्टिएको थियो ।

दमनदाइमा असीम धैर्य थियो । हतारमा कुनै काम नगर्ने उहाँको बानीले सक्रिय राजनीतिमा उहाँ टिक्नु भएन । सभामुख पदमा निर्वाचित हुनुभएका दमनदाइलाई अपमानितगर्ने उपक्रम शुरुभयो । कांग्रेसभित्र उहाँ कुनै गुटमा हुनुहुन्नथ्यो । कृष्णप्रसाद भट्टराईसंग दमनदाइको बैचारिक निकटता गहिरो थियो । त्यसबारे नेपालको राजनीतिक इतिहासका अध्येताहरुले यथा समय लेख्ने नै छन । नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापनाका लागि उहाँले बीपी कोइरालाका बिचार र बिश्लेषणहरु अंगीकार गर्नु भएको थियो । पछिल्ला बर्षहरुमा दमनदाइ सक्रिय राजनीतिबाट अलि पर बस्नु भएको थियो । माओवादीले जनयुध्दको प्रारम्भ गरेपछि दमनदाइ पूर्ण रुपले देशमा शान्ति स्थापनाको अभियानमा लाग्नु भयो ।

दमनदाइले आफ्नो आदर्शका लागि खप्नु र खेप्नु भएको दुःखको लेखाजोखागर्न सकिदैन । त्यो दुःख राजनीतिक र बैचारिक मात्र थिएन, आर्थिक र भौतिक पनि थियो । यसबारे फेरी लेखौंला । दमनदाइ जस्तो स्वाभिमान र निष्ठाका ब्यक्तिको जीवन त नेपाली समाजको पर्दामा टल्किनै पर्दछ ।

आफ्नो जीवनलाई चलायमानराख्न दमनदाइले सहनु भएको भौतिक दुःख र कष्टको कल्पनापनि कसैले गर्न सक्दैन । एकसमय यस्ता दिन पनि थिए जब दमनदाइ अर्थ आर्जनका लागि अंग्रेजी भाषाबाट नेपालीमा अनुवादगर्ने काम गर्नु हुन्थ्यो । बेदब्यासले बोलेका वचनहरु गणेशजीले लिपिबध्द गरे झै दमनदाइले अंग्रेजीबाट नेपाली बनाउनु भएका शब्द र बाक्य म लिपिबध्द गर्दथे । यसबाट भएको कमाइले अलिकति घरखर्च र अलिकति कार्यकर्ताको जीवन धान्ने खर्च टथ्र्यो । दमनदाइले भूपा दिदीसंग ‘जीवनका साँझहरु’ बिताउन थालेपछिमात्र उहाँको जीवनमा सुखद परिवर्तन आउन शुरु भएको थियो ।

आज अपरान्ह आर्यघाटमा अन्तिम बिदाइगर्न आएका जनता–जनार्दनको भीड देखेपछि मैले सोचें, जनतामा सत्य र स्वाभिमानी नेताप्रतिको बिश्वास अलिकति पनि कम भएको छैन । दमनदाइ पद, प्रभाव र पैसाको लोभमा कहिल्यै पर्नु भएन । लोकतन्त्रप्रतिको अगाध निष्ठा र समर्पण भावले उहाँलाई अमरत्व प्राप्त भयो । हामी जनता उहाँप्रति कृतज्ञ हुनै पर्दछ ।

मेरो त के कुरा गर्नु र ? दमनदाइसंगका सम्झना कति छन कति । कवि हरिवंशराय बच्चनले भने जस्तै – के बिर्सौ, के सम्झिऔं ?