विशेष अधिवेशनबाट चुनिएका सभापति थापा र कांग्रेसको मनस्थिति - रुपान्तरण
 २०८३ बैशाख १५, मंगलबार    

विशेष अधिवेशनबाट चुनिएका सभापति थापा र कांग्रेसको मनस्थिति


- ओम आचार्य

‘विशेष’ अधिवेशनबाट कांग्रेसका ‘सभापति’ वनेका गगन थापाले आफ्नो कार्यसमितिको वैधानिकतामा ‘कुनै द्विविधा नराखी’ निश्चिन्त भएर कार्यसंचालन गर्दै आएका छन । थापाको नेतृत्वले पार्टीको महाधिवेशन गर्नेदेखि क्रियाशील सदस्यका सम्बन्धमा पनि निर्णय गरिसकेको छ । अझ, कोशी प्रदेशमा त प्रतिनिधि–सभा निर्वाचनको समीक्षा वैठक सम्पन्न गरिसकेको छ भने, अन्य प्रदेशमा पनि गर्दै जाने भएको छ । क्रियाशील सदस्यलाई अध्यावधिकगर्न सबै जिल्लामा जरा अभियानको लागि प्रतिनिधि समेत खटाइ सकेको छ ।

निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरिसकेपछि काग्रेसलाई चलायमान वनाइराख्न अदालतको निर्णय आउनु भन्दा अगाडि देखि नै कुनै विलम्व नगरी, कुनै संशय नराखी, सभापतिले कार्यसमितिलाई सक्रिय गराउदै आउनुु भएको छ ।
जेनजी आन्दोलनका समयमा पार्टीको केन्द्रीय कार्यालय भवनमा भएको आगलागीमा परेका भौतिक संरचनाको मर्मत–सम्भार गरेर पुर्वावस्थामा पु¥याइएकोछ ।

पार्टीको दैनिक प्रशासन कार्यमा वर्तमान कार्यसमिति निकै गम्भीर देखिन्छ । तर, भौतिक संरचनाको मर्मत–सम्भार र दैनिक प्रशासनिक काम सुचारु गराएरमात्र पार्टीले आफ्नो गुमेको वर्चस्वलाई कायम राख्न सक्दैन । अहिलेको अवस्थामा दैनिक प्रशाशनिक कामले मात्र पार्टीको प्रतिष्ठा धान्न सक्दैन । यस्ता कामगर्न पार्टीका कर्मचारीहरु योग्य छन । यसका लागि सभापतिजीले टाउको दुखाउनै पर्दैन । पार्टी नेतृत्वको काम त अन्य राजनीतिक दलका नेताहरुसंग समन्वयगरी सशक्त प्रतिपक्षको भूमिका अवलम्बनगर्नु जरुरी छ । तर, यी पंक्तिहरु लेखिदासम्म कांग्रेसले संसदीय दलको नेतासम्म चयनगर्न सकेको छैन ।

सभापति गगन थापाको नेतृत्वको कार्य समितिभित्र कांग्रेसका सिनियर र पार्टी संचालन गर्नसक्ने अनुभवी नेताहरुको ठूलो हिस्सा बाहिरै रहेकोछ । संस्थापन–इतर भनेर चिनिने पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खडका, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, डा.शशांक कोइराला लगायत धेरै नेताले वर्तमान सभापति गगन थापाको पदाधिकारीका रुपमा बस्न असहमति जनाउदै नियमित महा–अधिवेशनका लागि आयोजक समिति वनाउनुपर्ने विचार प्रकट गरि सक्नु भएकोछ ।

पार्टीमा लामो योगदान दिएका नेताहरु पार्टीभित्रको अन्तरकलह मिलाउने रणनीतिको खोजीमा लागेकाछन । कांग्रेसमा आन्तरिक एकताका लागि सँधै संघर्षगर्दै आएका नेताहरु नाममात्रका नेता होइनन । प्रजातन्त्र तथा लोकतन्त्रप्राप्तिको लामो अभियानमा उनीहरुको संर्घष अविस्मरणीय रहेकोछ । कांग्रेसको इतिहासमा उनीहरुको नाम स्वर्णाक्षरमा अंकित भै सकेकोछ । त्यो इतिहासलाई मार्ने वा अवरोधगर्ने काम अहिलेको कार्यसमितिले ग¥यो भने त्यसले पार्टीको अस्तित्वमाथि प्रहार गरेको सन्देश प्रवाह गर्नेछ । यो कुरामा सभापति लगायत अन्य नेताहरु वढी सचेत र संयमित हुनुपर्छ । देशका सामान्य जनताको मनमा ती नेताहरुप्रतिको बिश्वास गहिरोछ । कांग्रेसमा पुस्तान्तरण हुनुपर्दछ । तर, त्यो भन्दा पहिला पार्टीमा समयानुकुल सुधारका माध्यमले रुपान्तरण प्रक्रिया अगाडि बढाउनु पर्दछ ।

तत्कालीन केन्द्रिय समितिको विमति रहँदा रहँदै ‘विशेष अधिवेशन’बाट सभापति बन्नु भएका गगन थापाका लागि पार्टी संचालनगर्नु कठिन र कष्टप्रद छ । अहिलेको केन्द्रिय समिति पार्टी भित्रको ठुलै विवाद र कष्टकारी प्रसवबाट जन्मेको हुदा त्यस्तो जन्म सर्वस्वीकार्य हुन सक्दैन । कांग्रेसको लोकतान्त्रिक समाजवादको सिद्धान्तमा बिश्वासराख्ने सबै कांग्रेसजनप्रति समभाव, सम्मान र स्नेह नराख्ने नेतृत्व जतिसुकै प्रभावशाली भएपनि कांगे्रसको नेतृत्वमा टिक्न सक्दैन । थापाले पार्टीभित्र संस्थापन ‘इतर’ र ‘भितर’ को समूहगत राजनीति गरेभने उनको भविष्य संदिग्ध बन्नेछ ।

विराटनगरमा भएको कोशी प्रदेशको समीक्षा वैठकमा सभापति गगन थापा आउदा कांग्रेसीहरुले धाम र प्रेरणाको श्रोत मान्दै आएको कोइराला निवासमा गगन थापा पुगेनन । यसलाई धेरै बिराटनगरवासीले रुचाएनन । यो कांग्रेसको संस्कार होइन । नेपालमा राजनीतिक जागरणतर्फको प्रस्थान विन्दू थियो कोइराला निवास । सभापतिको यस्तो क्रियाकलापले कांग्रेस भित्र अहिले भएकोे द्वन्द घट्ने हैन बढन सक्छ । सभापति गगन थापाले ‘अहिले त्यो निवासमा को छ ?’ भनेर सोध्नुभन्दा कोइराला निवास भित्र पसेर अवलोकन गर्नु पर्थ्यो । निवासको गरिमा, महत्व र ऐतिहासिकतालाई अहिले सम्म कांग्रेसले मात्र होइन, गैर कांग्रेसहरुले समेत मानेको कुरा स्मृतिमा राख्नु पथ्र्यो ।

संस्थापन इतरले वैशाख १५/१६ गते संस्थापन इतर समूहका जिल्ला सभापतिहरु र चौंधौ महाअधिवेशनका पदाधिकारीहरुको भेला वोलाएको मात्र छैन, त्यतिखेर आवश्यकपरे कठोर निर्णय लिने समेत जनाएको छ । अर्को तर्फ डा.शेखर कोइरालाले पनि विशाल नगरस्थित सम्पर्क कार्यालयमा वुद्धिजीवीहरुको भिन्दै भेला डाकेका थिए । यसैगरी पूर्णबहादुर खडका र डा.शेखर कोइराला दुबैले कांग्रेस संसदीय दलको नेता अहिलेसम्म चयन हुन नसकेकोमा चिन्ता व्यक्तगर्दै तुरुन्त दलको नेता चुन्न गगन थापालाई सचेत गराएका छन ।