भारतसँग जेडिएका १३ नाका खुला राखेर २२ वटा बन्द गर्न सिफारिस - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

भारतसँग जेडिएका १३ नाका खुला राखेर २२ वटा बन्द गर्न सिफारिस


काठमाडौं । कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णयसमेत सीसीएमसीको वैठकले गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाका खुला राखेर २२ वटा बन्द गर्न सिफारिस गरेको हो ।

क्वारेन्टिनसहित खुला राख्ने निर्णय भएका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगंज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन् ।

यसैगरी बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई एक चौंथाइ कर्मचारीलाई मात्रै कार्यालयमा राखेर काम कारवाही संचालन गर्न दिने निर्णय पनि गरेको छ ।

यस्तै निर्माण कार्यमा संलग्न कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नदिने गरी निर्माण कार्य संचालन गर्न दिने निर्णय पनि बैठकले गरेको छ । तर, आन्तरिक तथा बाह्य उडान रोक्ने बारेमा भने सीसीएमसीले कुनै निर्णय गरेको छैन् ।