गणतन्त्रमा गणै गण - रुपान्तरण
 २०८३ बैशाख १०, बिहीबार    

गणतन्त्रमा गणै गण


- ओम आचार्य

काग्रेस, एमाले र माओवादी – यी तीन दलका वरिपरि देशको राजनीति घुमिरहेको छ । सरकार पनि यी तीन दल भित्रै घुमिफिरी निर्माण भइरहेको छ । अपराध जगतमा या कुनै क्षेत्रमा जसको दवदवा हुन्छ त्यसलाइ डन भन्ने गरिन्छ । अहिले देशको राजनीतिमा यी तीन दलको दवादवालाई डन प्रवृत्ति भन्दा हुन्छ । अहिले दल भित्रको यो डन प्रवृत्ति विरुध्द दल भित्रैबाट बिद्रोह हुन थालेको छ । कांग्रेसमा अठार जना नेता–कार्यकर्तालाइ पार्टीको अनुशासन समितिबाट कार्बाही गरेपछि डा. शेखर कोइराला काग्रेस भित्र उग्र भैरव भएर प्रस्तुत हुन थालेका छन ।

बाग्मती प्रदेशमा भर्खरै काग्रेस संसदीय दलका नेता तथा मुख्य मन्त्री विरुध्द अविश्वास प्रस्ताव पेस हुनु पनि यसैको उदाहरण हो  ।

एमालेभित्र पुर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउछु भन्दा निषेध गर्नु र रोक्नु पनि दल भित्रको डन प्रवृत्ति नै हो । अव विद्या भण्डारी पनि एमाले भित्र कालीको रुपमा प्रस्तुतहुने विचार सामाजिक संन्जलमा छाइरहेकाछन  ।

माओवादी दलमा अहिले जनार्दन शर्मा जसरी प्रस्तुत भइरहेकाछन त्यो माओवादी दल भित्र बढन थालेको डन प्रवृत्ति विरुध्द नै हो  ।

अहिले यी तीन दलभित्र आन्तरिक झमेला, भाडभैलो र खिचातानी बढिरहेको छ । दलको भाडभैलोले देशको राष्ट्रिय राजनीति थिलथिलो भइरहेको छ । जनतामा निराशा बढेको छ : दलको नेतृत्वमा रहेका नेताहरुप्रति संशय मात्रै हैन दल निकम्मा हुन भन्ने विचार आएको छ । भ्रष्ट्राचार चरममा पुगेको छ । यिनिहरुको संरक्षण दल भित्रैबाट भएको छ भन्ने देखिन थालेकोछ । यस्तो देखिदै छ, भ्रष्टाचारको विषयमा एक दलले अर्को दललाई संरक्षण गर्नु नै यी तिन दलको मुल उद्देश्य रहेछ । सरकार बन्नु र फेरिनुले यस्तो भएको हो भन्ने अवस्थालाई जनताले जानकारीमा लिएको छ ।

अहिले डर छैन

सरकार, राजनीतिक दल र त्यसमा आवध्द नेताहरुमा कसैको डर छैन । जवसम्म सरकारमा अदालतको डर हुदैन, अख्तियारको डर हुदैन र जनताको डर हुदैन त्यो सरकार आफैमा शुध्द हुदैन । त्यो सरकार घृणित हुन्छ । त्यस्तो घृणित सरकारको छायॉ र प्रभावमा, सरकारको रंग–रुपमा पनि अन्य राजनीतिक दल पर्दै जान्छन ।

लोकतन्त्रमा सर्वोच्च स्थान जनताको हुन्छ । अहिले जनता गौण र सरकार सर्वोच्च भएको छ । लोकतन्त्र नाम मात्रैको भएको छ । लोकको डर, जनताको डर नभएको सरकारबाट लोकतन्त्र प्रस्फुटित र परिमार्जित हुनै सक्दैन । अहिलेको काग्रेस र एमाले गठवन्धन सरकारले जनतासंग वाचा गरेका थिए, भ्रष्ट्राचार मुक्त देश, स्थिर र सुशासनका लागि आर्थिक विकास । तर ठीक विपरित भइरहेछ । सरकारभित्रै रहेका मन्त्री पनि भ्रष्ट्राचारमा आरोपित भइसकेका छन । आफ्नो पदबाट वहिर्गमन सम्म हुनु परेको छ । दल भित्रकै नेता, सांसद पनि यस्तो आरोपबाट मुक्त नभएर निलम्बित हुदै अदालत धाइरहेका छन ।

यस्तो किन भइरहेछ त भन्दा जनताको डर नभएर नै हो । जवसम्म सरकार र राजनीतिक दलका नेतामा मतदातासंग डराउनुपर्ने अवस्था आउँदैन तव सम्म सरकारको मनमौजी चलिरहन्छ । संविधान, नियम कानुन केही चल्दैन । अहिले त्यस्तै भइरहेछ ।

डा. शेखर कोइराला, विद्या भण्डारी र जनार्दन शर्मा

पछिल्लो समयमा देशमा बढिरहेको राजनीतिक घटना क्रम, राजनीतिक दल भित्रको डन प्रवृत्ति र सरकार संचालनको शैलिले दलभित्रै माथि उल्लेख गरेका यी तिन नेताले आफ्नै दल भित्र विद्रोह गर्दैछन । यिनीहरुको विद्रोह, यिनीहरुको असन्तुष्टिका परिणाम स्वरुप यिनीहरु आफ्नै दलभित्र स्थापित भएछन भने अहिले रहेका शीर्ष नेताहरुकै जस्तो चरित्र र पद लोलुपमा परिणत नहोस । यिनीहरुले डर पैदा गर्न सकुन र भोलि त्यो डरको स्वामित्व जनताले बोकुन ।

अहिलेको गणतन्त्रको उपलब्धि भनेको देशमा थुप्रै राजनीतिक गणहरुको उपस्थिति हुनु हो । ती गणहरुको नजरमा देशमा स्थिर सरकार वन्न बाधक रहेको तत्व वर्तमान गठवन्धन सरकार नै हो । मौजुदा राजनीतिक परिस्थितिमा गठवन्धन सरकारमा रहेका दलहरुमा विग्रह आउने सम्भावना विद्यमान छ । यस्तो भएमा पुन गणतन्त्रमा गणहरुको संख्या वृध्दि भएर देशमा अरु अस्थिर वातावरण सृजना हुनेछ । त्यसवेला गणतन्त्र जोखिममा पर्ने अवस्था आउन सक्ने हुदा समयमै ठुला दलले डन प्रवृत्ति छोडेर समभाव, सदभाव, सदबुध्दि लिनु नै वुध्दिमानी हुनेछ ।