- ओम आचार्य
काठमाडौ महानगरको मेयरको चुनावमा उनी स्वतन्त्र उम्मेदवार थिए । उनको चुनाव चिन्ह थियो लौरो । उनी मेयरको पदमा निर्वाचित भए : निर्दलीय मेयर ।
यो पटक बालेन संघीय संसदमा झापाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बने । त्यो पनि झापा – ५ बाट । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रतिस्पद्र्धीका रुपमा । झापाका मतदाताले रास्वपाको घण्टी बजाए । ओली पराजित भए । ओलीलाई ‘अपराजेय’ मान्नेहरु मूच्र्छित भए ।
देशभर घण्टीको पक्षमा आएको निर्वाचन परिणाम अकल्पनीय थियो । रवि लामिछानेले संस्थापन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको निर्वाचन परिणामले सबैलाई आश्चर्यमा पा¥यो । विगतमा कांग्रेस, एमाले र माओवादी दलभित्र राजनीतिक पहिचान बनाएका नेताहरुको निर्वाचनमा लज्जाजनक पराजय भयो । कति उम्मेदवारको त धरौटी समेत जफत भयो । तर, यी सबै घटनाक्रम राजनीतिक दलसंग जोडिएको थिएन । दलभित्र रजगज गरेर बसेका अकर्मण्य नेताहरुप्रति वितृष्णाको अभिब्यक्ति थियो ।
आकर्षण बालेनको !
निर्वाचनमा होमिदैगर्दा रास्वपाले बालेनलाइ पार्टीका वरिष्ठ नेता र आफ्नो दलको प्रधानमन्त्रीको रुपमा प्रस्तुत ग¥यो । रास्वपाले बालेनको आकर्षण र लोकप्रियता स्वीकारमात्र गरेन आत्मसात पनि ग¥यो ।
फागुन २१ को निर्वाचनदेखि नै रास्वपा अध्यक्ष ओझलमा पर्दै गएका हुन र “बालेन बालेन” को चर्चा चुलिदै गएको हो । जनतामा बालेनको आकर्षण देखियो । उनको नाम प्रधानमन्त्रीमा प्रस्तुत गरेसंगै रास्वपाको चुनाव चिन्ह घण्टी बज्न थाल्यो ।
कार्यकारी प्रधानमन्त्रीको अभ्यास र शैली
फागुन २१ को निर्वाचनपछि नेपालमा कार्यकारी प्रधानमन्त्रीको अभ्यास र शैली स्थापितहुन थालेको देखियो । बर्तमान संविधानमा कार्यकारी प्रधानमन्त्रीको व्यवस्था छैन । केही दलमा कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर संविधान संशोधनको कुरा समेत उठेका थिए । फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेसले गगन र रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेका हुन ।
रास्वपाबाट प्रधानमन्त्री
बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुतगर्दा रास्वपाभित्र बालेनप्रतिको विचार सर्वसम्मत नभएपनि उनलाई मत दिनु वाध्यकारी अवस्था देखिन्छ । प्रधानमन्त्री नियुक्त भएपछि बालेन साहको कार्यशैली कार्यकारी प्रधानमन्त्री अनुकूल देखिएकोछ ।
प्रधानमन्त्रीका रुपमा बालेन साहको अहिलेसम्मको कार्यशैलीहेर्दा काठमाडौका मेयरका रुपमा तत्काल निर्णयगर्ने अभ्यासमा हुर्केका उनले आफनो शैली छाडेका छैनन । अहिले बालेन साह नेतृत्वको सरकार उनको पूर्ण कमानमा रहेको देखिन्छ । के प्रधानमन्त्री बालेन साह रास्वपा हाइकमाण्डको अधीनमा छन ? त्यस्तो देखिदैन । रास्वपाका प्रभावशाली भनिने नेताहरु छायाँमा पर्दै गएको देखिन्छ । प्रधानमन्त्रीको व्यक्तित्व रास्वपाका नेताहरुमाथि हावी भएको अनुभव राजनीतिक बिश्लेषकहरुले गरेकाछन । प्रधानमन्त्रीको शैली देखेर उहाँमा अलिकति अधिनायकवादी प्रवृत्ति रहेको देखिन्छ ।
रास्वपामा मात्र होइन, अन्य राजनीतिक दलका नेताहरु पनि प्रधानमन्त्रीको मौनता देखेर छक्क परेकाछन ।
धेरै नबोल्ने प्रधानमन्त्री बालेनको ‘लेन’ कुन हो ?
प्रधानमन्त्री बालेन साहले आफनोे लेनको विषयमा केही संकेत गरेको पाइन्छ । उहाँले आफनो १०० दिनको कार्यसूचीको बटमलाइन प्रस्तुतगर्नु भएकोछ । जेनजी आन्दोलनको माग बमोजिम सरकार हाक्ने उहाँको इरादा देखिन्छ ।
यसका लागि प्रधानमन्त्री बालेन साहले अन्य राजनीतिक दलहरुको मन र भावना जित्न सक्नु पर्छ । उहाँले निर्वाचनताका अन्य दलहरुले व्यक्तगरेका घोषणापत्रका प्रतिवद्धतालाई समेत ग्रहण गरेर अगाडी बढ्नु हितकर हुनेछ ।
प्रधानमन्त्री बालेनले जेनजी आन्दोलनमा शहीद भएकाहरुलाई विर्सनु हुदैन । उनीहरुको माग र भावनालाई आत्मसात गर्नुपर्छ । प्रधानमन्त्री बालेनले अवको ‘लेन’ स्पष्ट गर्नु पर्छ । जेनजी आन्दोलनको जगमा बनेको सरकारले तन्नेरी पुस्ताका मागलाई परिणाममुखी नतिजा दिनु पर्दछ ।