प्रतिरोध - रुपान्तरण
 २०८१ फाल्गुन १, बिहीबार    

प्रतिरोध

फेरी लिलाराज खतिवडा


संसारले बाल्यकालमा म प्रति त्यति दयालु व्यवहार गरेन । मलाई अझै पनि उचाइहरुबाट खसेको सम्झना छ—केही पटक । मेरो अनुहार सुम्सुम्याउने तिब्र हावाको झोँका, अनि कठोर जमिनमा बजारिँदाको घनघोर पीडा—यी सबै मेरो सम्झनामा तीखो गढेका छन् । निश्चय नै, ती केवल भौतिक चोट वा प्रहारहरु थिएनन् । ती पीडाका प्रतीक थिए, एउटा यस्तो बाल्यकालको जुन बाँच्नका लागि छिचोलिएको संघर्ष, कठिनाइ र व्यवधानले भरिएको थियो ।

मेरो शरीरका निलडामहरूले एउटा कथा सुनाउँथे भने हृदयका अदृश्य तर भत्भती पोल्ने घाउहरूले नितान्त अर्को कथा सुनाउँथे—अझ अँध्यारो र गहिरो कथा । अनेक तरहको शोषणको छायाँभित्र लुकेको । अवाक ! तथापी हरपल, हरक्षण गहिरोरुपमा अनुभूत गरिएको ।

अपमानले मलाई सधैं पछ्यायो, निर्दयी र असहनीय अपमान । मेरो बाल्यकाल एउटा युद्धभूमिजस्तो थियो, जहाँ प्रत्येक दिन बाँचेको प्रमाण दिन संघर्ष गर्नु पथ्र्यो । भित्रभित्रै एउटा अपराध वोध ब्याप्त ! तर अपराधले म माथि अपराध गर्यो, सजायको भार पनि मलाई नै थमाएर जगतको भीडमा अलप भइदियो !

तर आज म यहाँ ठिङ्ग उभिएको छु, दृढ । मैले मेरो विगतको पीडाले मेरो जीवनलाई परिभाषित गर्न नदिने निर्णय गरें । मैले ती घाउहरूसँग जुध्ने, तिनको संक्रमित पीडालाई सामना गर्ने र तिनको खियाग्रस्त चोटलाई हृदयमा गाडेर राख्नुभन्दा किलो उखेले जसरी उखेल्ने बाटो रोजेँ ।

स्किजोफ्रेनियाको रहस्यमय पीडालाई झेल्नका खातिर विपश्यना ध्यान रुपान्तरणको कसीमा जहिल्यै मेरो आधार बन्यो, मेरो शरणस्थल । ध्यानको मौनतामा मैले मेरा घोर पीडाका पर्तहरू उघार्न थालेँ । अनि तिनको आरोह र अवरोहलाई कुनै निर्णय बिना हेर्न थालेँ । तटस्थ भावमा । यो यात्रा सजिलो थिएन । त्यसो त घाउचोट निकोपार्ने यात्रा कहिल्यै सजिलो हुँदैन । अझ हृदयको घाऊ?

कहिलेकाहीँ, पीडाको भार असहनीय लाग्थ्यो, तर प्रत्येक साससँगै, मैले सहन सिकेँ । बिस्तारै मैले त्यो पीडालाई स्वीकारगर्न र त्यसलाई कोमल र हल्का कमलको फूलमा रूपान्तरण हुन दिएँ, आफ्नै नाभीबिच !

सम्पूर्ण उपचारको खोज गर्दा मैले सिर्जनामा सान्त्वना र आराम पनि पाएँ । लेखन मेरो आवाज बन्यो, भावनाहरू व्यक्त गर्ने माध्यम; जसलाई पहिले शब्दले पनि साथ दिन सकिरहेका थिएनन् । लेख्न, सिक्न मलाई निकै समय लाग्यो । अझै सिक्दै छु । अर्काेतिर चित्रकलाले मेरा हातहरूलाई त्यस्ता कुरा व्यक्त गर्न दियो, जुन मेरो हृदयले गर्न सक्दैनथ्यो । गायनले मेरो आत्मालाई उठायो, जतिबेला यसले अत्यन्त भार महसुस गथ्र्यो । बगैंचामा सामान्य काम गर्दा समेत त्यो मेरो उपचार बन्यो । शान्त सम्झना दिँदै विस्तारै भए पनि, माया र धैर्य दिएर, वृद्धि र विकास सम्भव छ ।

विभिन्न पैदल यात्राले मलाई नयाँ संसारहरू देखायो र नयाँनयाँ मानिसहरूसँग संवाद गर्ने मौका दियो । पढाइले मलाई अन्य कैयौं व्यक्तिहरूको ज्ञान प्रदान गर्यो, जसले दुःख झेलेका थिए र बाँच्नका लागि संघर्ष गरेका थिए ।

समयसँगै मैले थप केही महसुस गरेँ : मेरो पीडा मात्र ‘मेरो’ थिएन । वर्षौंसम्म मैले बोकेको एकाकी जीवनको पट्यारलाग्दो झंकार बिस्तारै हरायो, जब मैले बुझें कि अनगिन्ती व्यक्तिहरूले आफ्नै संघर्ष र पीडाको सामना गरेका हुन्छन — उनीहरु पनि लडेका थिए, चुप गराइएका थिए । साथै उनीहरुले उठ्नका लागि घोर संघर्ष गरेका थिए । यो बोधले मलाई थप उद्देश्य र प्रेरणा प्रदान गर्यो । अनि मैले लेख्न थालेँ, केवल आफ्नै लागि होइन, ती व्यक्तिहरूका लागि पनि, जो अँध्यारोमा हराएका छन्, जो विश्वास गर्छन् कि उनीहरूको दुःखमा उनीहरू एक्ला छन् । मेरा शब्दहरू सेतुजस्ता बने, आशाको एक किरण, एउटा सरल तर शक्तिशाली सन्देश : तिमी उठ्न सक्छौ । तिमी कदापि तिम्रो विगत होइनौ । बर्तमान र भबिष्य हौ ।

चोट निको पार्नु गन्तव्य होइन; यो एउटा सतत् यात्रा हो । धैर्य र सोचविचारपूर्वक गरिने यात्रा । यसका लागि समय लाग्छ । यो सिकारीद्वारा घाइते तुल्याइएको चरीलाई माया र हेरचाह गरेर उड्न तयार गराउने जस्तै काम हो ।
हरेक शब्द जो म लेख्छु, हरेक बीज जुन म रोप्छु र हरेक सूर, जुन म गुनगुनाउँछु – त्यहाँ म अथाह आशा र उर्जा पाउँछु । अनि त्यो आशासँगै एउटा यस्तो अटल विश्वास पलाउँछ कि सबैभन्दा गहिरा घाउहरूले पनि केही सुन्दर, केही असाधारण सृजना उत्पादन गर्न सक्छन् ।

मेरो लेखन र सिर्जना केवल जीवनको उपक्रम हो । म अरूलाई यो सत्य सम्झाउन प्रयास गर्छु कि हाम्रा कुनै पनि घाउहरू कमजोरीका संकेत नभएर प्रतिरोधका प्रतीक हुन् । जसले बाँच्ने कथा, अँध्यारो ठाउँमा उज्यालो पाउने कथा सुनाउँछन् । शायद, हाम्रो साझा मानवताका माध्यमद्वारा हामी एकसाथ निको हुन सक्छौं । स्वस्थ र सम्बृद्ध हुन सक्छौँ ।

किनभने, हामी मानवहरु अस्तित्वगत रुपमा नै बिमार छौँ । त्यसैले हामीलाई भौतिक, मानसिक, अतिमानसिक र आध्यात्मिक – चौतर्फी समाधान चाहिएको छ ।