–रुपान्तरण संवाददाता
इतिहासको कालखण्डमा कहिलेकाहीँ यस्ता पात्रहरूको उदय हुन्छ, जसको व्यक्तिगत जीवनको आरोह–अवरोहले समकालीन राजनीतिकै दिशालाई परिवर्तनतिर अग्रसर गराउँछ । सुदूरपश्चिमको डडेलधुराको कुरागर्ने हो भने यसको भूगोल विकट छ र समस्या चुनौतीपूर्ण छन । आधुनिक नेपाली राजनीतिमा शेरबहादुर देउवा जस्ता नेताको जन्म यही धर्तीमा भयो । अहिले देउवाको उत्तराधिकारी बन्न पुगेका छन – नैनसिंह महर ।
महरको जीवनयात्रा कठिन र रोमाञ्चक छ । एउटा सामान्य गाउँले केटोदेखि राष्ट्रिय राजनीतिको नीति–निर्माणको तहसम्मको उनको यो यात्रा गरिबी, अनेकौं अभाव, दमन र मृत्युलाई समेत जितेर अघि बढेको अदम्य साहसका प्रतीक बनेका छन महर । नेपाली राजनीतिको पछिल्लो पुस्तामा ‘बौद्धिक र जुझारु’ छवि बनेकोछ महरको । उनको जीवनलाई नजिकबाट नियालेर हेर्दा नेपालको लोकतान्त्रिक आन्दोलनका उद्देश्य र लक्ष पूरागर्न आवश्यक मार्गचित्रको रेखांकन स्पष्टदेख्न सकिन्छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–३, लामिकाँडेको एउटा मध्यमवर्गीय परिवारमा २०३१ मा जन्मिएका नैनसिंहको जन्महुँदा कसैले सोचेको थिएन होला कि यो बालकले एकदिन राष्ट्रिय राजनीतिको मियो समाउनेछ । उनको बाल्यकाल नितान्त सामान्य र बेफिक्री बित्यो । उनको ब्यक्तित्वमा देखिएको सरलताभित्र गरिबीको कहालीलाग्दो यथार्थ लुकेको थियो । गाउँमा अभाव र अशिक्षा थियो । राज्यको व्यवहार विभेदपूर्ण थियो ।
परिवारको चाहना थियो – छोराले पढेर सरकारी जागिर खाओस् । सुखी जीवन बिताओस । मध्यमवर्गीय नेपाली समाजले देख्ने एकमात्र सपना हो यो । तर, नैनसिंहले आफना लागि अर्कै बाटो रोजे । समाजमा विद्यमान विभेद र निर्धन जनताको आँशुले उनलाई केही गर्न प्रेरित गर्दथ्यो । ‘देशको राजनीतिमा परिवर्तन नभएसम्म जनताको नियतिमा परिवर्तन आउदैन भन्ने चेतनाले उनलाई बिस्तारै राजनीतिको कठिन तर अनिवार्य मार्गमा डोर्यायो ।
नैनसिंह महर २०४६ सालको ऐतिहासिक जन–आन्दोलनसंग जोडिए । देशमा प्रजातन्त्र पुनःस्थापनाको लहर चलिरहेको त्यो बेला उनको उमेर १६ वर्षको थियो । त्यही उमेरमा उनले असिग्राम माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्षको जिम्मेवारी सम्हाले । यो उनको जीवनको एउटा निर्णायक मोड थियो । २०४७ साल कार्तिक १६ गते विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र विद्यार्थी नेता एनपी साउद त्यहाँ उपस्थित थिए । त्यो जनसभा बिशाल थियो । त्यो जनसभामा ने.वि.संघ अध्यक्षको हैसियतले महरले गरेको भाषणले उपस्थित सबैको ध्यान खिच्यो । शीर्ष नेताहरूले उनको भाषण सुनेर दिएको धाप र हौसला महरको राजनीतिक यात्राले ‘टर्निङ पोइन्ट’ ल्यायो । उनी २०५२ सालमा ने.वि. संघ डडेल्धुराको कार्यवाहक अध्यक्ष र २०५६ सालमा जिल्ला अध्यक्ष निर्वाचित भए । उनको कुशल नेतृत्वमा संगठन सवल भयो ।
महरका लागि राजनीति र जीविकोपार्जनका बीच सन्तुलन मिलाउनु फलामको चिउरा चपाउनु सरह थियो । एकातिर राजनीतिले उनलाई पछ्याइ रहेको थियो भने अर्कोतिर पारिवारिक दायित्वले उनलाई थिचिरहेको थियो । यही बाध्यता र सिर्जनात्मक भोकले उनलाई पत्रकारितातिर डोर्यायो । वि.सं. २०५३ देखि २०५७ सम्म उनले कान्तिपुर दैनिक, रा.स.स र रेडियो नेपालको रिपोर्टरका रूपमा काम गरे । पत्रकारिता उनका लागि एउटा आँखीझ्याल थियो समाजलाई गहिराइमा बुझ्न । उनले आफनो कलमको माध्यमले सामान्य मानिसका पीडा, प्रशासनिक ढिलासुस्ती र विकासका तगाराहरूलाई उजागर गरे । यही क्रममा उनले नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संस्थापन गरे । उनी त्यसको अध्यक्ष बने ।
२०५७ सालको चितवन महाधिवेशनमा ने.वि. संघको केन्द्रीय सदस्य निर्वाचित भएपछि उनी ‘समाचार बनाउने’ काम छाडेर ‘समाचार बन्ने’ काममा लागे । उनी नेपाली कांग्रेसको पूर्णकालीन राजनीतिमा होमिए । उनको यो निर्णय जोखिमपूर्ण थियो तर, समयले यसलाई सही साबित गरिदियो ।
लोकतन्त्रको लडाइँ फूलको ओछ्यान थिएन । नैनसिंह महरको शरीरमा लागेका चोटहरू र उनले भोगेका यातनाहरू लोकतन्त्रका लागि उनको संघर्षका मानक हुन । २०६२/६३ को जनआन्दोलनमा तीन महिना जेलमा बिताएका महरका लागि २०६४ सालको चैत्र २४ गतेको रात जीवनकै सबैभन्दा कहालीलाग्दो र अविस्मरणीय रात बन्यो । पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा, लोकतन्त्रको पक्षमा माहोल बनाउँदै गर्दा तत्कालीन विद्रोही माओवादीका करिब ८० जनाको हतियारधारी समूहले डडेल्धुरास्थित उनकै नातेदारको निवासबाट राती ११ वजे उनको अपहरण ग¥यो । भर्खरै वैवाहिक जीवनमा बाँधिएका महरलाई नानीगाड नदीको बगरमा लगेर लुटियो । मरणान्त हुने गरी कुटपिट गरियो । अपहरणकारीहरूले उनलाई मरेको ठानेर बगरमा बेवारिसे छोडेर गए । चार घण्टापछि होस आउँदा उनी बगरमा एक्लै थिए, शरीर रगतपच्छे थियो र हाडजोर्नीहरू दुखिरहेका थिए ।
मृत्युलाई यति नजिकबाट देखेर फर्केका महर डराएनन्, भागेनन् । अदम्य साहसका साथ भोलिपल्टैदेखि उनी घाइते शरीर लिएर चुनावी मैदानमा उत्रिए । यो घटनाले जनताको मनमा उनीप्रतिको सम्मान र विश्वासलाई अझ गहिरो बनायो ।
सङ्घर्षको भट्टीबाट खारिएका महरले विद्यार्थी राजनीतिको केन्द्रीय मञ्चमा आफ्नो बलियो उपस्थिति जनाए । उनी २०६४ सालमा नेपाल बिद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष भए भने २०७३ सालमा सम्पन्न ११औं महाधिवेशनबाट उनी केन्द्रीय अध्यक्षमा निर्वाचित भए । अध्यक्षका रूपमा उनको कार्यकाल विद्यार्थी आन्दोलनको इतिहासमा ‘नीतिगत सुधार र रूपान्तरणको युग’ का रूपमा स्वर्ण अक्षरले लेखिएको छ । ने.वि.संघभित्र दशकौंदेखि विद्यार्थी राजनीतिमा जरा गाडेर बसेको ‘पाका विद्यार्थीहरू’ को सिन्डिकेट तोड्न उनले ‘३२ वर्षे उमेर हद’ को विधान पारित गराए । विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षे उमेर हदको निर्णय पारित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरे । यो निर्णय आफैंमा एउटा ठूलो जोखिम र चुनौती थियो ।
गरीब र जेहेन्दार विद्यार्थीले पैसाको अभावमा उच्च शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर महरले ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने’ नीतिको परिकल्पना गरे र त्यसलाई राज्यको नीति तथा कार्यक्रममा समावेश गराउन सफल भए । आज यो नीतिले हजारौं युवालाई उद्यमशीलता र उच्च शिक्षाको बाटो देखाएको छ । खुल्ला विश्वविद्यालय स्थापनाको माग पुरा गराउन उनले खेलेको भूमिका अतुलनीय छ ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका महरले प्राज्ञिक साधनालाई कहिल्यै टुट्न दिएका छैनन । सन् २०२५ मा राजनीतिशास्त्रमा प्रथम श्रेणीमा एम.फिल. उत्तीर्ण गरेका महर अहिले राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरिरहेकाछन । नेपाली राजनीतिमा प्रायः नेताहरूलाई ‘पढ्ने–लेख्ने’ बानी नभएको आरोप लाग्ने गर्दछ । तर, नैनसिंह महर यसको सुखद अपवाद हुन् । उनी अध्ययनशील र वैचारिक स्पष्टता भएका नेता हुन् ।