प्रगतिशील संयुक्त सरकार र जनमत संग्रह विप्लवको बटमलाइन ! - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

प्रगतिशील संयुक्त सरकार र जनमत संग्रह विप्लवको बटमलाइन !


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापनामा जोड दिनुपर्ने औंल्याएका छन् ।

मई दिवस अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार एक शुभकामना सन्देशमार्फत देशभक्त प्रगतिशीलहरुको संयुक्त सरकार गठन हुनुपर्ने पनि बताएका छन् ।

विप्लवले वैज्ञानिक समाजवादका लागि प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरुको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार गठन हुनुपर्ने प्रस्ताव राखेका छन् । संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रह गरिनुपर्ने उनको प्रस्ताव छ ।

विप्लवले जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापनामा जोड दिएका छन् । उनले पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनेका छन्,‘नेपालका मजदुर, किसान र आमश्रमिकहरुले बुझ्नैपर्छ–आवश्यक्ता आमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ ।यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशिल, वामपन्थी, देशभक्ति, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिष्टहरुको राजनीतिक समिक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पूँजीवादी सत्ताको ठाउँमा जनमत संग्रहद्धारा वैज्ञानीक समाजवादी सत्ताको विकल्प पेस गरेको छ ।’

उनले विश्वभर पैदा भएको पूँजीवादी संकटको समाधान वा मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवाद वाहेक अर्को विकल्प नभएको र यतिबेला नेपालका उचित परिस्थिति बनेको जनाएका छन् ।