जनतामा संशय पैदा हुने काम नहोस ! - रुपान्तरण
 २०८३ जेठ ९, शनिबार    

जनतामा संशय पैदा हुने काम नहोस !


–ओम आचार्य

भाद्र २३ र २४ को जेनजी आन्दोलनका कारण एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी सुशीला कार्कीले फागुन २१ गतेको निर्धारित मितिमा निर्वाचन हुन्छ कि हुदैन भन्ने संशयलाइ चिर्दै सफलतापुर्वक निर्वाचन सप्पन्न गराउनु भयो ।

निर्वाचनमा झण्डै दुइ तिहाइ मत ल्याएर रास्वपाले इतिहास बनायो । काठमाण्डौंका पुर्व मेयर तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र साहलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्यो !

चैत्र १३ गते रामनवमीको शुभ मुहर्तमा प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रधानमन्त्री वालेन्द्र साहलाई नेपाली जनताले उनी काठमाण्डौका मेयर हुदै देखि केही गर्नसक्ने सक्षम व्यक्तिका रुपमा राखेका थिए । उनको कामभन्दा पनि ‘ड्रेस–अप’ र हिडाइले खास गरेर युवावर्गलाई सम्मोहित गरेको थियो । हो, उनको ‘लाइफ–स्टाइल’बाट तन्नेरीहरु सम्मोहित बनेका थिए ।

बालेनको कामगर्ने तौर–तरीका

उनको ‘द्रुत हिडाइ’ जस्तै कामगर्ने शैलि पनि त्यत्तिकै द्रुत देखिदै छ । प्रधानमन्त्री भएपछि उनले समयसीमा तोकेर ‘टाइम–लाइन’ सेवा जारी गरे । उनी जति छिटो छिटो हिडदैछन, काम पनि त्यस्तै छिटो–छिटो गर्दैछन । यही क्रममा उनले भदौ २३ र २४ गते भएका विध्वंशका घटनाहरुको छानवीनगर्न गठन भएको कार्की आयोगको प्रतिवेदन अनुसार तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका बिरुद्धको कारवाही अत्यन्त शिघ्रतापूर्वक गरे । तर, जति छिटो ओली र लेखक बिरुद्ध कारवाही अघि बढ्यो त्यतिनै छिटो सडकमा त्यसको विरोध पनि शुरु भयो । स्वयं आयोगका अध्यक्षका बिरुद्ध कानुनविद् र राजनीतिक दलहरुले प्रश्न उठाउन थालेका छन ।

काठमाडौका मेयरका रुपमा ‘वान म्यान डिसिजन’को शैलिमा अभ्यस्त भएका प्रधानमन्त्री वालेनले आफू प्रधानमन्त्री बन्नु पहिले रास्वपा सभापति रवि लामिछानेसंग ‘तपाइ पार्टी चलाउनुस, म सरकार चलाउछु’ भनेको चर्चा देशब्यापि भएको थियो । ‘वान म्यान डिसिजन’ लोकतन्त्रको सर्वाधिक वाधक पक्ष हो ।

संसदमा प्रतिपक्षको भुमिका अत्यन्त कमजोर रहेको अवस्थामा वालेनको आचरणले उनलाई अधिनायकवादतिर घचेटने सम्भावना छँदैछ । संसदमा प्रतिपक्ष कमजोर भएपनि उनले संसदको गरिमा र महत्व बुझनु उनको हितमा हुनेछ ।

प्रधानमन्त्री बालेनलाई कामगर्न कति सहज ?

सदनमा प्रतिपक्षको न्यून उपस्थिति सरकारका लागि कामगर्ने सहज र सुविधायुक्त अवस्था हो । यो हिसावले प्रधानमन्त्री वालेनलाई कतैबाट विघ्नवाधापर्ने देखिदैन । उनले आफनो शीप र क्षमताको उपयोग गरेर सदनमा उपस्थित राजनीतिक दलका सांसदहरुसंग सौहार्द्रपूर्ण वातावरण वनाउन सकेभने उनका लागि सुविधाजनक वातावरण तयार हुनसक्छ । अहिले नेकपा एमालेले प्रतिशोधको राजनीति भएको नारा लगाउँदै सडकमा उत्रिएको छ । भोलिका दिनमा अन्य दलहरु पनि क्रमशः सडकमा आउने वातवरण बन्न नदिनु नै वालेनको नेतृत्वको कुशलता हो । कदाचित अहिलेको सडक आन्दोलनमा क्रमश अन्यदलहरु पनि आउने वातावरण वन्यो भने सबै जनता प्रतिपक्षी बन्न सक्दछन । कुनैपनि सरकारका पक्षमा जन समर्थन स्थिर हुदैन । विश्व इतिहासमा जनता र सरकारका बीचको मतभेदले देश नै ध्वस्त भएका उदाहरण थुप्रैछन । नेपाली समाज सँधै परिवर्तनशील रहेकोछ । रास्वपा अहिले सत्ताको शिखरमा पुगेको छ भने त्यसको कारण यही हो ।

कुन पार्टीलाई कतिखेर जनताले विश्वास गर्दछन ? यसको भरोसा हुँदैन । सरकारले जनताका समस्याको समाधान कसरी गर्दछ त्यसैका आधारमा जनताले सरकारलाई समर्थन गर्दछन । जनताका समस्या धारा–पानी, पुल–पुलेसा, सडक–गल्लीको निर्माणमात्र होइन । आज जनताको आधारभूत आवश्यकता आर्थिक क्षेत्रमा ब्यापक सुधार हो ।

प्रधानमन्त्री बालेनलाई अहिले कसैबाट भय छ भने आफ्नै दल रास्वपाबाट छ । नेपालमा जति पनि दलहरुले आफ्नो नेतृत्वमा सरकार निर्माण गरेका छन ती सरकारहरुको अवसानको कारण आफनै दल बनेका छन । सरकारहरु आफ्नै दलको कारण भंग भएका छन । पार्टी सभापति स्वयं प्रधानमन्त्री रहदा समेत सरकार भंग भएका घटना छन् । पार्टीको आन्तरिक भागवण्डा र स्वार्थ बाझिदा यस्तो दुर्घटना हुने गरेको देखिएको छ ।

रास्वपाका पार्टी सभापति र प्रधानमन्त्री अलग अलग भूमिकामा छन । यो राम्रो अभ्यास हो । र पनि, अहिले रास्वपा पार्टी सभापति रहेका रवि लामिछाने पुर्व गृहमन्त्री समेत रहिसकेका हुन । उनलाई अहिलेको सरकारमा सम्मिलित मन्त्रीहरुको भन्दा अपेक्षाकृत बढी अनुभव छ । सरकार विफल गराउन प्रतिपक्षीहरुले अख्तियारगर्ने रणनीति राम्ररी बु्झेकाछन रविले । अहिले रवि सहकारी ठगीको मुद्दामा जेलिएकाछन । यही कारण रविको महत्वाकांक्षा खुम्चिएको हुनसक्छ । सरकारमाथि रविको दवाव नभएकाले पनि बालेनलाई अहिले सहज भएको होला । सहकारी ठगीको मुद्दामा अदालतबाट ‘क्लिन चिट’ पाए भने रविको महत्वाकांक्षा मध्यान्हको रवि जस्तै भएर चर्किएर आउन सक्छ । त्यतिखेर बालेन सरकारका लागि ओत लाग्ने ठाउ नपाउने अवस्थाको सिर्जना नहोस !