- किशोर नेपाल
मेरा घनिष्ठ मित्र तथा पूर्व शिक्षा तथा जनसंख्या मन्त्री रघुजी पन्तले भदौ २३ गतेको प्रदर्शनपछि बसेको मन्त्री परिषदको अन्तिम बैठकको ‘खुलासा’ गर्दै दैनिक समाचारपत्र नागरिकसंग भनेका छन : बैठकमा प्रधानमन्त्री ओलीले इलन मस्कको कम्पनी ‘एक्स’ ले सरकारलाई पठाएको पत्र पढेर सुनाउनु भएको थियो । त्यो पत्रमा ‘तिमीहरुको भ्रष्ट देश, यहाँ उहाँ’ जस्ता शब्दहरुको प्रयोग गरिएको थियो । मन्त्री पन्तका अनुसार उनले ‘फेसबुक तत्कालका लागि खोल्ने र एक्सलाई प्रतिवन्ध कायम नै राख्ने’ प्रस्ताव राखेका थिए ।
तर, मन्त्री परिषदको यो बैठक बस्दासम्म नेपालका नदीहरुमा बहेको पानी धेरै धमिलिइ सकेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई ‘कोमा’ मा पठाउने प्रयत्नहुन थाली सकेको थियो ।
त्यतिबेलासम्म ‘सहयात्री’ दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री ओली ‘आत्ममुग्ध’ भावले शासन चलाउँदै थिए । सहयात्री दल नेपाली कांग्रेसका सभापति तथा वयोबृध्द नेता शेरबहादुर देउवा ओलीको समर्थनमा तालीमात्रै होइन, ढोल–नगरा समेत बजाउँदै थिए । प्रधानमन्त्री बन्ने पालो पर्खिदै गरेका देउवाले कल्पना पनि गरेका थिएनन होला –ओलीको प्रधानमन्त्रीकालमा देशले यति ठूलो र यति चर्को बिध्वंश बेहोर्नु पर्नेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र खास गरेर गैर–सरकारी संघ–संगठनहरुका बारे निकै जानकार मानिने उनकी ‘विदूषी’ धर्मपत्नी तथा देशकी परराष्ट्रमन्त्री आरजु राणाले ओली सरकार यसप्रकारको विपत्तिमा पर्ने आशंकासम्म पनि गरेकी थिइनन । सभापति देउवाले देशमा आन्तरिक शान्ति सुरक्षा र अमन–चयन कायमराखेर ओलीको नेतृत्व सफल बनाउँदै आफनो भावी नेतृत्वलाई सुगम बनाउन आफना प्रिय पात्र रमेश लेखकलाई गृहमन्त्रीका रुपमा सरकारमा पठाएका थिए ।
तर, देश अबिकसित होस वा बिकसित, प्रधानमन्त्री ओलीले चलाएको जस्तो शैलीमा शासन कतैपनि चल्दैन । ओलीले आफना प्रियपात्र सांसद मानवीर राईलाई रक्षा मन्त्री बनाएका थिए । तर, रक्षामन्त्री मानवीर राई र भद्रकालीस्थित सेनाको मुख्यालयसंग बीचको सम्बन्ध ‘शिष्टाचार’ भन्दा माथिको देखिएन । नेपाली सेनाको मुख्य कर्तब्य देशको सुरक्षा हो । यसको अर्थ, संघीय गणतन्त्र नेपालको राजधानी शहरमा रहेका सिंह दरवार, सर्वोच्च अदालत जस्ता सरकारका स्वामित्वका महत्वपूर्ण दरवार, भवन र इमारत ध्वस्त हुन्जेलसम्म सेनालाई सक्रिय तुल्याउन नसक्नुमा प्रधानमन्त्री ओली र उनको सरकारका रक्षा मन्त्रीको दोष हो । जेन–जी आन्दोलनका क्रममा देशमा जे जति क्षति भयो त्यसको जिम्मा ओली सरकारले नै लिनु पर्दछ । सरकारले आन्दोलन हिंसात्मक हुनसक्ने आंकलन गर्नु पर्दैन थियो ? रक्षा मन्त्री मानवीर राईले सेनासंग सूचना–समन्वय गरेर काम गरेको भए यति बाक्लो हिसा र क्षति हुने थिएन कि ?
नेपाली सेनाले यी सबै घटनाक्रमको अवलोकन गरेको थिएन भन्नेकुरा कसैले पत्याउँदैन । नेपाली जनता त्यति मूर्ख र गँवार छैनन । बिध्वंशका समाचार सुनेर आत्तिएका प्रधानमन्त्री ओलीले राजिनामा दिएपछि सेनाले नै उनको प्राण रक्षा गरेको हो । तर, सेनाले राष्ट्रपतिको निवासका रुपमा रहेको शितल निवास जस्तो ‘इमारत’ को सुरक्षागर्न सकेन । यो अनौठो कुरा हो । बिध्वंशक घटनापछि सेनाले राष्ट्रपतिलाई तर्साउन र गलाउन खोज्नु निश्चय पनि उचित थिएन । राष्ट्रपतिले आफनो विवेक र आत्मबलको प्रयोग गरेर देशलाई हिंसा र अब्यबस्थाको पहिलो चरणबाट मुक्त गर्नुभयो ।
कठीन समय अव शुरु भएकोछ । नेपाली जनता स्वभावले नै मातृशक्तिको पूजा–अर्चना गर्दछन । आमाले आफना सन्तानलाई सुरक्षा दिन्छिन भन्ने बिश्वास हुन्छ सबैमा । आमाप्रति नेपाली जन–मनको बिश्वास र आदर भावले नै सुशीला कार्की संकटको यो घडीमा प्रधानमन्त्री बनेकी छिन । उनी जनताको मतको शक्तिबाट होइन, आन्दोलनको शक्तिबाट प्रधानमन्त्री बनेकी हुन । सरकार संचालनका क्रममा उनका वरपर रहेका सबैले आ–आफना नीहित स्वार्थ त्यागेर उनलाई सहयोग नै गर्नेछन भन्ने कुनै ग्यारेन्टी छैन । मन्त्रीहरुका आ–आफनो स्वार्थ र महत्वाकांक्षा हुन्छन र तदनुरुप आ–आफनै कार्यसूची हुन्छन । यो तथ्यको ज्ञान पक्कै होला प्रधानमन्त्री कार्कीलाई ।
जेन–जी पुस्ताको आन्दोलनले यति ठूलो बिध्वंश गर्ने थिएन । जेन–जी पुस्ताको शान्त बिद्रोहमा अशान्त महत्वाकांक्षा बोकेका विभिन्न तत्वहरु प्रवेश गरेर आफना कुत्सित उद्देश्य पूरागर्न खोजेको स्पष्ट देखिन्छ । विभिन्न सोसाइटी, फाउण्डेशन र सेन्टरका शाखा खोलेर काठमाडौमा बसेका ‘अन्तराष्ट्रिय’ संगठनहरुले नेपालमा नचाएको कठपुतली नाचको परिणाम हो यो । प्रधानमन्त्री सुशीला कार्कीलाई यसको राम्रो ज्ञान रहेकोछ ।
विजया दशमीको पूर्व संध्यामा प्रधानमन्त्री बन्नु भएकी कार्कीको एकमात्र महत्वपूर्ण काम लोकतन्त्रको लीकबाट ओर्लिएको देशलाई पुन लोकतन्त्रको लीकमा ल्याउनु हो । त्यसका लागि उहाँले घोषित समयमा आगामी चुनाव सम्पन्न गर्नेतिर आफनो तन र मन लगाउनु पर्दछ । उहाँका सहयोगी मन्त्रीहरुले बिकास–निर्माणका नाममा आफनो ‘विज्ञता’ र ‘दक्षता’ धेरै नदेखाएको बेस होला । नेपाली समाज सानो छ । यहाँका चेतनशील जनतालाई सबैको विज्ञता, दक्षता र यथार्थ औकातको राम्रो ज्ञानछ ।
भनीराख्नु पर्दैन, जेन–जी पुस्तालाई पनि आफनो बाबु–आमा र बाजे–बजै पुस्ताको योग्यता र सामथ्र्यको राम्रो जानकारी छ ।