आन्दोलनपछिका अन्तरद्वन्द - रुपान्तरण
 २०८३ बैशाख ४, शुक्रबार    

आन्दोलनपछिका अन्तरद्वन्द


– किशोर नेपाल

देशमा ब्याप्त राजनीतिक भ्रष्टाचारका बिरुध्द जेन–जी पुस्ताले बगाएको बिद्रोहको वागमतीमा संग्लो र स्वच्छ पानी बहन निकै समय लाग्ला । विद्रोहले अझै बिश्राम लिएको छैन । संकटका बेला देशका संरक्षकका रुपमा सर्वाधिक सक्रिय रहनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई पृष्ठ भागमा राखेकोमा शंकाको अनुभूति भइरहेकोछ नेपाली जनतालाई ।

देशको सुरक्षामा दत्तचित्त रहेको सेनाले आन्दोलन उत्कर्षमा पुगेका बेला जलाइएका ऐतिहासिक सिंहदरवार र सर्वोच्च अदालत भवनलाई आगोको लप्काबाट जोगाउन नसकेकोमा जनताले आश्चर्य मानेकाछन । राष्ट्रले ठूलो क्षति बेहोर्नु पर्यो ।

नेपाली सेनाका सेनापति आफैं बिद्रोहीहरुसंग वार्तामा हुनुहुन्छ । उहाँले काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहसंग ‘वार्ता’ गर्नु भएकोछ । जेन्जी पुस्ताका प्रतिनिधिहरुको बिचार बुझ्न खोज्नु भएकोछ । हाल ‘अभियन्ता’ का रुपमा उभिएका चर्चित मेडिकल ब्यबसायीलाई समेत वार्तामा बोलाउनु भएकोछ ।

यी वार्ताहरु राष्ट्रपतिको रोहवरमा हुनु जरुरी थियो । तर, सेनापतिले उहाँलाई राजनीतिक ‘पृष्ठभूमि’ को वात लगाएर पछिल्लो भागमा धकेल्ने चेष्टागर्नु भयो ।

हो, रामचन्द्र पौडेलले आफनो राजनीतिक जीवन नेपाली कांग्रेसमा बिताउनु भयो । तर, जुनदिन उहाँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभयो त्यसदिनदेखि उहाँ दलीय राजनीतिबाट अलग भएर सबै नेपालीका राष्ट्रपति बन्नु भयो ।

प्रधानमन्त्री ओली र उहाँको मन्त्री परिषदको राजिनामापछि देशको सम्पूर्ण दायित्व स्वभाविक रुपमा राष्ट्रपतिको काँधमा आएको हो । देशको संविधान अस्तित्वशील छ । देशमा निर्वाचित संसद यथावत रहेकोछ । बिघटन भएको छैन । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अस्तित्वशील छ । यो परिप्रेक्षमा, स्पष्ट छ, सेना प्रमुखबाट स्थापित लोकतान्त्रिक पध्दतिको अवमानना भएको महसूस गरेकाछन नेपाली जनताले ।

बिद्रोहीसंगको वार्तालाई सुगम गतिमा लगेर सबैलाई सहमतिमा ल्याउने जिम्मा राष्ट्रपतिको हो । राष्ट्रपतिको संवैधानिक अधिकारको सम्मान र पालनागर्नु र नेपाली जनताको सार्वभौम अधिकारको रक्षा र सम्मानगर्नु नेपाली सेनाको कर्तब्य हो ।

नेपाली जनताले नेपाली सेनाबाट सुरक्षा खोजेको हो । राजनीतिक ‘संरक्षण’ खोजेको होइन । नेपाली जनता राष्ट्रिय सेनाको सम्मान गर्दछन । तर, जनता यो सार्वभौम देशको मालिक हुन । जनतालाई सँधै अन्धकारमा राख्न सकिदैन । यो सत्यलाई सबैले आत्मसात गर्नु पर्दछ । के नेपाली सेनाले यतातिर ध्यान देला ?