सुख्यात मनो–चिकित्सक डा. पुष्प शर्मासंग सुजन तिमिल्सिना
काठमाडौँ । अहिलेको युग प्रविधिको हो, मोबाइल फोनको हो । यसको विकल्पमा ढुङ्गेयुग शिवाय केही छैन । यो युगको मध्यस्थतामा शयर गरिरहदाँ प्रविधिलाई लत्याएर अगाडि बढ्न सकिदैँन । किनकि, विश्वलाई एउटै कुनाबाट नियाल्नु आवश्यक छ । प्रविधिलाई अवलम्बन नगरि अगाडि बढ्न गाह्रो छ । तर, यसको सदुपयोग र आवश्यक परिचालन तर्फ ध्यान दिन पनि उत्तिकै आवश्यक छ ।
समय सँगसँगै हरेक मानिसको हातहातमा मोबाइल फोन छ । यो कसैका लागि आवश्यकता हो भने कसैको दुब्र्यसन । प्रविधिसँगै परिस्थिति बदलिँदो छ । भर्खरै जन्मिएका बालबालिकादेखि वृद्धवृद्धाहरू समेत मोबाइलको लतमा छन् । यो पुस्ता ‘जेन–जी’ पुस्ताका रूपमा परिचित छ । अचेल समाजका विभिन्न ब्यक्तिहरूको सोचाइ, बोलाई र गराई फरक पाइन्छ : भन्नुहुन्छ डा. पुष्प शर्मा ।
‘प्रविधिको बढ्दो उतार–चढावको यो समयमा मोबाइल फोन (स्मार्ट फोन) को आवश्यकता कति हो ? कति होइन ? यसमा कुनै अनुसन्धान भएको छैन र कुनै अवधारणा बनेको पनि पाईदैन’ डा. शर्मा भन्नुहुन्छ, ‘प्रविधि र परिस्थिति बदलिए पनि नेपालको अवस्थामा कुनै रोचक परिवर्तन भएको छैन । हिजोका पुस्ता आज कोठाभित्रैबाट विश्व नियाल्ने त भए । तर, उनीहरूले आफुुभित्रको मौलिक, पारिवारिक, भौगोलिक, र सिर्जनशील गुणको यथोचित बिकासगर्न सकेनन् । बाल मस्तिष्कमा मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालले पारेको असरको अध्ययनतर्फ हाम्रो अग्रसरता आजको आवश्यकता हो ।’
यतिबेला सामाजिक सञ्जालले एउटै परिवारका सदस्यका बीच प्रत्यक्ष कुराकानीको माध्यम समेत खलबल्याएकोमा चिन्तित हुनुहुन्छ डा. शर्मा । भन्नुहुन्छ, ‘बाबु–आमालाई छोराछोरीको समस्या सुन्ने फुर्सद छैन । न त छोराछोरीले आफ्ना मनका कुराहरू बाबुआमालाई राम्रोसँग सुनाउनै पाएका छन् । न त विद्यालयमा गएर शिक्षकले पढाएका कुरा राम्रोसँग दिमागमा राख्न सकेका छन् । जीवन गुगल र च्याट जीपीटीमा गुजुल्टिएकोेछ । जसले तपाईंको जिज्ञासालाई समयमानै हल गरिदिन्छ । तर, वास्तविक जीवनमा मोबाइल फोन र इन्टरनेटको अतिशय प्रयोगले कस्तो असर पारिरहेको छ त ?’
डा. शर्मा भन्नुहुन्छ : ब्यस्त शहरको कुनै एउटा कुनामा बसेर कसैले समाजलाई नियाल्दै छ, कसैले शिक्षकले विद्यालयबाट पठाएको होमवर्कको फर्म्यट बुझन खोज्दैछ । नेपाली समाजका लागि यो कति आवश्यक हो ? कति होइन ? यसमा न त शिक्षकले चासो लिएकोछ, न अभिभावकले, न स्वयं विद्यार्थीले । विद्यार्थीले आफ्नो भविष्य निर्माणका लागि पारिवारिक वातावरण पाएको छैन । बिकसित सभ्यताको देखासिखिले मात्रै हामी कति अगाडि बढने र कहिले बढ्ने ?
बाल–मष्तिस्कमा मोबाइल फोन र इन्टरनेटमा पाइने सामग्रीहरूले प्रत्यक्ष वा परोक्ष असर पारेको छ । यसको सदुपयोगमा कसैको ध्यान गएको देखिदैन । सरकारका बिभिन्न मन्त्रालय, विभाग, र संस्थानहरु नयाँ आबिष्कारका मार्केटिंग एजेन्सीका रुपमा प्रयोग भएका देखिन्छन । प्रविधिको दुरुपयोगले बाल–मष्तिस्कमा कस्तो प्रभाव पारेकोछ ? यसबारे जन–चेतना फैलाउने काम सरकारको होइन ? के सरकारले जनताको अभिभावकका रुपमा सोच्नु पर्दैन ? डा. शर्माको प्रश्न छ ।
‘प्रविधिको सही र सम्यक प्रयोग जीवनको अभिष्ट हुनुपर्दछ । सामाजिक ब्यक्तित्वको मौलिकता लुप्त हुन थालेकोछ । इतिहासको अध्ययन नगरी समाजका तन्तुहरु केलाउन सकिदैन । सँधै मोबाइल फोनमा ब्यस्त रहने हो भने यथार्थलाई कसले नियाल्ने कि हिजो के भएको थियो र आज के भईरहेको छ ? ‘मोबाइल’ संसारमात्रै आजको आवश्यकता होइन । त्यसबाहेकका रचनात्मक कामहरु कसले गरिदिने ?’ डा. शर्माको प्रतिप्रश्न छ ।
नेपाली समाजले सामाजिक सञ्जालको दुरुपयोग गरेको र प्रभावकारी रूपमा यसलाई चलाउन नसकेको बताउनु हुन्छ – मनोपरामर्श विज्ञ डा. पुष्प शर्मा । उहाँको चिन्ता छ : बास्तवमा जेन–जी पुस्ताले सामाजिक सञ्जाल एवं यसको प्रभाव नबुझ्दा मानिसमा मानसिक बिकृति बढदै गएकोछ । सन्जालको सही प्रयोगले फाइदा नगरेको होइन । तर, जेन–जी पुस्तामा परेको बढदो नकारात्मक प्रभावले विकृति बढाएकोछ ।
जेन – जी पुस्ताका युवाहरुमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले भविष्यलाई संकटमा पार्ने पक्काछ । भर्चुअल दुनियाँमा दुइ चारदिन रमाउँदा मज्जा आउला । तर, जीवन त निरन्तर रहन्छ । जेन–जी पुस्तामा अहिले १२ देखि २८ बर्षको उमेर समुहका मानिस छन । तिनले समाजका हरेक बस्तुसँग प्रत्यक्ष मिलाप गर्नुपर्ने हो । तर, यो पुस्तालाई त कोठा बाहिर निस्कन समेत गाह्रो लाग्न थालेको देखिन्छ । समाज परिवर्तनशील छ । यो चलिरहने प्रक्रिया हो । तर यसलाई चलाउने पुस्ताले भविष्यलाई कसरी कहाँ लगेर थन्क्याउलान ?
“युवा पुस्तामा सामाजिक सञ्जाल र इन्टरनेटको दुव्र्यसन बढेकोछ । युवा पुस्ताले नयाँ खोज, अनुसन्धान र भविष्यका बारे सोच्नुपर्ने समय अर्काको लहैलहैमा र देखासिखिमा बिताइ रहेकोछ । युवापुस्ता नराम्रा र असामाजिक पक्षमा प्रवेशगर्ने, आपराधिक समूहको फन्दामा पर्ने, विकृत यौनको प्रभावमा बल्झिने, बाल–यौन दुब्र्यसनमा फस्ने, जस्ता नकारात्मक क्रियाकलाप बढदै गएकोछ ।”
पढाईमा मन नजाने, एक्लोपन रुचाउने, भर्चुअल संसारमा रहन खोज्ने, यथार्थबाट टाढिने, चिढिने, रिस उठ्ने, बोलीचालीमा रुखोपन आउने जस्ता नराम्रा असरहरू जेन–जी पुस्तामा देखा परेको बताउनुहुन्छ डा. शर्मा ।
सामाजिक सञ्जालको बढ्दो प्रभावले युवापुस्तामा नयाँ कुरा सोच्ने, फरक फरक कुरामा दिमाग लगाउने, अनुसन्धानका विषयमा चासो राख्ने जस्ता कुराहरु समाजबाट टाढिदै गईरहेको बताउनु हुन्छ डा. शर्मा । उहाँको बिचारमा, ‘अहिलेका बालबालिकामा सिर्जना हराउँदै गएकोछ । भिडियो र तस्बीरहरूमा देखिने विभिन्न रंगहरूले बाल मष्तिस्कमा नराम्रो असर पार्ने र अन्ततः त्यसैमा लग्गुहुने चरित्रको बिकास भइ रहेकोछ बालबालिकामा । मानिसको मष्तिस्कमा अहिले ब्यवहारिक रूपमै सामाजिक सञ्जालले एकछत्र राज गरिरहेको छ । समाज अनियन्त्रित दिशातर्फ अग्रसर भईरहेको छ । जेन–जी पुस्ता सामाजिक प्राणी भएरपनि उनीहरुको ब्यबहार असामाजिक हुन थालेकोछ ।’
हाल नेपालका कतिपय प्राइभेट विद्यालयहरूले विद्यार्थीहरूको होमवर्कहरू समयमा सामाजिक सञ्जालमा पठाउने र उत्तर त्यहीँ लेखेर पठाउने वा फोटो पठाउने जस्ता नियम समेत लागु गरेका छन । अभिभावकको रेखदेखमा रहेका बालबालिकाहरूमा यसको सहज पहुँच त पुग्ला । तर, मोबाइल फोनमा एकलौटी राजगर्ने बालबालिकाको हकमा के होला ? शर्माको प्रश्न छ । उहाँको सुझाव छ : मानसिक स्वास्थ्यका लागि पनि सोसल मिडियाको प्रयोग कमगर्न विद्यालय तहबाटै बढावा दिनु आवश्यक हुन्छ । कलिलो उमेरका केटाकेटीमा सञ्जालको लत बसाउनु अनुपयुक्त हो ।
विश्व स्वास्थ्य संगठनले एकवर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनै नहुने र दुइदेखि चारवर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउन नहुने तथ्य सार्वजनिक गरेको छ । तर, के हामी बिश्व स्वास्थ्य संगठनको यो सन्देश सञ्जालको दुनियाँबाट बाहिरिएर सुनिरहेका छौँ त ?
डा. शर्माको बिचारमा – नेपाली समाजले अरूको देखासिकि गर्न त जान्यो तर, यसको सदुपयोगको बाटो पहिल्याउन जानेन । सामाजिक सञ्जालमा जस्तोसुकै विषयबस्तुले प्रवेश पाएका छन् । त्यसको प्रभावकारीता नियाल्ने फुर्सद यहाँ कसैसंग छैन । सामाजिक सञ्जालको गलत प्रयोगले दिनहुँ सयौं मानवीय दुर्घटना भइ रहेकाछन । कतिले अभद्र ब्यवहार सहनु परेकोछ । यसको असर थेग्न नसकेर कतिले आत्महत्याको बाटो रोजेका छन् । तर, यी कुरामा सरकार मौन छ ।
डा.शर्मा भन्नुहुन्छ : विद्यालय स्तरमा कापी र कलम बोक्ने पुस्तालाई ल्यापटप र इन्टरनेट अनिवार्य गरिएको छ । हामी नेपालीहरु जुन आर्थिक परिवेशमा जीवन धानी रहेका छौं त्यसको परिपे्रक्षमा यो बिलाश हो कि आवश्यकता हो ? देशको कमजोर आर्थिक अवस्था भएको हाम्रो जस्तो देशमा यसको प्रयोग कति आवश्यकता हो ? कति बिलाश हो ? समयमा पाठ्यपुस्तक नपुग्ने ठाउँमा इन्टरनेटको माध्यमबाट तथ्यांकको आदानप्रदान गरिन्छ । तर, के नेपाली परिप्रेक्षमा ७७ वटै जिल्लाका सबै ठाउँमा यसको समान र सहज पहुँच रहेको छ ?