‘जय नेपाल हजुर बा !’ - रुपान्तरण
 २०८३ जेठ ३१, आईतबार    

‘जय नेपाल हजुर बा !’


– सचिनराज शर्मा

वर्तमान समयको नेपाली राजनीति धेरै बदलिएको छ । प्राविधिक शीप निकै भएका, तर, समाज बुझन बाँकी नै रहेका व्यक्तिहरू राजनीतिमा हाबी हुन थालेका छन् । स्वर्गीय प्रदीप गिरिको शब्दमा भन्ने हो भने, ‘अमेरिकामा पढेका, तर धान र गहुँको फरक छुट्याउन नसक्ने’ हरूले राजनीतिमा स्थान ओगटन पाइरहेका छन् । राजनीति भनेको पढे–लेखेका र शक्ति र सत्तामा पहुँच भएका ‘सम्भ्रान्त’हरूले मात्रै गर्ने कुरा हो भन्ने भाष्य बनाइँदै छ । अंग्रेजीका दुई–चार वटा शब्दजाल(जार्गन) प्रयोगगर्न सक्ने र विदेशी विश्वविद्यालयबाट नेतृत्वको कोर्ष गरेपछि मात्रै भुइँमान्छे चुनाव लड्नका लागि ‘योग्य’ हुने भएका छन् ।

मैले राजनीति बुझ्न शुरु गर्दाको परिस्थिति यस्तो थिएन । यदि राजनीति यस्तै हुन्छ भन्ने ज्ञान भएको भए यसले मलाई कहिल्यै आकर्षित गर्दैनथ्यो होला । म त गाउँका ‘जय नेपाल’ हजुरबुवालाई देखेर राजनीतिप्रति चासो राख्न थालेको व्यक्ति हो ।

मेरो बाल्यकाल एउटा गाउँमा बित्यो । हाम्रो गाउँमा एकजना आदर्श पुरुष हुनुहुन्थ्यो । उहाँलाई देख्दा सबैले ‘जय नेपाल’ भन्थे । त्यसैले हामीले उहाँको खास नाम नै ‘जय नेपाल’ हजुरबुवा भन्ने ठानेका थियौ । हामी हुर्कदै गएपछि बल्ल थाहा भयो, उहाँ त नेपाली कांग्रेस भन्ने पार्टीको नेता भएको भएर पो उहाँलाई सबैले ‘जय नेपाल’ भन्दा रहेछन । उहाँको खास नाम त प्रेमबावु अधिकारी पो रहेछ ।

‘जय नेपाल’ हजुरबुवा पढे–लेखेको विद्वान हुनुहुन्थेन । उहाँ फररर अंग्रेजी बोल्न त जान्नुहुन्नथ्यो । तर, लोकतन्त्रप्रतिको उहाँको निष्ठा अहिलेका नेपाली कांग्रेसको नेतृत्वमा भएका नेताहरूको भन्दा धेरै माथिल्लो तहको थियो । उहाँको राजनीतिक यात्रा सात सालको जहानियाँ राणा शासन विरुद्धको आन्दोलनबाट शुरु भएको थियो । उहाँ भोलि कांग्रेसको सरकार बन्दा मैले पनि कतै भाग पाइहाल्छु कि भनेर वा सांसद मन्त्री हुन्छु कि भनेर राजनीतिमा लाग्नुभएको थिएन ।

उहाँ कुनै पद चाहिएर राजनीतिमा लाग्नु भएको थिएन । नागरिकको भविष्य नागरिकले नै लेख्न पाउनुपर्छ भनेर उहाँले आफ्नो जिन्दगी देश र जनताको निम्ति समर्पित गर्नुभएको थियो । उहाँ न त दास हुनुहुन्थ्यो न त लास । उहाँले आफूलाई सुधारिएको कांग्रेसी भन्न पनि आवश्यक थिएन, किनकि उहाँ कहिल्यै बिग्रिनुभएको थिएन ।

बरु नेपाली कांग्रेस भएकै कारण उहाँ पटक–पटक समातिनुभयो, कष्टकर जेल जीवन भोग्न बाध्य हुनुभयो । तैपनि उहाँलाई चार तारे झण्डा र रुख चिन्हको छहारी नै प्यारो थियो । उहाँलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गले नै नागरिकको जीवनमा आमूल परिवर्तन सम्भव छ भन्ने दृढ विश्वास थियो । उहाँ काठमाडौंबाट प्रकाशितहुने मासिक पत्रिका लुकाएर चितवनसम्म पु¥याउनुहुन्थ्यो । आफू पनि सचेत हुनुपर्छ र समाजलाई पनि सचेत गराउनुपर्छ भन्ने दायित्व बोधले गर्दा उहाँ अनेक जुगाड गरेर आफ्नो ज्यानको समेत परवाह नगरी पत्रपत्रिका गाउँसम्म पु¥याउनुहुन्थ्यो । पञ्चायतको कालरात्रिमा सबै सुतिसकेपछि उहाँ गोठमा गएर पत्रिका पढ्नुहुन्थ्यो ।
साँच्चै भन्नुपर्दा, लोकतन्त्रको जिजीविषा ‘जय नेपाल’ हजुरबुवाहरूले नजगाइदिएको भए आज हामी यहाँ हुने थिएनौ ं। हाम्रो पुस्ता उहाँप्रति कृतज्ञ हुनैपर्दछ ।

जब देशमा लोकतन्त्र आयो, जननेता वीपी कोइरालाले भनेको जस्तै पार्टी र सत्तामा सुकिला–मुकिलाहरूकै हालीमुहाली बढ्न थाल्यो । बजेट बनाउँदा गरिब किसानको फोटो हेरेर होइन, व्यापारी घरानाको आवश्यकता बुझेर करका दरहरू तोकिन थाले । विदेशमा ‘पीएचडी’ पढेर आएका प्राविधिकहरूको अंग्रेजी लवज र बौद्धिक विलासिताको अगाडि थुप्रै जय नेपाल हजुरबुवाहरू “आउटडेटेड” र “इर्रिलेभेन्ट” हुँदै जान थाले ।

निष्ठाको मूल्य भन्दा चाकडीको मूल्य बढी तोकियो । संघर्षका दिनका कार्यकर्ताभन्दा “डिपार्चर” लेख जस्तै स्तुति गाउने विद्वानहरू नेत्रृत्वका प्रियपात्र बन्नथाले । नेपाली कांग्रेस पार्टीमाथि बहुत डरलाग्दो तरीकाले ‘एलिटको कब्जा’ बढदै गयो । जसले सुगाले जस्तै राम्रोसंग शहरी पपुलिस्ट जार्गन फररर बोल्न सक्यो, उसलाई मात्र नेताको रूपमा हेर्न थालियो । पार्टी समाजबाट धेरै टाढा हुँदै गयो ।

देशमा भर्खरै भएको शहरी विद्रोहले कसैले नसोचेको राजनीतिक परिस्थितिको निर्माण ग¥यो । त्यसलाई भ¥याङ बनाएर २.० आउँदैगर्दा ठूलै बाजा–गाजासहित धूमधाम प्रचारप्रसार गरियो । तर, त्यो २.० लाई पनि टिकट दिने बेलामा व्यापारी नै चाहियो ।

गणतन्त्रको आन्दोलनमा मरणासन्न हुनेगरी सँगै कुटाइ खाने साथीहरूभन्दा आफ्नो वरपर भजन गाउँदै हिँड्ने ऐरे, गैरे, धूपौरेहरू चुनावका उम्मेद्वार हुन योग्य भए । हुँदाहुँदा पार्टीको विचार पढाउनेमा लोकतन्त्रका निम्ति संघर्ष गरेका गाउँका व्यक्तित्व र कांग्रेसको इतिहासको अध्ययन र खोज गरेका युवकहरु भन्दा ‘सेलिब्रेटी’ र विदेशमा पढेकाहरु नै प्राथमिकतामा परे । अंग्रेजीमा पोख्त भएको, अनि, डोनरको भाषा सर्लक्क टिप्न जान्नेले मात्र विचार प्रवाह गर्छ भन्ने सोचाइ हाम्रो अर्धचेतनमा जकडियो । यो अवस्था गोरो छालाप्रतिको “ह्‍वाइट सेभियर कम्प्लेक्स” को विस्तारित भर्सन हो भन्ने कुरा हामीले अझै बुझ्न सकेका छैनौं ।

यसरी नै अगाडि बढ्दै जाने हो भने नेपाली कांग्रेसलाई कुन विचारधाराको निम्ति हामीले पत्याइदिनु पर्ने हो ? भुइँतहको कार्यकर्ता बिर्सेर सचिवालय मात्र धाउनेहरूबाट यो पार्टी अझै कति दिन चल्ने हो ? कसैसंग चित्तबुझ्दो जवाफ छ भने दिनुहोला ।