संसदीय निर्वाचनमा नगराइनका बिमलेन्द्र निधि - रुपान्तरण
 २०८३ जेठ ९, शनिबार    

संसदीय निर्वाचनमा नगराइनका बिमलेन्द्र निधि


- किशोर नेपाल
विमलेन्द्र निधि नेपाली लोकतान्त्रिक राजनीतिका त्यस्ता पात्र हुन – जसका बिरोधीहरु पनि उनका तीनवटा गुण र क्षमतालाई विना संकोच स्वीकार गर्दछन : पहिलो, राजनीतिक रणनीति निर्माणमा उनी दक्ष छन । दोस्रो, उनका राजनीतिक दृष्टिकोण स्पष्ट छन । र, तेस्रो, उनमा कार्यकर्ताहरुको सम्मान र समन्वयगर्ने प्रचूर क्षमता छ । नेपालको लोकतान्त्रिक राजनीतिमा दोस्रो पुस्ताका प्रभावशाली नेताका रुपमा उनले आफनो राजनीतिक कौशल पटक–पटक देखाइ सकेका छन ।

नेपाली राजनीतिका स्वनामधन्य नेता महेन्द्रनारायण निधिका कान्छा छोरा विमलेन्द्रको राजनीतिक जीवन आफना पिताको राजनीतिभन्दा फरक रह्यो । पिता निधि लोकतान्त्रिक राजनीतिमा अहिंसाको सिध्दान्तबाट कहिल्यै कतै टसमस हुनु भएन । तर, विमलेन्द्र लोकतन्त्र प्राप्तिका लागि भएका हिंसात्मक र अहिंसात्मक, सबै प्रकारका संघर्षमा सक्रिय रहे । विमलको राजनीतिक गतिविधिका बारे बेलाबेलामा पिता निधि विमललाई अहिंसात्मक राजनीतिको महत्व सम्झाउने गर्नुहुन्थ्यो । उनलाई अहिंसाको भाषा सिकाउनु हुन्थ्यो । तर, विमल राजाको तानाशाही शासनका बिरुध्द आफनो बिचारमा ‘एकलव्य’ थिए । कान्छा छोराका रुपमा निधिजीका अत्यन्त प्रिय थिए विमल । तर, उनले नेपालमा लोकतान्त्रिक ब्यबस्थाको स्थापनाका लागि आफनो पिताको अभूतपूर्व योगदान, लोकतान्त्रिक प्रतिष्ठा र जनताको सम्मानको ‘विरासत’ भजाएर कहिल्यै राजनीति गरेनन । उनको राजनीति तरुणहरुको परिवर्तनको ब्यग्र चाहना अनुरुप थियो ।

राजा महेन्द्रले २०१७ सालमा निर्वाचित सरकार विघटन गरेर सुन्दरीजल जेलमा बन्दी बनाएर राखेका वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतका नेताहरुलाई रिहा गरेको केही समयपछि नै वीपी र गणेशमान सिंह निर्वासनमा जानु भयो । त्यहाँबाट कांग्रेसले निरंकुश राजनीतिका बिरुध्द विद्रोहको प्रारम्भ गरेपछि नेपालमा निकै ठूलो हलचल आयो । यो विद्रोहको एक सक्रिय सारथी थिए विमलेन्द्र । त्यतिबेला उनी चौधबर्षका थिए ।

तत्कालीन मधेशका दुई प्रखर लोकतन्त्रबादी राजनेता थिए – महेन्द्रनारायण निधि र सरोजप्रसाद कोइराला । निधिको पकड अहिंसात्मक आन्दोलनको राजनीतिमा थियो भने बिद्रोही धारको संयोजन सरोज कोइरालाको हातमा थियो । दुवै नेता विपरित ध्रूवमा देखिन्थे । तर, दुबैको उद्देश्य समान थियो । निधि र कोइरालाका बीच समन्वयात्मक सम्बन्ध थियो । विद्रोहको क्रममा राज्यले निधिलाई पटकपटक जेलमा राख्यो भने नेपाली कांग्रेसका उर्जावान नेता सरोज कोइरालाको हत्या भयो । विद्रोहको क्रममा कांग्रेसका धेरै तरुणहरु शहीद भए । राज्य कठोर थियो । तर, बिद्रोहलाई अझै उर्जाशील बनाउन लागेका विमलेन्द्र निधि र उनका साथीहरु भारतीय सीमा क्षेत्रबाट विद्रोहका लागि हतियार ल्याउन सक्रिय रहे ।

यता, राजधानी काठमाडौतिर २०२७ सालमा संगठित नेपाल बिद्यार्थी संघले लोकतन्त्रको झण्डा फहराइरहेको थियो । पूरै देश अशान्तिको दावानलमा झुल्सिदै थियो । अशान्तिले देश झन संकटमापर्ने बिश्लेषणपछि बीपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्किनु भयो । त्यसको तीन बर्षपछि २०३६ साल जेठ १० गते राजा बीरेन्द्रले प्रजातान्त्रिक ब्यबस्था र पन्चायत ब्यबस्थाका बीच जनमत संग्रहको घोषणा गरे ।

यसपछि नै २०३६ सालमा जनकपुरमा नेपाल बिद्यार्थी संघको अधिवेशन भयो । राजा बीरेन्द्रले संसदीय ब्यबस्था र पन्चायत ब्यबस्थाका बीच जनमत संग्रहको घोषणा पछिको त्यो समय राजनीतिकरुपले खुला थियो । विद्यार्थी संघको नेतृत्वमा पुग्न तन्नेरीहरु जमजमाएका थिए । बीपीको बिचार भिन्न थियो । उहाँले नेपाल विद्यार्थी संघको नेतृत्व विमलेन्द्रको हातमा सुम्पिने निर्णय गर्नुभयो । त्यतिबेला उनको उमेर मात्र २३ बर्षको थियो । बीपीको त्यो निर्णय दूरगामी महत्वको थियो । उहाँले विमलको क्षमता र लोकतन्त्रप्रतिको समर्पण भावलाई केलाएर हेर्नु भएको थियो । त्यतिवेलाको जल्दोबल्दो समयमा विमलेन्द्र विजोडा थिए । उनले बीपीको अपेक्षाको सम्मान गरे । उनको नेतृत्वमा नेपाल बिद्यार्थी संघको कायापलट भयो ।

कांग्रेसले आयोजना गरेको २०४२ सालको सत्याग्रह र सर्वमान्य नेता गणेशमान सिंहको आव्हानमा भएको २०४६ सालको राष्ट्रिय जन–आन्दोलनमा विमलेन्द्र सक्रिय रहे । आन्दोलनको सफलतापछि सन १९९४ देखि २००८ सम्म संविधान सभाका सदस्य रहे । उनी सन २०२१ मा नेपाली कांग्रेसका उप–सभापति र २००९ सम्म महामन्त्री रहे । सन २०१६ देखि २०१७ सम्म उप–प्रधानमन्त्री रहे ।

विमलेन्द्र विरासतको आधारमा राजनीतिमा आएका होइनन । उनले कठिन संघर्ष गरेका छन । उनी नेपाली कांग्रेसका सिध्दान्तनिष्ठ ब्यक्तित्व हुन । उनको राजनीतिक जीवनमा अहिलेसम्म कुनै दाग लागेको छैन । अहिलेको समयमा विमलेन्द्रको सान्दर्भिकता झनै बढेकोछ । उनी जति मधेशका नेता हुन, त्यति नै पहाड र खोंचका पनि नेता हुन । मधेश र पहाडलाई एउटै लयमा नल्याएसम्म देशको सम्पूर्ण विकास सम्भव छैन भन्ने उनको धारणा सन्तुलित रहेकोछ ।

बौध्दिक हिसावले विमलेन्द्र तीक्ष्ण बुध्दिका छन । समकालीन समस्याहरुको अध्ययन र चिन्तनमा उनको गहिरो रुचि रहेकोछ । उनी आध्यात्मिक पनि छन । देशप्रति निष्ठावान र इमान्दार छन । नेपाली कांग्रेसले स्थापनाकाल देखि नै राष्ट्रियता, प्रजातन्त्र र समाजबादको सिध्दान्तलाइ मान्दै आएकोछ । अहिले प्रजातन्त्रको रुपान्तरण भएकोछ लोकतन्त्रका रुपमा ।

२०७२ को सम्बिधानले एकैपटक पाँचवटा परिवर्तन ल्याएको छ नेपालको राजनीतिमा । बिमलेन्द्र भन्दछन : गणतन्त्र, संघीय, समाबेशी, मिश्रित निर्वाचन प्रणाली र धर्मनिरपेक्ष समाज हाम्रो सम्बिधानको बिशेषता हो । हामीकहाँ पहिले एकै किसिमको निर्वाचन प्रणाली थियो : प्रत्यक्ष निर्वाचन प्रणाली । नयाँ संबिधान मार्फत हामीले समानुपातिक प्रणाली ल्यायौ । नेपाल पहिले पनि धर्मनिरपेक्ष थिएन । २०१५ सालको संबिधानमा पनि हिन्दूधर्मको चर्चा थिएन । राजा महेन्द्रले प्रजातन्त्र सिध्याएर सत्ता आफ्नो हातमा लिएपछि २०१९ सालमा जारी गरेको संबिधानमा हिन्दूराष्ट्र लेखिएको हो । २०४७ सालको संबिधानमा हिन्दू राष्ट्र लेखिएको थिएन ।

बिमलेन्द्र भन्दछन : निश्चय पनि, नेपाल हिन्दू बाहुल्य भएको देश हो । राज्य भन्नु र राष्ट्र भन्नु दुइ फरक शब्दावली हुन । राष्ट्रले कानून खोज्दैन । राज्यले कानून खोज्दछ । कसैले हिन्दू, क्रिश्चियन, इस्लाम राज्य बनाउछ भने त्यस अनुरुपको कानून पनि बनाउनु पर्दछ । अहिले पनि नेपाल हिन्दू राष्ट्र हो भन्न सकिन्छ र भन्नु पनि पर्दछ । यो भावनात्मक कुरा हो । यसको लागि कानुन बनाउनु पर्दैन । संबिधानमा लेखिनु पर्दैन । प्रजातन्त्रको उन्नत स्वरुप लोकतन्त्र हो । ‘धर्मनिरपेक्ष’ अंग्रेजी भाषाको ‘सेक्युलरिज्म’ हो ।
विमलका मान्यताहरु सहज र सरल छन । उनको विचारमा धर्मनिरपेक्षको अर्थ धर्मलाई निषेधगर्नु होइन । धर्मको आधारमा राज्यले जनताका बीच भेदभाव नगर्नु धर्म निरपेक्षता हो : बहुधार्मिक र धार्मिक स्वतन्त्रताको उन्नत शब्द । सबैले आफ्नो आस्था अनुसार धर्म अनुसरणगर्ने स्वतन्त्रता ।

विमल भन्दछन : बिविधताले भरिएको नेपाली समाजमा हाम्रो संबिधानले राजनीतिक सहमतिको आधारमा खस, आर्य, दलित, आदिवासी–जनजाति, महिला, मधेशी, थारु, मुस्लिम, पिछडिएका भौगोलिक क्षेत्रका, अल्पसंख्यकहरुको पहिचान गरेकोछ । यी हाम्रो समाजका बिविधता हुन । यी बिविधतालाइ अस्वीकार गरेर हाम्रो शासन प्रणाली चल्न सक्दैन र व्दन्व्दको समाधान हुन पनि सक्दैन । राज्यको प्रत्येक संरचनामा यी बिविधताको प्रतिनिधित्व हुनुपर्दछ ।