महिलालाई अधिकार दिने सम्बन्धमा २०१७ साल साउन ७ गते महासभा, जसलाई अहिले राष्ट्रियसभा भनिन्छ, मा एउटा विधेयक पेश भएको थियो । विधेयकमाथि छलफल चलिरहदा संसद अधिवेशन अन्त्य भयो । अर्को अधिवेशनमा त्यो विधेयकमाथि छलफल गरी पास गर्ने भनिएको थियो । तर, संसदको अर्को अधिवेशन बोलाउनु अघि नै २०१७ साल पुष १ गते राजा महेन्द्रले संसद भंग गरिदिए । त्यही साउन ७ गते भएको महासभाको बैठकमा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले महिला अधिकारको संदर्भमा दिनुभएको अभिव्यक्ति :
माननीय अध्यक्षज्यू,
अहिले सभामा छलफल भइरहेको विषयमा केही विचार व्यक्तगर्न म पनि उभिएको छु । मेरो व्यक्तिगत विचारमा स्त्री–पुरुषको सम्बन्धलाई नियन्त्रणमा राख्ने उपायको प्रश्न अहिले आएको छ । विवाह, पारपाचुके तथा विवाहसम्बन्धी सबै व्यवस्थाहरुको मुख्य लक्ष्य यस सम्बन्धलाई कसरी नियमित र नियन्त्रणमा राख्ने भन्ने नै हो । हामीले त्यस दृष्टिबाट विचार गर्नुपर्छ । यसलाई सामाजिक र जैविक दुवै दृष्टिबाट विचार गर्नुपर्छ । सामान्य जैविक नियमबाट स्त्री र पुरुषको सम्बन्धलाई रोक्न प्रयत्न गर्नका निमित्त सामाजिक व्यवस्थालाई कुन आधारमा दिने भन्ने विषयमा म केवल एउटा दार्शनिक दृष्टिकोण मात्र अगाडि राख्दछु । किनभने यहाँ यस विषयमा व्यवहारिक दृष्टिकोणबाट त धेरै छलफल भइसकेकोछ । अहिले भर्खरै एकजना माननीय महासभासदले स्त्री–पुरुषको सम्बन्धलाई एउटा मधुर सम्बन्ध भन्नुभयो । मलाइ त्यो सम्बन्ध मधुर छ जस्तो लागेन । मलाई स्त्री–पुरुषको सम्बन्ध जंगली जनावरको जस्तो नंग्रा र दाँतले चिर्थोने र टोक्ने सम्बन्ध छ जस्तो लाग्छ । स्त्री र पुरुषको सम्बन्धलाई कसैले जैविक कारणले गर्दा भ्रममा परेर, कसैले भर्खर विवाह गरेका कारण भावनामा आएर मधुर सम्बन्ध हो भन्नु मलाई वैज्ञानिक विचारजस्तो लागेन । मानवजातिको जीवनको इतिहास अध्ययन गर्यौ भने लोग्नेमानिस र स्वास्नीमानिसबीच एउटा ठूलो जैविक व्दन्व्द पाउँछौ । दार्शनिक दृष्टिबाट जीवनलाई विचार गर्दा त्यसमा यो व्दन्व्द निहित भएको देख्छौं । मानिसको जब सृष्टि भयो होला, र त्यसपछि अहिलेसम्म, मानिसको उन्नति हुँदै आएको छ । त्यो उन्नति एउटा साधारण वा सजिलैसँग प्रवाहित भएको विकास होइन । यसमा ठूला–ठूला संघर्षहरु भए । आर्थिक संघर्ष त छदै थियो, अरुअरु संघर्ष पनि भए । स्त्री र पुरुषबीचमा त्यो संघर्ष किन भयो त ? त्यतापट्टि पनि विचार गर्नुपर्छ ।
मैले यो कुरा मेरो व्यक्तिगत भावना विरुद्ध बोल्नु परिरहेको छ । ऐतिहासिक दृष्टिबाट देखिने क्रूर सत्य बताउन मैले आफनो हृदयको भावना दबाउनुपरेको छ । हाम्रो नजरको सामुन्नेपर्ने व्दन्व्द छदैछ । तर, परिवार वा युवक–युवतीबीच व्दन्व्द हुनुको कारण के हो ? यसमा मलाई लाग्छ, यो समाजमा एउटा निर्धारित शक्ति छ । अरु कसैलाई सम्झाउनु पर्यो भने त्यसलाई जीवनशक्ति भन्दा हुन्छ । माननीय महासभासद्लाई सम्झाउन दैवीशक्ति भनौं । तर, एउटा शक्ति छ जसले सबै कुरा जान्दछ, जो अजर–अमर छ, कालदर्शी छ, न त्यसको शुरु छ, न अन्त छ । त्यसले मानिसलाई देवता बनाउन कोसिस गर्छ । त्यसलाई कसैले जान्न सक्तैन, त्यसले गरेको कुराबाट सृष्टि चल्दछ, त्यो त्यही शक्ति हो ।
अहिले हामी देवताको श्रेणीमा पुग्न सफल भएका छैनौ । तर, कुनै हदसम्म पुग्ने पनि गरेका छौं । हामी विज्ञानव्दारा प्राकृतिक बन्धनमाथि जतिजति विजय प्राप्त गर्दै जान्छौं, उतिउति देवतालाई एउटा कुनाबाट निकाल्दै अर्को कुनामा पन्छाउदै जान्छौं । हामी यसरी देवत्व प्राप्तगर्दै जान्छौं । पहिले कुनै रोग लाग्यो भने मन्दिरमा गएर पूजा गर्दथ्यौं, अब रोगको कारण थाहा भइसकेको हुनाले थाइसिसका रोगमा शीतलामाईको पूजागर्न छाडेका छौं । अव कारण थाह भै सकेको हुनाले हामी त्यस हदसम्म देवत्व प्राप्तगर्न थालेका छौं । अब महादेवको पुकार गर्न छाड्दै आएका छौं । त्यसो हुनाले मानिस अब प्रकृतिको नियमबाट फुत्कंदै गएको छ । अहिले रफ्तारमा विज्ञानको उन्नति हुदैछ, त्यसमा बीचमा केही बाधा परेन भने हामीले चाडै देवत्व प्राप्त गर्न सक्नेछौं । मानिस जीवविकासमा एउटा खुडकिलो मात्र हो । त्यो त्रिकालदर्शी शक्तिले चाहेको कुरा तल्लो तहका जीवहरुबाट हुन नसक्ने हुँदा उसले मानिस बनायो । तर, मानिसलाई पनि अलिकति खाना पुगेन, हेर–विचार पुगेन भने नाना किसिमको रोग लाग्छ । अठार वर्ष नपुगी बुद्धि पनि आउँदैन । त्यसमा जीवनशक्तिले बिस्तारै–बिस्तारै सुधार ल्याउन खोज्यो । जीवनशक्तिले दुईवटा काम गर्न दिएको छ । लोग्नेमानिसको हातमा सभ्यता बनाउने काम दिइएको छ र स्वास्नीमानिसको हातमा सभ्यता बनाउने ‘बस्तु बनाउने’ काम सुम्पेको छ । मैले यो कुरा हीनताको भावनाले स्त्रीजातिलाई भनेको होइन । लोग्नेमानिसले स्वास्नीमानिसलाई बराबर क्षेत्र बाँडिरहेको छ । अतः कच्चा पदार्थ समाप्त नहोस् र प्रयोग गरिरहन पाओस् भनेर नै जैविक आवश्यकता दिएको छ – आमा बनोस् भनेर । यस दृष्टिकोणबाट हेर्ने हो भने आमा बन्नुबाहेक स्वास्नीमानिसको अरु आवश्यकता छैन । जैविक काम भएन भने काम गरिरहेको मेसिन हठात् बन्द भएजस्तै मानव विकास नै खतम भएर जान्छ । यस दृष्टिबाट हेर्यौ भने लोग्नेमानिसको अझ प्रगतितिर लम्कौं, विकास गरौं, कलाकार बनौं, वैज्ञानिक बनौं, दैवीशक्ति प्राप्त गरौं भन्ने एउटै मात्र ध्येय छ, एउटै मात्र जिम्मेवारी छ । स्वास्नीमानिसको काम घरहेर्नु, आफूले जन्माएका छोराछोरीको हेरविचार गर्नु हो । त्यसकारण यस किसिमले व्दन्व्दको रुप प्रकट हुन्छ । स्वास्नीमानिस लोग्नेमानिसतिर आकर्षित हुन्छन । म यो कुरा पनि व्यक्तिगत जीवनविरुद्ध गर्दैछु । स्वस्नीमानिसहरु लोग्नेमानिसलाई फँसाएर आफ्नो काम पूरा गर्न चाहन्छन । लोग्नेको उन्नतिको चाहना गर्दछन । दुलहाले सपना देख्छ । म यो इन्द्रधनुषको रंगलाई क्यानभासमा उतार्न चाहन्छु भन्छ । तर, त्यसैबेला आफनो छोरालाई उठाएर दुलहीले बाधा पुर्याउछे । अतः स्त्री र पुरुषबीच ठूलो व्दन्व्द रहन्छ भनेको हँु । लोग्नेमानिस स्वास्नीमानिसको सौन्दर्य देखेर मोहित हुन्छ, कविहरु यस्तो भन्ने गर्दछन । तर, स्वास्नीमानिसले लोग्नेमानिसलाई त्यसरी फसाउने काम गर्दछे, जसरी कुनै जनावर अजिंगरको सुन्दरतामा आकर्षित भएर नजिक जान्छ, उभिन्छ । तर, त्यो जनावर अजिंगरको सुन्दरताको विभ्रम भएर निलिन्छ । स्त्री–पुरुषको कुरा पनि त्यस्तै हो । त्यसकारण, यसलाई कुनै सामाजिक नियमबाट बाँधेर राख्नु, मधुर भनेर भन्नु साँचो दृष्टिकोण होइन । यी दुई विरोधी तत्वलाई संतुलनमा राख्ने भन्ने विचार छाडौं । यो त अमेरिका र रुसको सह–अस्तित्व जस्तै हो ।
जीवनको विकासको क्रममा सुरुमा हाड नभएका जीवहरु सृष्टि भए । तिनीहरुको विकास हुँदै आएको हो । अब त स्वास्नीमानिसमा फँसेर गयो भनेर अर्कै किसिमको प्राणी सृष्टि गर्ने हो कि ? स्त्री बन्धनमा पर्ने भयो भनेर हामीलाई नै जीवशक्तिले छाडिदिने हो कि ? सामाजिक दृष्टिबाट विचारगर्दा आर्य संस्कृतिमा विवाहको नानारुप पाउछौं । कुन्ती आफनो दुलाहा छँदाछँदै अरु लोग्नेमानिससँग सम्बन्ध राखेर पनि प्रतिष्ठावती भएकी छन । त्यस्तै द्रौपदीले पाँचवटा पति राखेर हाम्रो आर्य संस्कृतिअनुसार पूज्य भएर बसेकी छन । तारा, अहिल्या र यशोधरा पनि पंचकन्यामा गनिएकै छन । उनीहरुमध्ये कोही पनि पतिव्रता नारी होइनन । यो पनि आर्य संस्कृति नै हो । त्यसै हुनाले हिजो ग्रहण गरेकोलाई मात्र आर्यसंस्कृति भन्नु हुदैन । आर्य संस्कृतिको सबैभन्दा ठूलो महत्व के हो भने यसमा सामाजिक परिवर्तनको साथ नयाँ तत्व ग्रहण गर्ने क्षमता छ । हामीमा नयाँ तत्वलाई ग्रहणगर्ने शक्ति भएन भने त्यो जाति नै लोप भएर जाने सम्भावना रहन्छ । पहिले हामी खेती गर्ने काम सिकेर एक ठाउँमा बसिसकेका थिएनौं । त्यसबेला मानिस घुमन्ते रुपमा बस्थ्यो । त्यहाँ दुलाहा–दुलही भन्ने थिएन । कसको छोरा भनेर सोद्धा आमाको मात्र भन्ने हुन्थ्यो । यसरी आमाको नाममा समाज बन्दै गयो । सामाजिक नियमभन्दा जैविक शक्ति बलियो थियो । एउटै आमाको रगतबाट जन्मेका बीच मात्र विवाह हुने नियम प्रारम्भ भयो । मातृसत्तात्मक जातिमा अझै पनि त्यस्तै नियम छ । त्यसैले सामाजिक नियम आमामाथि नै आधारित छ । मानिस गाउँमा बस्न थालेपछि व्यक्तिगत सम्पत्ति भन्ने कुरा आयो । अनि मानिसको घुमन्ते झुण्ड पनि टुट्यो । पहिले कबिलाको सम्पत्ति हुन्थ्यो भने अब व्यक्तिगत सम्पत्ति भयो, यस्तो ठूलो परिवर्तन भयो । अब दुलाहाको आवश्यक पर्यो । सामाजिक सम्पत्तिको ठाउँमा व्यक्तिगत सम्पत्ति हुँदै गएपछि यो कसको छोरो भन्ने प्रश्न उठ्दा त्यसमा दुलाहा पनि सामेल हुन आयो । त्यसपछि म बाँचुन्जेल मेरो सम्पत्ति मैले मात्र भोगगर्न पाउने र म मरेपछि मेरो व्यक्तिगत सम्पत्ति मेरो छोराले मात्र पाउने भन्ने भयो । अनि स्वास्नीलाई स्वतन्त्रता दिएपछि उसबाट जन्मेका सबै छोरालाई आफनो छोरा भन्नपर्ने हुनाले स्वास्नीलाई पतिब्रता बनाउनु आवश्यक पर्यो ।
मध्यकालीन युगमा परपुरुषको मुख हेर्न नहुने भनेर बुर्का, पर्दा, घुम्टो र सूर्यको मुखसमेत नहेरेकी कन्या पवित्र मानिने विचारको उदय भयो । सम्पत्ति र स्वास्नीमाथि लोग्नेको व्यक्तिगत अधिकार बढ्दै गएपछि स्वास्नीले पोइल जानुलाई ठूलो बेइज्जत मानिन थाल्यो । किनभने, यसबाट व्यक्तिगत सम्पत्तिमा ठूलो कुठाराघात हुन्थ्यो । व्यक्तिगत सम्पत्तिको अधिकार रहुन्जेल यो रहिरहन्छ । यो मध्यकालीन विचार हो । संस्कृतमा यस सम्बन्धी साहित्य बनेको छ, शृंगार रस । विवाहलाई पुरानै किसिमबाट राख्ने हो वा जैविक दृष्टिकोणबाट पारपाचुकेगर्ने अधिकार दिंदा समाज ज्यादा मधुर हुन्छ वा पारपाचुकेगर्ने अधिकार नदिंदा समाज मधुर हुन्छ, त्यो निश्चयरुपले भन्न सकिंदैन भन्ने निष्कर्षमा पुगिन्छ । अहिलेको अमेरिकाको चलन र उनीहरुका पुर्खाको पालाको सम्बन्ध कुनचाहिं मधुर छ, निश्चितरुपले भन्न सकिंदैन । विवाहका सम्बन्धमा पारपाचुकेगर्ने स्वतन्त्रता पूर्ण रुपमा दिंदा सानोतिनो गडबडी हुनासाथ छाड्न पाउने भयो भने कसैले परिवारमा बाँधिएर रहनु र सन्तान हेर्नुपर्छ भन्नेजस्ता विवाहको लक्ष्य पनि खतम भएर जानेछन । अनि, विवाह एउटा क्षणिक मिलन अर्थात् प्रजातान्त्रिक मोर्चाजस्तै हुन जानेछ । त्यस किसिमको स्वतन्त्रता नदिएर अँठ्याएर राख्नु पनि ठीक होइन । यस विधेयकमा तीन–चार प्रकारको कोसिस गरिएको छ । यसबाट विवाहसम्बन्धि सबै समस्या समाधान हुन्छन भन्ने कुरा होइन । स्त्री र पुरुषबीच व्दन्व्द त त छँदैछ । हामीले अहिले चलनमा रहेको व्यवस्थाबाट केही पाठ सिकिसकेको हुनाले अर्को व्यवस्थाको खोजीको निम्ति एकजना महिला महासभासदबाट विधेयक आउनु राम्रो कुरा हो । वर्तमान व्यवस्थामा केही सुधार अउँछ कि भनेर यो विधेयक ल्याइएको छ । यो विधेयक अहिलेको आवश्यकता अनुभव गरेर ल्याइएको छ । यसमा सबैजनाको सर्मथन प्राप्तहोला भन्ने आशा गर्दछु ।
धन्यवाद ।
महासभा, ७ साउन २०१७
२२ जुलाई १९६०