– रुचि श्रेष्ठ
फागुन २१ गते हुने भनिएको आमनिर्वाचनको उल्टो दिन गिन्ती शुरु भइसकेकोछ । केही पुराना अनुहारहरु पर्दाबाट बाहिरिएका छन भने धेरै नयाँ अनुहारहरु उम्मेदवारका रोलमा प्रकट भएका छन । नेपाली समाजमा रुपान्तरणको बिगुल फुक्ने नेकपा माओवादी पार्टीको रोल समाप्त भै सकेको छ । त्यस पार्टीका ‘प्रोटागोनिष्ट’ प्रमुख पात्र प्रचण्ड बेग्लै सेट, नेपाली कम्युनिष्ट पार्टीमा आफनो रोल स्थापित गर्ने कसरतमा लागेका छन । माओवादी पार्टीमा मुख्य भूमिकामा रहेका अरु पात्रहरु जनार्दन शर्मा प्रभाकर र राम कार्की लगायतले निर्देशकको भूमिकामा लोकतान्त्रिक प्रगतिशील पार्टीको सेट खडा मात्र गरेका छैनन, प्रचण्डलाई आउटगर्न रुकुम पूर्वमा आफनो उमेदवार पनि खडा गरिसकेका छन ।
अर्कातिर, नेकपा एमालेका प्रोटागोनिष्ट केपी ओली राज्य सत्ता गुमाएपनि पार्टीको सत्तामा आफनो प्रमुख भूमिका कायम राख्न सफल भएका छन । ओलीजीको बहुआयामिक ब्यक्तित्वमा पछिल्लो समय गंभीर छवीको झझल्को देखिन थालेकोछ । उनको व्यक्तित्वमा देखिएको यो परिवर्तन ‘इन्टरल्युड’ हो कि ‘क्लाइमेक्स’ हो ? त्यो चाहि चुनावको नतिजा आएपछि नै अथ्र्याउन सकिन्छ । जे होस्, अहिलेको चुनावी तमाशामा ओलीजीले आफुलाई प्रमुख पात्र मध्यमा कायम राखेका छन । अघिल्लो निर्वाचनमा ओलीजीको बिरोधमा युग पाठक प्रतिव्दन्दीका रुपमा स्वतन्त्र खडा भएका थिए । नेपाली राजनीति र समाजको जरा र नसा बुझेका युग पाठक आफै पनि ओलीलाई पराजित पार्नेमा बिश्वस्त थिएनन । ओलीलाई हराउनु उनको उद्येश्य पनि थिएन । उनको उद्येश्य नागरिक र राज्यसत्तालाई सिम्बोलिक मेसेज दिनु थियो, दिए ।
अहिले ओलीका प्रतिव्दन्दी बालेन्द्र उर्फ बालेनजी छन । एउटालाई शान्तिपूर्ण सन्चालित युवा बिद्रोहलाई हिंसकरुप दिएर निर्दोष युवाहरुको हत्यागर्न लगाएको आरोप छ, त अर्कोलाई सिंहदरबार आगो लगाएर ध्वस्त पारेको आरोप छ । नेपाली मिडियामा बिचारको खडेरी त छँदैछ । यहाँ न्यारेटिभहरु भने खुब तैयार हुन्छन, र त्यही न्यारेटिभलाई बहसको विषय बनाइन्छ । त्यस्तै एउटा “बहस” चलेको छ कि “सिंहदरबार जलाउनु ठूलो अपराध हो कि निहत्था युवाहरुको ज्यान लिनु ठूलो अपराध हो ?” यो दोहोरीले अर्को एउटा दोहोरीको सम्झना दिलाउछ । “कत्रा–कत्रा अपराध गर्ने, राज्यको कर छल्नेहरु खुलेआम घुमिरहेकाछन, राज्यले रवि लामिछानेलाई मात्र किन ‘टारगेट’ बनाइरहेको छ ?”
यस्ता विचारशून्य र तर्कशून्य “बहस” को दृश्यमा ओलीजीको ‘बतासे अण्डा’ जस्ता तुक्काले दर्शकलाई रमाइलो बिषयान्तर ‘कमिक रिलिफ’ दिएकोछ ।
के साच्चै आजको हाम्रो लडाइ पुराना र नयाँ बीचको हो ? कि लामो समय देखि चलिरहेको राजनीतिको ‘रियालिटि शो’ कहिले नसकिने टिभि सिरियल बनेपछि नयाँ खेल नयाँ पात्रहरु लिएर प्रस्तुत हुन लागेको हो ? जनता मुर्ख छैनन । सशंकित छन ।
नेपाली कांग्रसमा त झन नयाँको यस्तो लहर चलेको छ कि नयाँको तापमा रापिएर नवनिर्वाचित सभापति गगनजी भन्दै हुनुहुन्छ, अहिले नेपाली कांग्रेस भन्दा नयाँ दल कुन छ ? सबैभन्दा नयाँ दल नै नेपाली कांग्रेस हो । हिजो सम्म सबैभन्दा पुरानो इतिहास बोकेको, लोकतन्त्रको जग बसालेको दल आजबाट सबैभन्दा नयाँ कहलिने भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी त पुरानो हुनै पाएका छैनन । अघिल्लो चुनावमा “हामी सशक्त प्रतिपक्षी भएर संसदमा प्रस्तुत हुनेछौ” भनेर भोट मागेका थिए । सरकारको क्याबिनेट मिनिस्टर बनेपछि रास्वपाका सभापति रविजीले भन्नु भएको थियो, “म क्याबिनेटमै प्रतिपक्षको भूमिका निर्वाह गर्नेछु ।” उसै त पुराना कुराहरु छिटै बिर्सने प्रवृत्ति भएको नेपाली समाजमा सामाजिक संजालको गन्जागोलमा कसले, कहिले, के भने भनेर याद नरहनु के आश्चर्य भयो !
यसपटक त्यही रास्वपाले “हामीलाई बलियो प्रतिपक्षी चाहिएको छ भनिरहेकाछन । बालेनजीलाई “रक–स्टार” शैलीमा प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरिदिएका छन । त्यही पार्टी भित्रका मन्त्री र सांसद बनिसकेका पात्रहरु कसैलाई बालेनजीको “रक–स्टार” इन्ट्रीले समस्या भएको छैन । रविजीले त झन आफु “लो–प्रोफाइल”मा बसिदिएर उदारता देखाएका छन । आफनो नामको पातलो “स” लुकाएरै तीन वर्ष सार्वजनिक पदमा बसेर सार्वजनिक जीवन बिताएका बालेनजीले मेयरको रोलबाट राजिनामा दिएको भोलिपल्टै रास्वपाको वरिष्ट नेता र प्रधानमन्त्रीको उम्मेदवारका रोलमा जनकपुर पुगेर मैथिलीमा भाषण गर्दा मिडिया भरी ‘ब्लकबस्टर’ सिनेमाको ट्रेलर नै आए जस्तो भयो । चुनावी माहौल तताउन यस्ता सर्कसहरु देखाउनु सामान्य कुरा हो । तर, यहाँ त सत्ता र सरकार कै सरकस हेर्दा हेर्दा बिरक्तिएका जनताहरु निर्वाचनको सर्कस हेरेर रुनु न हाँस्नु भएका छन ।
नेपालीले चुनावको तरंगमा नयाँ उम्मेदवार र पार्टी प्रति पटक–पटक उदारभाव देखाएका छन । पंचायती व्यवस्थामा नानी मैयाँ दहालको बिद्रोही प्रस्तुति काठमाडौंको मात्र नभएर राष्ट्रिय आकर्षणको विषय बनेको थियो । गोल्चे सार्की अर्का नयाँ उम्मेदवार थिए जसलाई काठमाडौंका मतदाताले प्रधानपंच चुनेका थिए । संघीय गणतान्त्रिक नेपालको पहिलो आमनिर्वाचनमा नेपालीले भोट दिएर माओवादी पार्टीलाई पहिलो पार्टी बनाएको घटना अर्को अप्रत्याशित चुनावी नतिजा थियो । अघिल्लो निर्वाचनमा पनि रास्वपालाई नेपालीले नयाँको रुपमा ब्रेक दिए । काठमाडौं बासीले मेयरको रोलमा ब्रेक दिएको अर्को नयाँ उमेदवार बालेनजी पनि हुन ।
अहिले स्थिति र संदर्भ केही बदलिएकोछ । नयाँ प्रति जनताको उत्साह घटेकोछ । प्रत्येक बिद्रोह र आन्दोलन पछि आशामुखी हुने नेपालीहरु यस पटकको सडक–बिद्रोह पछि केही नयाँ परिवर्तन ल्याउनेमा भन्दा राज्य व्यवस्थामा बिधिको शासन स्थापनाको कामना गरिरहेकाछन ।
परिवर्तन त खोजेकै हो, युवाले पनि र पाकाले पनि । तर, चुनाव गराउने म्यान्डेट पाएको सरकारसँग ठूला बिकास योजना र परिवर्तनका रणनीति ल्याउने अधिकार छैन भन्ने सत्य सबैले बुझिसकेकाछन । लोकतान्त्रिक बहुदलीय व्यवस्थामा जनताले चुनेर पठाएको प्रतिनिधि र ती प्रतिनिधिले गठन गर्ने सरकार नै अहिलेको परिस्थितिको विकल्प र निकास हो भन्ने कुरा पनि स्पष्ट छ । तैपनि, चुनाव हुनेमा जनता आश्वस्त हुनसकेका छैनन ।
एकैदिनको समाचारमा हिजो एकातिर प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रियसभामा संबोधन गर्दै भन्नुभयो, निर्वाचनप्रति जनताले देखाएको उत्साहले जनताको लोकतन्त्रप्रतिको आस्था, विश्वास, भरोसा अनि प्रतिबद्धता दर्शाएकोछ । अर्कोतिर, निर्वाचन आयोगले एक–तिहाइ मतदान केन्द्रलाई अति संवेदनशील सूचिमा राखेको छ । सुरक्षाको लागि प्रहरी र ससस्त्र प्रहरीसँग सेनाले सहकार्य गर्ने भनिएकोछ । चुनाव भइहाले पनि त्यसले जन–बिद्रोहले बिथोलिएको राज्यव्यवस्थाको ‘कोर्स–करेक्सन’ गर्नेछ भन्ने कुरामा जनता त्यति विश्वस्त देखिदैनन ।
संविधानको परिधिभित्र रहेर निर्णय लिनुपर्नेमा संविधानमा टेकेर संसद बिघटन गरियो, चुनावी सरकार गठन गरियो । सरकार अब चुनाव मार्फत राज्य व्यवस्थालाई फेरी संविधानको परिधिमा समेट्न खोजीरहेको छ । कागजमा त जसोतसो कोर्स–करेक्सन गरिएला । ‘पिपुल्स कन्सेन्ट’ जन–सहमति कसरी जुट्छ ? लोकतान्त्रिक राज्य व्यवस्थामा ‘पिपुल्स कन्सेन्ट’ भनेको लोकतन्त्रको आत्मा हो । यो आत्मालाई जीवित राख्न प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प छैन ।
प्रेम गर्छु भनेर मात्र प्रेम गरेको ठहरिदैन । प्रेम गर्नको लागि प्रेम गर्नैपर्ने हुन्छ । त्यसै गरी कोर्स–करेक्सन गर्नको लागि कोर्स–करेक्सन नै गर्नु पर्दछ । एउटा गलत निर्णयलाई अर्को गलत निर्णयले न रंगमंचमा, न वास्तविक जीवनमा सही प्रमाणित गर्न सक्दछ ।