- रुपान्तरण टिप्पणी
‘सदर’ टुँडिखेलको मध्यविन्दूमा रहेको सैनिक मन्चमा आयोजनाहुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने छैनन । उनले राष्ट्रपति रामचन्द्र पौडेलसंग त्यो समारोहलाई संवोधनगर्न ‘अनुरोध’ गरेको समाचार आएकोछ । फागुन २१ मा भएको निर्वाचनको परिणाम स्वरुप ‘झण्डै’ दुइतिहाई मतले बनेको वर्तमान सरकार प्रधानमन्त्री बालेनको आफनै कमाइ हो । यो कमाइका लागि उनले निकै ‘दौडधूप’ गरेका छन । यस्तो लाग्दछ : देशको रक्षा कि त राजाले गर्छन, कि सेनाले गर्दछ भन्ने मान्यताबाट बालेन प्रेरित छन । ‘प्राविधिक’ आवश्यकताले मात्र उनी राष्ट्रिय स्वतन्त्र पार्टीसंग बरिष्ठ नेताका रुपमा जोडिएका हुन । उनको सरकारले छोटो समयमा गरेका सहकारीसंग सम्बन्धित आर्थिक निर्णयहरुबाट यो कुरा छर्लंग हुन्छ ।
प्रधानमन्त्री बालेनका समर्थकहरुका अनुसार बालेनमा देशको शासन ब्यबस्थामा आमूल परिवर्तन ल्याउने हुट्हुटी छ । देश दुनियाँ बुझेका, विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुमा काम गरेर अनुभव कमाएका तन्नेरी अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बालेनले आफनो अर्थमन्त्री बनाएर उनको हातमा देशको ढुकुटीको साँचो सुम्पिएकाछन । अतीतमा नेपाली कांग्रेसले देशको सेवागर्ने स्वर्णिमको भावनाको कदरगर्दै उनलाई योजना आयोगको जिम्मेवारी सुम्पिएको थियो । स्वर्णिमले के गरे र कति गरे ? यसको लेखाजोखा कांग्रेसले नै गरेको होला । पछिल्लो समयमा स्वर्णिम कांग्रेसमा टिक्न सकेनन । किन सकेनन ? त्यो अरुले थाह पाउने बिषय होइन, स्वर्णिम आफैले अनुभूत गर्ने कुरा हो ।
प्रधानमन्त्री बालेनले प्रारम्भ गरेका सुधारका एजेन्डाहरु न नवीन देखिएका छन, न गणतान्त्रिक संस्कृति अनुरुप नै । आफनो नेतृत्वको सरकारलाई ‘चुस्त–दुरुस्त’ बनाउने क्रममा उनी राष्ट्रिय–अन्तर्राष्ट्रिय ‘प्रोटोकल’ सुधार्दैछन । औपचारिक वा अनौपचारिक हिसावले नेपाल भ्रमणमा आएका विभिन्न देशका प्रतिनिधिहरुसंग उनी भेटदैनन । छिमेकी देशहरुसंग न्यूनतम सम्बन्धराख्ने कूटनीति व्यवहार समेत उनले देखाएका छैनन । आफना लागि आफै ‘प्रोटोकल’ तय गर्ने बालेनका ब्यबहारबाट रास्वपा अध्यक्ष पक्कैपनि क्षुब्ध होलान । उनी यो गर्मीको मौसममा भारतीय जनता पार्टीको निम्तोमा दिल्ली जानुको तात्पर्य सामाजिक सन्जालमा ब्यापक भै सकेकोछ । आफनो नेतृत्वमा रहेका सरकारका उच्च पदाधिकारीप्रति बालेनको खासै बिश्वास देखिदैन । उनको नजर सँधै कालो चश्माको संरक्षणमा हुन्छ । आफनो आँखा सँधै कालो चश्माले छोप्ने मानिसले सप्तरंगी संसारका वास्तविकताहरु बुझन सक्दैन ।
राष्ट्रपति रामचन्द्र पौडेल संसदमा सरकारका नीति र कार्यक्रम वाचनगरि रहनु भएको समयमा सरकारका नेता बालेन बीचैमा सदनबाट बाहिरिए । उनले यसलाई आफनो शौर्य सोचेका होलान । तर, यो घटनाले उनमा रहेको ‘हीन’ ग्रन्थीलाई सबैको सामु ल्याइदियो । हरेक शासकले शासकीय मर्यादाको पालनागर्नु पर्दछ । यस्तो व्यवहारले निरन्तरता पायो भने सरकारमा रहेका सहयोगीहरुले भोली प्रधानमन्त्रीकै मर्यादा उल्लंघनगर्ने परिस्थिति सिर्जना हुनेछ । जे होस्, यो घटनाले बालेनमा रहेको चारित्रिक विचलनको प्रवृत्तिलाई उदांगो पारेकोछ ।
मानिस जतिसुकै ठूलो ओहोदामा पुगेपनि जबसम्म उ आपूmमा रहेको हीनग्रन्थीबाट ग्रस्त रहन्छ तवसम्म आफनै गीत आफै गाउँछ । उ आफनै स्वरमा मनमनै रमाउँदै भन्छ : ‘अहो गर्व महोध्वनि !’