कन्स्पिरेसी थ्योरी ? सावधान ! - रुपान्तरण
 २०८२ माघ ५, सोमबार    

कन्स्पिरेसी थ्योरी ? सावधान !


- रुचि श्रेष्ठ

दशैं शुरु भइसकेकोछ । नेपालीको न मनमा उत्साह छ, न बजारमा उमंग छ । दशैंमा घर त पुग्नै पर्यो भन्नेहरुको लागि प्रत्येक वर्ष, वर्षातको मौसममा ध्वस्तहुने सडक संजालले अर्को तनाव ल्याइदिएकोछ । देशको संघीय राजधानीलाई जोड्ने सबैभन्दा सजिलो र ब्यस्त राजमार्गको एउटा मुख्य खण्ड निर्माणकालदेखि नै प्रत्येक वर्षातमा पहिरोले पेलिनुपर्ने कारण के होला ?

अचेल नेपालमा प्रचलित सामाजिक संजालहरुमा ‘कन्स्पिरेसी थ्योरी’, मतलब, षडयन्त्रको सिद्धान्तको निकै चर्चा छ । नेपालका सडक र पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु कि त निर्माण नै पुरा हुन न सक्ने, भनिएको समय भन्दा पाँच गुणा बढी समय र बजेटमा जसो तसो निर्माण गरिहाले पनि त्यसले सेवादिन नपाउदै मर्मत सुरु गर्नुपर्ने अभ्यासलाई हाम्रा कन्स्पिरेसी थ्योरीका ‘पण्डितहरु’ले कसरी ब्याख्या गर्छन होला ?

नालायक राजनीतिक नेतृत्व र भ्रष्ट कर्मचारीतन्त्रले यो कुरा कति बुझेका होलान ? भदौ २४ गते, जेन्जी आन्दोलनको दोस्रो दिन, भीडले त्यही भ्रष्ट कर्मचारीको कार्यालय र नालायक नेतृत्व माथि छानी–छानी आक्रोश पोखेका थिए ।

सिंह दरबारमा लगाएको आगो सँगै कर्मचारीतन्त्रको भ्रष्टाचार भने अहिले ओभानमा परेकोछ । मन्त्री नभएपनि मन्त्रालय चलाउन कर्मचारीहरु नै अनुभवी र काबिल छन भन्नेहरु नभएका होइनन । हिजो सम्म भ्रष्टाचारमा बराबरका भागिदार बनेका कर्मचारीहरु नै राज्यका संयन्त्रमा हावी छन र देश चलाउन काबिल मानिएका छन । कर्मचारीतन्त्रको बिकल्प पनि छैन । नियम र कानूनका दफा र उपदफा बंग्याउन त्यसको सेरोफेरो त जानेकै हुनु पर्दछ ।

आन्दोलनकारीहरुले सरकारका नेताहरुको घर त जलाइ सके । तै पनि, नेतृत्वको नालायकीप्रति उनीहरुको आक्रोश सकिएको छैन । फेरी त्यही नेताहरु संसदको चुनावमा अनेकौं तिकडम प्रयोग गरेर सांसद बन्लान भन्ने डर छ । त्यही डरका कारण राजनीतिक दलहरुलाई बहिष्कार गर्नुपर्छ भन्ने एक थरी छन । राजनीतिक दलहरुमा पनि त छन जेन्जीहरु । भ्रष्ट नेताहरुलाई हटाएर युवाको आकांक्षालाई सम्बोधनगर्ने बिषयमा ती ‘जेन्जी’ र युवा कार्यकर्ताहरुको आवाज अझै बुलन्द हुन सकेको छैन । अर्का थरी छन – जो सबै समस्याको जरो संबिधान र संघीयता हो भन्दैछन । अहिले हामीले संबिधानको अस्तित्वमा प्रश्न उठाउने हो भने छ महिनामा गर्ने भनिएको आम–निर्वाचनको के हुन्छ ? त्यसबाट फाइदा कसलाई हुन्छ ? राजनीतिक दलनै चाहिदैन भन्नुको अर्थ के हो ? यसको अर्थ त गतिलो सुनिदैन । थरी–थरीका हल्ला चारैतिर फैलिएका छन । कसले के भन्यो ? यहाँ ‘कोट’ गर्नुको पनि कुनै अर्थ छैन । जसले जहाँ जे बोले पनि भएकोछ । यही त रमाइलो छ कन्स्पिरेसी थ्योरीको । अलि–अलि तथ्य लियो । त्यो तथ्यलाई ‘प्रमाणित’ गर्न आफ्नो स्वाद र स्वार्थ अनुसार, त्यसमा जे–जे मन लाग्यो मिसाइ दियो ।

के हो यो कन्स्पिरेसी थ्योरी ?

षडयन्त्र रच्नु, त्यसलाई मूर्त रुप दिनु र ‘षडयन्त्र हुदैछ है’ ‘यस्तो षडयन्त्र भएको हुन सक्छ’ भन्नु एउटै कुरो होइन । कोतपर्वको षडयन्त्र जंगबहादुरले रचेका थिए । जंगबहादुरको षडयन्त्रको पहिले नै सुइको पाएको भए कोतपर्व भन्दा पहिले नै गगन सिंहले जंग बहादुरलाई सिद्धयाइ दिन्थे । तर, नारायणहिटी दरबार हत्याकाण्ड कसले गर्यो र कसले गरायो भन्ने कुरामा आज २४ वर्ष पछि पनि अझै अड्कलबाजी चलिरहेकोछ । दरबार हत्याकाण्डका बारे बाहिर जे जस्ता तथ्य प्रकट भएकाछन, धेरैले आ–आफ्नै ‘सत्य’ का आधारमा कन्स्पिरेसी थ्योरी निर्माण गरेका छन । अझै गरिरहेकैछन ।

त्यतिबेला, नारायणहिटी राजदरवार जनताको पहुँचभन्दा निकै टाढा थियो । तर, भदौ २३ र २४ गते नयाँ बानेश्वरको सडक, सिंहदरवार र देशैभरी मध्य दिनको उज्यालोमा जुन बिध्वंश मच्चियो, त्यसको सत्य निर्माण पनि कन्स्पिरेसी थ्योरीका ‘पंडितहरु’कै जिम्मामा जाने सम्भावनालाई नकार्न सकिदैन ।

कन्स्पीरेसी थ्योरीलाई चिर्ने एउटै मात्र हतियार छ : त्यो हो प्रेस स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता । हामीले अभिव्यक्ति स्वतन्त्रता त पाएका छौं । तर, पत्रकारिताको अभ्यासका क्रममा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासगर्न चुकेकै हौ । पत्रकारिताको कन्टेन्ट र सामाजिक संजालको कन्टेन्ट छुट्याउन मुश्किल परेको नेपाली जनमानसमा अहिले ‘ए आइ’ को आतंक थपिएकोछ । ‘पैसा जलेको भिडियो नक्कली हो रे’ ‘सिंह दरबार जलाउन जानेको भीडमा भारतीय आधार कार्ड भेटियो रे ।’ कन्स्पिरेसी थ्योरीको लागि यतिबेला नेपालभन्दा उर्वर भूमि कहाँ हुन सक्छ ? नेपालीको मनमा छटपटी छ, मस्तिष्कमा अनेकौ प्रश्नहरु उब्जिरहेका छन । अगाडि जे पाउछन त्यही हेर्छन । यसको नतिजा त्यहाँ देखिन्छ जब नागरिक सही समयमा सही प्रश्न उठाउनबाट चुक्छन ।

बितेका बीस दिनले नेपाली जेन्जी पुस्तालाई राज्य संचालनमा स्थानीय निकाय देखि मन्त्रालय, अदालत, प्रहरी, सेना, संसद र संबिधानसम्मको भूमिका र त्यसका महत्वको बारेमा आधारभूत पाठ पढाइसकेकोछ । ‘कि पढेर सिकिन्छ, कि परेर सिकिन्छ’ भने जस्तै किताब नै पढ्ने बानी छुट्दै गएको समयमा बिगत तीन सातामा आइपरेका घटनाक्रमहरुले जेन्जी पुस्तालार्ई मात्र नभइ सारा नेपालीलाई राज्य संचालनको ब्यवहारिक संकटको बारेमा नराम्रोसँग झक्झक्याएकोछ ।

हामी सबैलाइ राम्ररी थाहा छ, आज हामीले भोगीरहेको संकट दुइदिनको जेन्जी बिद्रोहले ल्याएको होइन । पुरातनकाल देखि नेपाली राज्य ब्यवस्थामा रही आएको बिरोधाभास र नेपाली समाजको बिसंगत ब्यबहारका बिरुद्ध निस्किएको हो जेन्जी बिद्रोह । संविधान त त्रुटिपूर्ण छँदैछ, नेपालीको पारिवारिक र राजनीतिक संस्कार आजपनि सामन्तवादले निर्देशित गरेकोछ । संबिधानसभाका सदस्यको रुपमा प्रदीप गिरिले २०७२ को संबिधान त्रुटीपूर्ण रहेकोले हस्ताक्षर गर्नु भएन । तर, उहाँले सधै संबिधानको पालना गर्नुभयो । संविधानप्रतिको उहाँको आस्था र विश्वास कहिल्यै डगमगाएन । उहाँले असंबैधानिक निर्णयका बिरुद्ध संसदमा आवाज उठाउन कहिल्यै छोड्नु भएन ।

२०७२ पछिका प्रत्येक संबिधान दिवसलाई मधेशले कालो दिवसका रुपमा मनाउँदै आएकोछ । यो संबिधानमा भएको त्रुटीको अर्को प्रमाण हो । संबिधानप्रति मधेशका अनेकौ असंतुष्टि छन । तर, आफ्ना अधिकार यही संबिधानलाई संशोधन गरेर प्राप्त गर्नेमा पनि मधेश त्यति नै बिस्वस्त छ ।

जेन्जी पुस्ताले नेपाली समाजको संरचना बुझनु आवश्यक छ ।