देउवा, नेपाली कांग्रेस र थापा - रुपान्तरण
 २०८३ असार २, मंगलबार    

देउवा, नेपाली कांग्रेस र थापा


- रुपान्तरण टिप्पणी

जेनजी विद्रोहको लगत्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पहलमा बोलाइएको बिशेष अधिवेशनले ‘छडके’ हानेर अपदस्थ गरिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको हंगकंग शहरमा आज आफनो जन्मदिन मनाए होलान । हार्दिक शुभ–कामना देउवालाई !

नेपालमा नेपाली कांग्रेस पार्टीले देउवालाई जन्मदिनको शुभकामनादिने औपचारिकता पनि पूरा गरेन । यसलाई विडम्बना नै मान्नु पर्ला ।

गत बर्षको भदौ महिनामा जेनजीका नाममा आतंक मच्चाउँदै हिडेको समूहले सभापति देउवा र उनकी धर्मपत्नी आरजु देउवामाथि सांघातिक हमला गरेपछि उपचारका लागि पति–पत्नी दुबैलाई सैनिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँको प्रारम्भिक उपचारपछि बिस्तारित उपचारका लागि देउवा दम्पत्ति सिंगापुर पुगेका थिए । उपचारका क्रममा रहेका देउवा दम्पत्तिलाई पक्रिएर थप कारवाही गर्न सरकारको सम्बन्धित निकायले उनीहरुको नाममा ‘रेडकर्नर नोटिस’ जारी गर्न लागेको जानकारी पाएपछि सुरक्षित ठाउँको खोजमा उनीहरु सिंगापुरमा उपचार गराउँदा गराउँदैको अवस्थाबाट हंगकंग पुगेका थिए ।

देशका सर्व–साधारण जनतामा अहिलेपनि देउवाको अकूत सम्पतिको चर्चाछ । यो चर्चाको कुनै भरलाग्दो आधार छैन । सम्पत्ति चर्चामा देउवाको भन्दा पनि म्याडम देउवाको चर्चा बढी हुने गरेकोछ । श्रीतीन महाराजकी सन्तान तथा आफैं समर्थ विदूषीका रुपमा चर्चित आरजु देउवाको सम्पत्ति छानवीन गरे दूधको दूध, पानीको पानी भै हाल्दछ ।

देउवाको अनुपस्थितिमा देशको राजनीतिक नक्सामा निकै ठूलो परिवर्तन आइ सकेकोछ । देशमा प्रतिनिधि सभाको चुनाव भएकोछ । चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘सुपर’ पहिलो स्थानमा पुगेकोछ भने नेपाली कांग्रेसका ‘सभापति’ गगन थापा र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष दुबैले लज्जाजनक पराजय बेहोरेकाछन । अन्य पार्टीहरु पुछारको लहरमा अडकिएका छन ।

भृकुटी मण्डपमा बिशेष अधिवेशनको आयोजना गरेर नेपाली कांग्रेसको ‘सभापति’ बनेका गगन थापाका लागि यो पराजय अतुलनीय रहेकोछ भने एमालेका अध्यक्ष केपी ओलीका लागि अकल्पनीय । एमाले अध्यक्ष ओली त रास्वपाका तर्फबाट ‘प्रधानमन्त्री’ का उम्मेदवार बालेन्द्र साहबाट पराजित भएभने चुनाव लडन सर्लाही पुगेका गगन थापा अमरेशकुमार सिंहबाट पछारिए ।

राजनीतिका अत्यन्त महत्वाकांक्षी खेलाडी गगन थापाको यो पराजय नेपाली कांग्रेसका लागि भन्दापनि उनी स्वयंका लागि असहज थियो । उनको आधार र आश्रयमा बाँचेको भजन मण्डलीका लागि त यो पराजय असहज हुने नै भयोे ।

नेपालको मधेशतिर एउटा लोकोक्ति चर्चित छ − कहूँ तो माँ मरी जाये, न कहूँ तो बाप कुत्ता काट खाये १ गगनका लागि यो लोकोक्ति चरितार्थ भयो ।

जानिफकार समाचार सूत्रका अनुसार : यो चुनावमा नेपाली सेना, निर्वाचन आयोग, सर्वोच्च अदालत, प्रशासन, प्रहरी प्रशासन र राज्यका विभिन्न निकायले गगन थापालाई सिधा र घुमाउरो ढंगले सघाएका थिए ।

गएको चुनावमा नेपाली कांग्रेसको हुर्मत लुटियो । चुनावमा कांग्रेसले हार्दै नहारेको होइन । २०४६ को जन–आन्दोलनपछिको पहिलो चुनावमा सभापति कृष्णप्रसाद भट्टराई पराजित हुनुभएको थियो । तर, उहाँको नेतृत्वमा कांग्रेसले वहुमत ल्यायो । २०५६ को चुनाव पनि कांग्रेसले भट्टराईकै नेतृत्वमा लडेको थियो र कांग्रेसले वहुमत ल्यायो । यसपटकको चुनावमा गगन थापाले आफैलाई नेतृत्वमा थोपरेका थिए । तर, जनताले गगनलाई भन्दा वालेन र रविलाई पत्याए । गगनका सल्लाहकार तथा सहयोगीहरुका लागि परिणाम अत्यन्त लज्जास्पद रह्यो ।