–रुपान्तरण बिशेष
‘भारतले नेपालको सीमा मिचेकोछ र नेपालले पनि भारतको सीमा मिचेकोछ’ नेपालको संसदमा प्रधानमन्त्री वालेन्द्र साहको यो भनाइले राजनीतिमा एकप्रकारको तरंग ल्याएकोछ । प्रतिक्रियामा राष्ट्रिय सभाका सांसद तथा मधेशका कद्दावर नेता महन्थ ठाकुरले भन्नु भएकोछ : प्रधानमन्त्रीले गलत शव्दावलीको प्रयोगगर्नु भएकोछ । नेपाल र भारतको सीमानाको यता र उता बस्ने नागरिकहरुको जग्गा–जमीन नेपाल र भारत दुबैतिर बाँडिएकोछ । दुबैतिरको भूमिमा यता र उताका मानिसहरुको भोगचलन छ । लामो समयदेखि यसरी नै ब्यबहार चलिरहेकोछ । यसलाई अस्वाभाविक मानिएको छैन । सीमानाका बस्तीहरुमा सह–अस्तित्व र मानवीय सम्बन्ध स्वाभाविक हुन्छ । दक्षिणवर्ती भारतका वस्तीसंग मात्र होइन, उत्तरवर्ती चीनसंग जोडिएका बस्तीहरुसंग पनि नेपालीको सह अस्तित्व र मानवीय सम्बन्ध जोडिएको छ ।
नेपाल र भारत दुबैले एकअर्काको सीमा अतिक्रमण गरेको प्रधानमन्त्रीको बक्तब्यपछि अहिले नेपालका सचेत नागरिकहरु झस्किएकाछन भने त्यो अस्वाभाविक होइन ।
महन्थ ठाकुरको विचारमा, नेपाललाई हेर्ने भारतको दृष्टिकोण अहिले पनि अंग्रेजकै जमानाको छ । हामी जस्तो साना देशहरुलाई सँधै षडयन्त्रको केन्द्र बनाउने चलन छ संसारमा । यो चलनमा परिवर्तन ल्याउन सबै राजनीतिक दलहरुको सदाशयता आवश्यक पर्दछ । अहिलेको मुख्य आवश्यकता नागरिकहरुलाई भयको वातावरणबाट मुक्त गराउनु हो । यो मामिलामा कुनैपनि दलले अथवा ब्यक्तिले एक्लै केहीगर्न सक्दैन । यसका लागि सामूहिक प्रयत्न हुनु पर्दछ ।
जनता कष्टमा छन । अहिले देशको शासनमा तानाशाही प्रवृत्ति देखापर्न थालेकोछ र जनताको अधिकार खोसिने डर बढन थालेकोछ । लोकतान्त्रिक राज्यव्यवस्थामा तानाशाही प्रवृत्तिका शासकहरु जनताको अधिकार बिस्तारै खोस्दै जान्छन । एउटा रहस्यमय कुरा : भ्रष्टाचार र कुशासनका बिरुद्ध उठेको थियो जेनजी आन्दोलन । तर, जनतालाई कष्टबाट मुक्तगर्ने कुनै प्रयत्न भएको अहिलेसम्म देखिएको छैन । राजनीति आफनो एकल स्वार्थका लागि होइन, वहुजनको हितका लागि गरिनु पर्दछ ।
महन्थ भन्नुहुन्छ : अहिले शक्तिमा जो जो रहेकाछन तिनको प्रवृत्ति विकृत देखिएकोछ । यो राम्रो संकेत होइन । राज्यले शक्तिको प्रयोग सन्तुलित ढंगले गर्नु पर्दछ । अहिलेसम्म देशमा जनताको नैसर्गिक अधिकार नै स्थापित भएको छैन । जनताको हातमा हुँदै नभएको अधिकार कसरी फर्किन्छ ? जनताको शक्तिको बिस्तारका लागि निरन्तर संघर्ष त गर्नै पर्दछ ।
महन्थ ठाकुर चुनावपछि गठन भएको राष्ट्रिय सभाको पहिलो बैठकमा कालो रंगको वस्त्रमा उपस्थित हुनु भएको थियो । सँधै कालो रंगको परिधानमा देखिनुहुने प्रधानमन्त्री वालेनका कालो परिधानप्रति यो उहाँको सांकेतिक चुनौति थियो । यसमा उहाँको भनाइ थियो – जनताको शक्ति बिस्तार नगरेसम्म शासकहरुको एकाधिकार तोडन सकिदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता वालेन्द्र साहको नेतृत्वमा संसदीय चुनाव लडेको थियो । चुनावमा झण्डै दुई तिहाइ मत प्राप्त गरेर पार्टीले नेपालको ‘सम्पूर्ण’ राज्यसत्ता आफनो हातमा पारेको थियो । यो परिणाम पूरै देशका लागि आश्चर्यजनक थियो । मधेश प्रदेशका लागि त परिणाम झनै अद्भूत र आश्चर्यजनक रह्यो । ‘मधेशका छोरा’ का रुपमा उदाएका वालेन्द्र साहले मधेशमा चुनाव लडेनन । उनले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीलाई उनको घरदैलो दमकमा पुगेर पराजित गरे । वालेनको यो जीतलाई स्थानीय जनताले चमत्कारका रुपमा हेरे ।
देश संकटकालीन अवस्थामा रहेको समयमा भएको संसदीय चुनाव परिणामले खासगरेर मधेशवादी दलहरु निकै प्रभावित भए । मधेशका जनता वालेन्द्र साहको ब्यक्तित्वको जादूमा लठ्ठियो ।
चुनाव अघि, मधेशका दुई प्रभावशाली दलहरु ‘मधेशको समग्र विकास’का लागि एक भएका थिए । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी बीचको एकता मधेशको राजनीतिमा सकारात्मक भविष्यको खोजी थियो । यो एकताले नेपालको राजनीतिमा मधेशको साख कायम रहने आशा मधेश राजनीतिका पर्यवेक्षकहरुले राखेका थिए । लोसपा–जसपाको एकतामा सीके राउत नेतृत्वको जनमत पार्टी सामेल भएन । तर, यो एकतामा अन्तर्नीहित मधेशका समस्याको समाधान र विकासका सम्भावनाका प्रश्नहरु सबै राजनीतिक दलका लागि साझा थिए ।
यो पटकको चुनाव स्वाभाविक अवस्थामा भएको थिएन । चुनावको मूल स्रोत र कारण थियो जेनजी विद्रोह । जेनजी विद्रोहको परिणाम स्वरुप संसद विघटन भएपछि असमयमा भएको थियो यो चुनाव । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले), माओवादी सहितको नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य खेलाडीका रुपमा प्रस्तुत भएका थिए । तर, नयाँ दलले बहुमत ल्यायो, पुराना दलहरु सबै अल्पमतमा परे ।
महन्थ भन्नुहुन्छ – यो परिणाम अस्वाभाविक होइन । चुनावमा हुने हारजीतलाई कसैले पनि ‘अन्यथा’ लिनु हुँदैन ।