नेपाली कांग्रेस : राजनीति र शक्तिको खेल - रुपान्तरण
 २०८३ असार २३, मंगलबार    

नेपाली कांग्रेस : राजनीति र शक्तिको खेल


रुपान्तरण विशेष

नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको दिशा बदल्ने राजनीतिक दल नेपाली कांग्रेस यतिबेला आन्तरिक संकटमा फँसेको छ । जेनजी बिद्रोह पछिको समयमा पार्टीको सामूहिक एकता खलबलिन थालेकोछ । जेनजी बिद्रोहको नाममा पार्टी सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नीमाथि भएको शारीरिक आक्रमणपछि नेपाली कांग्रेसका अन्य महत्वपूर्ण नेताहरुले निकै अप्ठेरो अवस्थाको सामना गर्नुप¥यो ।

जेनजी बिद्रोहले कांग्रेसको समर्थनमा बनेको के.पी. ओली नेतृत्वको सरकारलाई पंगु सावित गरिदियोे । एमाले–कांग्रेसको संयुक्त सरकारमा आन्दोलन रोक्ने अधिकार र सामथ्र्य दुबै देखिएन । देशको राज्य ब्यबस्था सरकारको नियन्त्रणमा रहेन । ओली सरकारले जेनजी बिद्रोह र त्यसबाट उत्पन्न खतराको आकलन नै गर्न सकेन । सरकार र सेनाका बीच संवादको अभाव अनौठो थियो । यही विपरित अवस्थाका कारण दुइदिनमा नै राज्यको अस्थिपन्जर हल्लियो । सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई जोगायो । राष्ट्रपतिले लोकतन्त्र जोगाउनु भयो । जेनजी बिद्रोहले सिर्जना गरेको राज्यविहिन अवस्थाको अन्त्यगर्न राष्ट्रपतिको भूमिका महत्वपूर्ण रह्यो । त्यसपछि, सुशीला कार्कीको नेतृत्वमा अन्तरीम सरकार बन्यो । राजनीतिक घटनाक्रम स्थीर हुन थाले ।

यही मौकामा, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भृकुटी मण्डपमा नेपाली कांग्रेसको बिशेष अधिवेशनको आयोजना गरे । बिशेष अधिवेशनको उद्देश्य सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट हटाएर कांग्रेसको केन्द्रीय सत्तामाथि कब्जा जमाउनु थियो । नेपाली कांग्रेसका ‘एक नम्बर’ महामन्त्री गगनकुमार थापाले ‘दुइ नम्बर’ महामन्त्री विश्वप्रकाश शर्माको साथ र सहयोग लिएर भृकुटी मण्डपमा कांग्रेसको ‘बिशेष अधिवेशन’ आयोजना गरेर आफूलाई कांग्रेस सभापतिमा निर्वाचित गराए ।

निश्चय पनि, जेनजी बिद्रोह विष्फोटक थियो । बिद्रोह सत्तामा रहेका राजनीतिक दलहरुको नियन्त्रण बाहिर थियो । देशको ‘सुरक्षा’का लागि संगठित सैन्य शक्तिले जेनजी विद्रोहको बिष्फोटक घटनालाई आधार बनाएर नागरिक शासनमाथि पकड जमाउन अन्तरीम सरकार गठन गरेको थियो । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुलाई ‘वाद’ गरेर बनेको अन्तरीम सरकारका नाममा राजनीतिक षडयन्त्रका खेलहरु शुरु भए । चुनाव हुने भयो ।

एक बिश्वसनीय सूत्रका अनुसार, गगन थापाले विगत चुनावका सन्दर्भमा वालेन शाह र उनका सल्लाहकार समूहसंग सम्बन्ध बिस्तारका लागि छलफल गरेका थिए । सल्लाह अनुसार नै उनी चुनाव लड्न सर्लाही पुगेका थिए । तर, सर्लाहीका मतदाताले उनलाई पत्याएनन । अमरेश कुमार सिंहले गगनलाई पराजित गरे ।

बिशेष अधिवेशनले सभापतिमा छानेको गगनलाई निर्वाचन आयोगले चाँचूँसम्म नगरी मान्यता दिनु रहस्यमय र आश्चर्यलाग्दो कुरा थियो । यसै सन्दर्भमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खडकाले सर्वोच्च अदालतमा दिएको बिशेष अधिवेशन सम्बन्धी निवेदन सुनुवाइगर्ने जाँगर नै देखाएनन प्रधान न्यायाधीशले ।

नेपाली कांग्रेसमा यस्ता अनेकौ घटना हुँदै आएका छन जसको कुनै औचित्य रहेको हुँदैन । पार्टीको भरेङ्ग चढेर पदमा पुग्न चाहने कार्यकर्ताहरुको कमी कहिल्यै खट्किएन । यस्ता उदाहरण एक होइन सयौं छन ।

२००७ सालको क्रान्तिको सफलतादेखि नै नेपाली कांग्रेसलाई पर्दा पछाडि धकेल्ने ठूला शक्तिका प्रयासहरु नभएका होइनन । तर, कांग्रेसका स्वनामधन्य नेताहरुको अनवरत संघर्षका कारण ती प्रयासहरु सफल भएनन । अन्ततः राजा महेन्द्र २०१५ सालमा संसदीय चुनाव गराउन वाध्य भए । चुनावमा नेपाली कांग्रेस दुइतिहाई मतका साथ विजयी भयो । वीपी कोइराला सर्वसम्मत प्रधानमन्त्री बन्नुभयो । राजा महेन्द्रका लागि चुनावको यो परिणाम अप्रिय र असहज कुरा थियो । चुनावमा संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको अत्यधिक मतले विजयपछि उनका राजनीतिक आकांक्षाहरु खुम्चिए । अन्ततः उनले सेनाको प्रयोग गरेर बीपी कोइराला नेतृत्वको सरकार खारेज गरे र आफनो नेतृत्वमा निर्दलीय पन्चायत ब्यबस्थाको प्रारम्भ गरे ।

त्यो ब्यबस्था पूरै तीन दशक चल्यो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका लागि यो तीन दशकको समय कालरात्रि थियो । स्वर्गीय सुवर्ण शमशेरको नेतृत्वमा भारतमा निर्वासित नेपाली कांग्रेसले राजा महेन्द्रको तानाशाही शासनका बिरुद्ध सशस्त्र विद्रोह शुरु गर्यो । तर, त्यो सफल हुन सकेन । कम्युनिष्ट नेता पुष्पलाल नेतृत्वको संघर्षपनि अगाडि बढन सकेन । अन्ततः सुवर्ण शमशेरले सशस्त्र विद्रोहमा लागेका क्रान्तिकारी साथीहरुलाई देशभित्र शान्तिपूर्ण जीवन विताउन पाउने उद्देश्यका साथ राजासंग सम्झौता गर्नुभयो ।

संघर्षको त्यो चरण सकियो । स्वदेश फर्किएका कतिपय नेताहरु पन्चायत ब्यबस्थाको राजनीतिमा रुचिलिन थाले । त्यतिबेला कुनै अर्को बिकल्प पनि थिएन । कांग्रेसभित्र अठ्तीसे समूह जन्मियो । त्यो समूहमा निर्वासनबाट फर्किएका कांग्रेसका प्रभावशाली नेताहरु सम्मिलित थिए ।

यसैक्रममा, राजा महेन्द्रको बन्दीका रुपमा सुन्दरीजल कारागारमा राखिनु भएका बीपी कोइराला र उहाँका सहयोगीहरु रिहा भए । तर, राजाले सुवर्ण शमशेरका राजनीतिक अपेक्षाहरु पूरा गरेनन । बीपीलाई राजामाथि भरोसा पनि थिएन । सुन्दरीजल जेलबाट रिहा भएको केही समयपछि बीपी र गणेशमान सिंह निर्वासनमा जानु भयो ।

तर, छोटो समयमा नै बीपी ‘निर्वासनमा बसेर देशमा राजनीतिक परिवर्तन ल्याउन नसकिने’ निष्कर्षमा पुग्नु भयो । बीपी र गणेशमान सिंह २०३३ साल पुसमा स्वदेश फर्किनु भयो । उहाँहरुलाई पक्राउ गरेर केही समय थुनामा राखियो । राजकाज अपराध ऐन अन्तर्गत अदालतमा मुद्दा पनि चलाइयो । यो प्रक्रिया धेरै लम्बिएन । बीपीको विग्रदो स्वास्थ्यका कारण उहाँ थुनाबाट मुक्त हुनुभयो ।

बीपी र राजा बीरेन्द्रको भेटपछि देशको राजनीतिमा अलिकति खुकुलो वातावरण आयो । राजा बीरेन्द्रले सुधारिएको पन्चायत ब्यबस्था र वहुदलीय प्रजातन्त्रका बीच जनमत संग्रह गराए । जनमत संग्रहमा झीनो मतले ‘सुधारिएको’ पन्चायत विजयी भयो । बीपी आफनो अत्यन्त खराव स्वास्थ्यका कारण धेरै सक्रियहुन सक्नु भएन । उहाँको निधन भयो । तर, उहाँको निधनको एकदशक वित्दा नवित्दै गणेशमान सिंहको सर्वमान्य नेतृत्वमा भएको राष्ट्रिय जन–आन्दोलन सफल भयो । देशमा संवैधानिक राजतन्त्र सहितको वहुदलीय प्रजातान्त्रिक व्यवस्थाको जीत भयो ।

२०४६ देखि हालसम्मका राजनीतिक घटनाहरुलाई केलाउने हो भने नेपालको राजनीतिक अवस्था अहिलेसम्म पनि तरल नै रहेकोछ । यसमा कुनै शंका छैन, यही अवधिमा माओवादीले शुरु गरेको हिंसात्मक व्दन्व्द समाप्त भएकोछ । राजतन्त्रको अन्त्य भएकोछ । यो पनि उत्तिकै सत्य हो, यति ठूला राजनीतिक परिवर्तनपछि पनि देशले अपेक्षा गरे अनुसार राजनीतिक दलका नेताहरुले आफनो शासकीय क्षमता देखाउन सकेका छैनन । त्यसैको परिणाम स्वरुप अहिले भइरहेका गतिविधिहरुले पनि राजनीतिक स्थिरता ल्याउने छाँटकाँट देखाएका छैनन ।