कांग्रेसमा चुनावपछिको चलखेल - रुपान्तरण
 २०८३ जेठ ९, शनिबार    

कांग्रेसमा चुनावपछिको चलखेल

थापाको राजीनामा : शर्माको अस्वीकृति


–किशोर नेपाल

नेपाली कांग्रेसको बिशेष अधिवेशनबाट सभापति पदमा ‘निर्वाचित’ भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेतृत्वमा लडिएको फागुन २१ गते सम्पन्न संसदको चुनावमा नेपाली कांग्रेसले लज्जास्पद पराजय बेहोर्यो । चुनाव लडन सर्लाही पुगेका सभापति गगन थापा आफैं पराजित भए । त्यो पनि अमरेशकुमार सिंहसंग । आफैले नेतृत्व गरेको चुनावमा आफनै पराजय सभापति थापाका लागि लज्जास्पद थियो । पराजयपछि उनले सभापति पदबाट ‘नाटकीय’ ढंगले राजिनामा दिए । उनका ‘जोडिदार’ महामन्त्री बिश्वप्रकाश शर्माले सभापति गगनले राजिनामा दिनुनपर्ने बताइ सकेका थिए । उनले सभापति थापाको राजिनामा कार्य समितिमा प्रस्तुत गरे । राजिनामा स्वीकृतहुने त कुरै थिएन ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको आडमा भएको विभीषिकापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भयो । प्रधानमन्त्री तथा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली सेनाले जोगायो । देउवा र ओलीका आवास तोडफोडमा परे । देशको केन्द्रीय राजधानीमा रहेका कति सरकारी आवासहरु खरानी भए, कति भवन ध्वस्त भए ? कसैले हिसाव राख्नै सकेन ।

त्यही विभीषिकाको ताप र रापमा संसद विघटन भयो । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरीम सरकार गठन भयो । छानवीनका लागि आयोगहरु गठन भए । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने निर्णय गर्यो । त्यही अनुसार, निर्वाचन आयोग संसदको चुनाव गराउन सक्रिय भयो । विकल्परहित स्थितिमा पुगेका राजनीतिक दलहरुले चूँ सम्म नगरी चुनावमा भागलिन स्वीकार गरे । भदौ आतंकपछि उनीहरु केही बोल्न सक्ने अवस्थामा थिएनन ।

यो सत्य हो, नेपाली कांग्रेस र यसका सभापति शेरबहादुर देउवालाई यो दुर्घटनाको आभाश नै भएन । आन्दोलन कसरी भयो ? कसले परिचालित गर्यो ? देशको सबैभन्दा ठूलो र अनुभवी पार्टीका नेताहरुले भेउ नै पाएनन । एक त, नेपाली कांग्रेसमा समसामयिक अवस्थाको बिश्लेषणगर्ने चलन नै हराएर गएको थियो । दोस्रो, सभापति देउवा त्यतिबेलाको घटनाक्रमसंग ‘अपडेट’ नै थिएनन । आफना पारिवारिक सूत्रहरुले जे सूचना दिन्थे त्यसैमा निर्भर थिए देउवा । कांग्रेसीहरु ढुक्क थिए, ‘कांग्रेस–एमाले सरकारको नेतृत्व सभापति देउवाको हातमा आउने बित्तिकै ‘सबै कुरा ठीक भै हाल्छ ।’

तर, जेनजी आन्दोलनको नाममा सभापति देउवामाथि घातक शारीरिक हमला भयो । बिध्वंशकारी समूहले बुढानीलकण्ठमा रहेको उनको आवास क्षत–विक्षत तुल्यायो । उनको निवासको ‘तहखाना’ बाट करोडौं करोड देशी विदेशी मुद्रा वरामद भएको हल्ला चल्यो । देउवा र उनकी धर्मपत्नी नराम्ररी घाइते भए । छाउनीमा रहेको सैनिक अस्पतालमा देउवा दम्पतिको सघन उपचार गर्नुपर्यो । यो घटनापछि कांग्रेसका नेताहरु मुर्झाए ।

यसैबीच, सभापति देउवाले उप–सभापति पूर्णबहादुर खडकालाई ‘मौखिक’ रुपमा आफनो कार्यभार सुम्पिए । मध्यमार्गमा बिश्वासगर्ने उप–सभापति खडकाले पार्टीको आन्तरिक ब्यबस्थापनका लागि मिलन बिन्दूखोज्न निकै प्रयास नगरेका होइनन । तर, लामो समयदेखि संवोधन नभएका पार्टीका समस्याको समाधान सीमित समयमा हुनु सम्भव थिएन । प्रतिनिधि सभा विघटनका बिरुद्ध उप–सभापति खडकाले पार्टीका तर्फबाट दिएको रीटको सुनुवाइगर्न सर्वोच्च अदालत नै अन्कनायो । नेपालको न्यायपालिकाको इतिहासमा यो घटना संविधानविद् र कानूनविद्हरुका लागि आश्चर्यजनक रह्यो ।

महामन्त्री गगन थापाको नेतृत्वमा चुनाव लडने हो भने कांग्रेसले चुनावमा वहुमत ल्याउने बिश्वास पार्टीभित्रका महत्वाकांक्षी नेताहरुले गरेका थिए । त्यो पक्षले पार्र्टीको बिशेष अधिवेशनको आयोजना गर्यो । त्यो बिशेष अधिवेशनमा त्यस्ता केही मानिस हावी भए जो कांग्रेसका विपक्षीका रुपमा चिनिन्थे । यिनीहरुको विचार ‘बिशेष अधिवेशन’ मा हावी भयो । निकै तामझामका साथ गरिएको त्यो अधिवेशनले सभापति शेरबहादुर देउवालाई हटाएर गगनलाई सभापति चुन्यो । गगन सभापति भए । निर्वाचन आयोगले कांग्रेस सभापतिको पदमा गगनको वैधानिकता स्थापित गरिदियो । आश्चर्यको कुरा, कार्यवाहक सभापति खडकाको कुरा निर्वाचन आयोगले सुन्नै चाहेन ।

कांग्रेसमा आन्तरिक विवाद नयाँ विषय होइन । राजा महेन्द्र्रले २०१७ साल पुस १ गते बीपी कोइराला नेतृत्वको प्रजातान्त्रिक सरकारको विघटनगर्नु अघिपनि नेताहरुका बीचमा विवाद हुन्थ्यो । सुवर्ण शमशेरले देशमा निर्दलीय तानाशाही ब्यबस्थाका बिरुद्ध भारतबाट संचालन गर्नुभएको सशस्त्र क्रान्तिकालमा पनि विवाद थियो । बीपी बाँचुन्जेल विवादहरु सतहमा आउँदैनथे । २०४६ को राष्ट्रिय जन–आन्दोलनले संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको स्थापना गरेपछि पनि नेताहरुबीच ‘खतरनाक’ विवादहुने गरेको थियो । तर, जस्तोसुकै परिस्थितिमा पनि विवादको समाधान खोजिन्थ्यो । नेताहरु दूरगामी सोच राख्दथे । गणेशमान सिंह, कृष्णप्र्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला बीचका विवाद निकै खतरनाक मोडमा नपुगी टुंगिदैनथ्यो । वहुदलीय राजनीतिमा यो अस्वाभाविक पनि थिएन । विवाद नेपाली कांग्रेसमा मात्रै पनि थिएन । कम्युनिष्ट पार्टीहरु पनि कांग्रेसको भन्दा राम्रो अवस्थामा थिएनन । किशुनजी यस्ता विवादका बारेमा भन्ने गर्नुहुन्थ्यो – यो ‘विवाद’ होइन, ‘झगडा’ पनि होइन, यो त ‘रगडा’ हो । रगडाले मानिसलाई थकाउँछ ।

अहिले चुनावमा पराजयको कारण गगन नेतृत्वको बिशेष अधिवेशन देखिएकोछ । बिशेष अधिवेशनको नाममा सभापति देउवालाई पाखा लगाउने खेल भएको चर्चा देशभरिका कांग्रेस बृत्तमा भएकोछ । पार्टी विभाजनको यस्तै खेल असोज २०५९ सालमा पनि भएको थियो । त्यतिबेला सभापति गिरिजाप्रसाद कोइरालासंगको विवादका कारण देउवाको नेतृत्वमा पार्टी विभाजित भएर नेपाली कांग्रेस ‘कलश’ बनेको थियोे । असोज २०६४ सम्म अस्तित्वमा रहेको ‘कलश’ कांग्रेस मूल पार्टीमा विलय भएपछि अहिले फेरी त्यही खेल दोहोरिन खोजेकोछ ।

कांग्रेसमा समय–समयमा झगडाहुने गरेपनि लामो समयदेखि ‘रगडा’ भएको थिएन । अव त्यो ‘रगडा’ शुरु भए जस्तोेछ । यो रगडा नहोस् भनेर कांग्रेसका महत्वपूर्ण नेताहरु अहिले सक्रिय देखिएकाछन । नेपालमा लोकतन्त्रको भविष्यका लागि कांग्रेस र अन्य सबै पार्टीका बीच सद्भाव र एकता कायम रहनु अपरिहार्य छ । राजनीतिक लडाइ नेताहरुको जुँगाको लडाइ हुनु बान्छनीय हुदैन ।