–बिशेष संवाददाता
कुनैपनि जीवित राजनीतिक पार्टीमा आन्तरिक विवाद र व्दन्व्द हुनु त्यति ठूलो बिषय मानिदैन । अहिले नेपाली कांग्रेसभित्र देखिएको विवाद पार्टीको जीवनमा नयाँ कुरा होइन । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दलका रुपमा कांग्रेसले अनेकौं झन्झावात र झण्झट बेहोरी सकेको छ । तर, कम्युनिष्ट पार्टीमा जस्तो हरेक नेताको नाम जोडेर नयाँ पार्टी खोल्ने चलन देखिएको छैन । कांग्रेसका नेताहरु रमाउने र रिसाउने दुबै काममा उत्तिकै कुशल देखिन्छन ।
बालेन्द्र साहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेपछि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सबै पार्टी स्तव्ध भएका छन । खासगरेर, पार्टीलाई विभाजनको किनारामा धकेलेर पार्टी र सरकारको नेतृत्वमा सहज ढंगले पुग्ने महत्वाकांक्षा राख्ने नेपाली कांग्रेसका नेता गगन थापाका लागि यो चुनाव दिवास्वप्न सावित भएकोछ । साविकको निर्वाचन क्षेत्र छाडेर आप्mनो लोकप्रियता सावितगर्न सर्लाही पुगेका गगन थापा रास्वपाका नेता अमरेशकुमार सिंहसंग पराजित भएका छन ।
नेपाली कांग्रेसका लागि आन्तरिक विवाद र व्दन्व्द नयाँ समस्या होइन । राजा महेन्द्रले संसदीय चुनावमा दुई तिहाइ भन्दा बढी मत ल्याएर विजयी भएको नेपाली कांग्रेसका नेता बीपी कोइरालाको सरकारलाई हटाएका थिए । राजा महेन्द्रको त्यो कदमका बिरुद्ध पार्टीका नेता तथा कार्यवाहक सभापति सुवर्ण शमशेरको नेतृत्वमा हिंसात्मक प्रतिरोध शुरु भएको थियो । सीमावर्ती भारतीय भूमिबाट शुरु भएको त्यो आन्दोलनमा कांग्रेसका सयौं नेता र कार्यकर्ता सहभागी थिए । बिभिन्न आन्तरिक र अन्तर्राष्ट्रिय कारणले त्यो आन्दोलन असफल भएको थियो । सुवर्ण शमशेरले बडो सूझबूझका साथ राजासंग सम्झौता गरेर पार्टीका कार्यकर्ताहरुलाई स्वदेश फर्किने वातावरण बनाउनु भएको थियो ।
अनेकौं दुःख र हण्डर बेहोरेर देश फर्किएका नेताहरु राजनीतिक हिसावले सक्रिय जीवन बिताउन चाहन्थे । निर्वासनबाट फर्किएका ३८ जना नेताहरुले आफनो समूह बनाए । ‘अठतीसे समूह’ भनेर चिनिने ती नेताहरु मध्ये केही पन्चायतमा समाहित भए । बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि पनि त्यस्ता समूह अस्तित्वमा थिए ।
पहिलो राष्ट्रिय जन–आन्दोलनको सफलतापछि पनि कांग्रेसका नेताहरुमा विभाजन देखियो । संसदमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा ३६ जना कांग्रेसी उभिएका थिए । यिनीहरुलाई छत्तिसे कांग्रेस भनिन्थ्यो भने कोइराला समर्थकलाई चौहत्तरे भनिन्थ्यो ।
कांग्रेसमा अहिले चर्किन खोजेको विवाद र व्दन्व्द अलि फरक खालको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खडकाले निर्वाचनको पूर्व सन्ध्यामा "पार्टीको नियमित पन्ध्रौं महाधिवेशन कि बिशेष महाधिवेशन ?" भन्ने विषय उठाइएकोले पार्टी विवादको भूमरीमा फसेको र त्यही कारणले निर्वाचनमा ऐतिहासिक क्षति बेहोर्नु परेको स्पष्ट पार्नु भएकोछ ।
निर्वाचनको मुखमा पार्टीभित्र भएको मत विभाजनले राम्रो संदेश नदिने भएकाले केन्द्रीय कार्य–सम्पादन समितिको वैठकले समस्याहरुको समाधानका लागि फागुन २१ का लागि तोकिएको निर्वाचन सम्पन्न भएपछि वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौमा पन्ध्रौ महाधिवेशन सम्पन्नगर्ने निर्णय गरेको थियो । त्यसका विपरित, महामन्त्रीव्दय गगन थापा र बिश्वप्रकाश शर्माले बिशेष अधिवेशनको आयोजना गरे । दुबै महामन्त्री, गगन थापा र बिश्वप्रकाश शर्माले बिशेष महाधिवेशनको मांगगर्दै कार्यकर्ताहरुको हस्ताक्षर संकलन गर्नलागे । यो कार्य नीतिसम्मत पनि थिएन र विधिसम्मत पनि थिएन । तर, निर्वाचन आयोगका सदस्यहरुको वहुमतले यसै ‘बिशेष महाधिवेशन’लाई स्वीकार गर्यो ।
निर्वाचन आयोगको निर्णय नेपाली कांग्रेसको बिधान, नेपालको संविधान र दल सम्बन्धी कानून विपरित भएकोले यसका बिरुद्ध दलका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले न्यायिक निरुपणका लागि सर्वोच्च अदालतमा रीट निवेदन दर्ता गरे । उक्त निवेदन अहिले सर्वोच्च अदालतमा बिचाराधीन रहेकोछ ।
यो सम्वन्धमा कार्यवाहक सभापति खडकाले भन्नु भएको छ : पार्टीको आधिकारिकतामा उठेको विवाद विचाराधीन अवस्थामा रहेको समयमा तथाकथित बिशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले कांग्रेसको पन्ध्रौ महाधिवेशनका लागि विधान वमोजिम गरिएको क्रियाशील सदस्यता नवीकरण र वितरणलाई सार्वजनिक भाषणबाट खारेज गरिएको घोषणाले पार्टीलाई आश्चर्य चकित र गम्भीर तुल्याएकोछ ।
उहाँले भन्नु भएकोछ : निर्दलीय निरंकुश पन्चायत ब्यबस्थाकालमा नेपाली कांग्रेस प्रतिबन्धित रहेको अवस्थामा ज्यान हत्केलामा राखेर लिएको पार्टीको सदस्यता कुनै नेताको महत्वाकांक्षा, आवेग, उत्तेजना र लहडका भरमा खारेजहुने विषय होइन । यो सदस्यता कुनै नेताको हारजीतसंग होइन, नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र शहीद परिवारको सम्मानसंग जोडिएको ऐतिहासिक ‘निस्सा’ हो ।
पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा बिचाराधीन रहेको बेला कुनै एकपक्षले महाधिवेशनको घोषणागर्नु वदनियतपूर्ण छ – कार्यवाहक सभापति खडकाले बताउनु भएकोछ । उहाँका अनुसार, पार्टीको पन्ध्रौं महाधिवेशन २०८३ बैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा सम्पन्न गरिने कार्यतालिका निश्चित भै सकेको अवस्थामा क्रियाशील सदस्यताको रडाको मच्चाउनु अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक छ ।
कार्यवाहक सभापति खडकाले जारीगर्नु भएको प्रेस बिज्ञप्तिमा यी मुख्य निष्कर्ष निकालिएकोछ :
पहिलो, नेपाली कांग्रेसको क्रियाशील सदस्यता ब्यक्तिको पार्टी आवद्धताको प्रमाणपत्र मात्रै नभएर पार्टीको ऐतिहासिक जीवनसंग जोडिएको योगदान र निरन्तरताको निस्सा हो ।
दोस्रो, पार्टी महाधिवेशनले वैधानिक ब्यबस्था गरेमा वाहेक सदस्यहरुको क्रियाशील सदस्यता कसैले पनि खारेजगर्न सक्दैन ।
तेस्रो, पार्टीले निर्धारित गरेको कार्यतालिकाले दिएको अवधिभित्र नवीकरणगर्न छुटेका सदस्यहरुको हकमा थप सुविधादिनु स्वाभाविक हुन्छ ।
कार्यतालिकाको हिसावले २०८३ बैशाख २८ देखि ३१ गतेसम्म सम्पन्नहुने पन्ध्रौ महाधिवेशन क्रियाशील भै सकेको छ ।