नीलो चश्माले हिमाल पारी नियाल्दा - रुपान्तरण
 २०८३ श्रावण ९, शनिबार    

नीलो चश्माले हिमाल पारी नियाल्दा


- नारायण नेपाल

हालका राजनीतिक आन्दोलन र उद्वेलनले नेपालका छिमेकी देशहरूसँगको सम्बन्धमा केही फेरबदल ल्याएको संकेत देखिएको छ । जेनजीको आवरणमा २०८२ को भदौमा भएको विद्रोहले नेपाली राजनीतिकवृत्तमा निकै ठूलो परिवर्तन ल्याएको छ । यसबीच, छोटो समयमा देखापरेका केही महत्वपूर्ण घटनाले हाम्रो भू—राजनीति र छिमेक नीतिमा देखिएको आग्रह र दुराग्रहहरूलाई उजागर गरेकोछ । यसक्रममा नेपालको उत्तर छिमेकी देश चीनसँगको सम्बन्धमा आउनसक्ने दरारको बारेमा यो आलेखमा केही विमर्श गरिने छ ।

तिब्बतको ओरिजिनल रगत : नेपाली गृहमन्त्री

लगभग दुई तिहाइ नजिक मत पाएर संसदमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारमा जल्दोबल्दो गृहमन्त्रीको रुपमा सुदन गुरुङ रहेका छन् । उनी ‘भदौरे’ आन्दोलनमा पानी बाँड्ने केटोको रुपमा सक्रिय थिए । आन्दोलनमा बुलेट बाइक आतंक सिर्जनागर्ने समूह टिओवी अर्थात “तिब्बती ओरिजिनल ब्लड” नामक संस्था नेपालबाट चीन विरोधी स्वतन्त्र तिब्बत आन्दोलन चलाउने अभियोग लागेको संस्था हो । जानिफकार सूत्रका अनुसार, गृहमन्त्री गुरुङले चलाएको ‘हामी नेपाली’ संस्थामा टिओबीको लगानीछ । आन्दोलनको रापतापमा बनेको सरकारको शक्तिशाली गृहमन्त्रीको रूपमा सुदनले आन्दोलनका क्रममा भएका घटनालाई ओझेलपार्न खोजेको वताइन्छ ।

नयाँ परम्परा : दलाई लामाको शुभकामना

भदौरे विद्रोहपछि नेपालमा तिब्बतका निर्वासित धर्मगुरु दलाई लामाको आशीर्वाद वा शुभकामना सन्देश आउने नयाँ राजनीतिक परम्पराको थालनी भएको छ । भदौरे विध्वंशपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई लामाले शुभकामना सन्देश पठाएका थिए । निर्वाचनपछि गठन भएको बालेन शाह नेतृत्वको सरकारलाई समेत उनले शुभकामना सन्देश पठाए । बालेन सरकारले काठमाडाँैमा दलाई लामाको ९१ औँ जन्मजयन्ती मनाउन अनुमति दिएको घटना अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्राथमिकतामा राखेर प्रचार गरे । नेपालको राजनीतिमा दलाई लामाको शुभकामना सन्देश र जन्मदिन मनाउने यो परम्परा नयाँ हो ।

नयाँ दलाई लामाको जन्म राजनीति

चौधौ दलाई लामाले पन्ध्रौँ नयाँ दलाई लामाको जन्म चीनभन्दा बाहिर हुने बताएपछि उनको जन्म नेपालमा हुने चर्चा चल्न थालेको छ । यसले चीन र नेपालको सम्बन्धमा एक किसिमको तरंग र हलचल ल्याइदिएको छ । दलाई लामा छनोटगर्ने धार्मिक विधि छुट्टै रहेको छ । यो विधि जटिल छ । पहिलो विधि अनुसार, धर्मगुरु दलाई लामाले आफ्नो भावी अवतारका बारे केही जानकारी दिन्छन । त्यसपछि तिब्बतको ल्हामो तालबाट आउने तथ्य, गेलुक धर्माधिकारीको ‘सपनामा’ देखिने तथ्य, दलाई लामाकी ईष्टदेवी पाल्देन ल्हामोबाट दिइने तथ्यका आधारमा भावी दलाई लामाको चयन गरिने तिब्बती परम्परा रहेको छ । यही परम्पराअनुसार नै वर्तमान १४ औँ दलाई लामाको पनि चयन गरिएको हो । दलाई लामा घोषितगर्ने यो प्रक्रियाबाट छानिएका बालक दलाई लामालाई पछिल्लो दलाई लामाले प्रयोग गरेको वा उनीसँग सम्बन्धित वस्तुहरू रोज्न लगाइन्छ । उनले सही वस्तु रोजे भने उनी आगामी दलाई लामा तोकिन्छन् ।

केही समयअगाडि हालका चौधौ दलाई लामाले आफ्नो मृत्युपछिका उत्तराधिकारी दलाई लामाको घोषणा गरेका थिए । उनले नयाँ दलाइ लामाको जन्म चीनबाहिर स्वतन्त्र विश्वमा हुने स्पष्ट बताए । दलाई लामाले आफनो उत्तराधिकारी चीनबाहिर जन्मिने सम्भावना रहेको बताएपछि चीनले आफनो प्रतिक्रिया जनाएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामाको उत्तराधिकारी ‘चिट्ठा प्रणाली’बाट मात्र पहिचानगर्न सकिने बताएका छन । सम्भावित दलाई लामाका नामका स्लिपहरू सुनको कलशमा राखिन्छ । त्यसपछि ती नाममध्ये एउटा नामको छनोट हुन्छ । सन् १७९२ मा शुरु भएको यो परम्परा अनुसार तीनजना दलाई लामाको छनोट भइसकेको छन ।

दलाई लामा : नेपालीको टाउको दुखाइ किन ?

दलाई लामा धार्मिक आस्थाको पक्ष हो । मंगोलियन भाषामा दलाईको अर्थ समुद्र र लामाको अर्थ गुरू हुन्छ । दलाई लामा तिब्बती बौद्ध परम्परा अन्तर्गतको गेलुक सम्प्रदाय र समग्रमा बौद्ध धर्मका गुरुका रूपमा परिचित छन । महायान वौद्ध सम्प्रदायमा बोधिसत्वको दर्शनमा आधारित अवतारवादको अटुट श्रृंखला हो दलाई लामा छान्ने प्रथा । दलाई लामालाई तिब्बतका संरक्षक सन्त अवलोकितेश्वरको जीवित अवतार मानिन्छ । १५ औँ शताब्दीदेखि अहिलेसम्म १४ जना दलाई लामा भइसकेका छन् । धार्मिक आस्थाको यो प्रथामा हुने गरेको राजनीति गज्जबको छ ।

आफन्त र छिमेकीको कुरा : परराष्ट्र मन्त्रीको चीन यात्रा

बालेन सरकारका परराष्ट्रमन्त्री शिशिर खनालले नवगठित रास्वपा सरकारको तर्फबाट चीन भ्रमण गरेका थिए । उनीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका थिए, “टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो हुन्छ ।” मन्त्री खनालले एक अन्तरवार्तामा पोखरा विमानस्थलमा भएको अनुसन्धान चिनियाँ सरकारप्रति लक्षित होइन भनेर बेइजिङलाई आश्वस्त पारेको बताएका थिए । चीन कति आश्वस्त भयो अथवा भएन ? त्यो भविष्यमा थाह हुने नै छ ।

चीनियाँ विदेश मन्त्रालयले वाङ यीको “टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो” भन्ने उक्ति उद्धृत गर्दै चीन नेपालका लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा सधैँ भरपर्दो छिमेकी र साझेदार रहने बताएका थिए । तत्कालको आपत–विपदमा टाढाको आफन्तभन्दा नजिकको छिमेकी काम लाग्छ । वाङ यीको यो धारणा पश्चिमा शक्तिको लगानीमा उदाएको रास्वपालाई जवाफको रुपमा लिन सकिन्छ ।

लिपुलेकमा चीन प्रष्ट : नेपाल मौन

बालेन सरकारको आगमनपछि भएको छिमेकीसंगको महत्वपूर्ण सहकार्यको रुपमा लिपुलेक नाका सञ्चालनलाई लिन सकिन्छ । नेपाल सरकारले कुटनीतिक नोट पठाएको हल्लाबाजीका बीचमा परराष्ट्र मन्त्री खनालले चीन भ्रमणको क्रममा पाएको जवाफपछि नेपाल चुपचाप छ । लिपुलेक विवादमा चीनको प्रस्ट जवाफ थियो, यो नेपाल र भारत बीचको विषय हो, उतै सल्टाउनुस् ।’

एक चीन : नेपालको परराष्ट्र नीति

चीनको मान्यता छ, संसारमा एउटा मात्र चीन छ । ताइवान चीनकै एउटा अभिन्न अङ्ग हो । अमेरिका लगायतका धेरै देशहरूले ताइवानमाथिको चीनको दाबीलाई पूर्णरूपमा स्वीकार गर्दैनन् । "नेपाल एक चीन नीति"मा प्रतिबद्ध रहेको छ । नेपालको असंलग्न परराष्ट्र नीतिलाई सबै सरकार र राजनीतिक दलहरूले स्वीकारगर्दै आएका छन् । नेपाली भूमिलाई कुनै पनि मित्रराष्ट्र वा छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन दिइँदैन । त्यसैले नेपालभित्र फ्री–तिब्बत (स्वतन्त्र तिब्बत) आन्दोलन वा चीन विरोधी कुनै पनि राजनीतिक तथा गैरकानुनी गतिविधिगर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

हरेक समयका सरकारी भ्रमण र औपचारिक घोषणामार्फत नेपालले आफ्नो ‘एक चीन नीति’ मा कत्ति पनि विचलित नभएको स्पष्ट पारेको छ । सरकारले सधैँ किन स्पष्टिकरण दिँदै प्रतिबद्धता जनाउनु परेको होला ? कतै कूटनीतिक वृत्तमा नेपालको परराष्ट्र नीतिको संवेदनशीलता र नेपालमा भएको गतिविधिलाई लिएर उठ्ने प्रश्नहरूको जवाफमा यो सुगा रटान लगाएको त हैन ?

सीआइए प्रतिनिधिलाई ग्यालो थोन्डुपको पुस्तक

‘द नुडल मेकर अफ कालिम्पोङ’ पुस्तकका लेखक १४ औँ दलाई लामाका जेठा दाजु ग्यालो थोन्डुप हुन् । उनले शीतयुद्धकालीन इतिहासमा आफू र अमेरिकी गुप्तचर संस्था सीआइए बीचको सम्बन्धका सबैभन्दा सनसनीपूर्ण अध्यायहरू उजागर गरेका छन् । उनले आफ्नो संस्मरणमा सीआइएसँगको सहकार्य, तिब्बती सशस्त्र विद्रोह र अमेरिकाबाट भएको ‘धोका’को विस्तृत विवरण दिएका छन् । ग्यालो थोन्डुप र सीआइएको सम्बन्ध र गुप्त अपरेशन स्वतन्त्र तिब्बत अभियानको मुख्य पाटो थियो । सन् १९५० मा चीनले तिब्बतमाथि नियन्त्रण जमाउन थालेपछि थोन्डुप भारतको दार्जीलिङ र कालिम्पोङमा बस्न थालेका थिए । उनीहरूको उद्देश्यमा आ–आफ्नो स्वार्थ थियो । अमेरिका र सीआइएको मुख्य उद्देश्य तिब्बतलाई स्वतन्त्र बनाउने भन्दा पनि चीनलाई कमजोर बनाउने र त्यहाँ अस्थिरता सिर्जनागर्ने थियो । थोन्डुपका लागि यो तिब्बतको रक्षागर्ने एउटै मात्र सहारा थियो । जुन दिन स्वार्थ सकियो त्यो दिनबाट सम्बन्धमा उतारचढाव आयो ।

अमेरिकाको ‘धोका’ र सम्बन्धको अन्त्य

सन् १९७० को दशकको सुरुमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र विदेश मन्त्री हेनरी किसिन्जरले चीनसँग सम्बन्ध सुधारको रणनीति लिएका थिए । उनीहरूले चीनसँग हात मिलाउने भएपछि अमेरिकालाई तिब्बत कार्डको आवश्यकता रहेन । तिब्बतीहरूलाई अमेरिकाले गर्दै आएको सहयोग बन्द भयो । सन् १९६८ को अन्त्यतिर सीआइएले थोन्डुपलाई आफू तिब्बत अपरेसनबाट पछि हट्न लागेको जानकारी दियो । सन् १९७४ सम्ममा तिब्बतलाई दिदै आएको सम्पूर्ण आर्थिक तथा सैन्य सहयोग पूर्णरूपमा बन्द ग¥यो । सहयोग रोकिँदा मुस्ताङमा रहेका तिब्बती लडाकुहरू बिचल्लीमा परे । नेपाली सेनाको कारबाहीपछि उक्त विद्रोह सदाका लागि अन्त्य भयो । यस घटनालाई थोण्डुपले अमेरिकाले दिएको धोकाको रुपमा लिएका छन् ।

पश्चाताप र निष्कर्ष

ग्यालो थोन्डुपले पुस्तकको अन्तिम खण्डमा आफ्नो निष्कर्ष निकाल्दै सीआइएसँगको सम्बन्धलाई लिएर गहिरो पश्चाताप व्यक्त गरेका छन् । उनले लेखेका छन “माओत्सेतुङले मात्र तिब्बतीहरूलाई झुक्याएका होइनन्, सीआइएले पनि हामीलाई धोका दियो ।” उनले सीआइएको सहयोगले तिब्बतमा मात्र नभइ चीन र भारतबीच पनि असमझदारी निम्त्याएको भन्दै जीवनभरको पश्चाताप व्यक्त गरेका छन् ।

एक जिज्ञासा : चिसो होला कि चिन्तित छ चीन

विश्वका महाशक्तिको एक मुख्य साझेदार चीनले नेपालको मामिलामा बुझेको कुरा के हो ? अहिले यो प्रश्न उठ्न थालेको छ । हिमाल पारीको छिमेकी देश चीन हिमालझै अटल रहला त ? भन्ने प्रश्न पनि छ । नेपाल हेर्ने चीनियाँ चश्माको के होला ? जिज्ञासा पनि छ । पश्चिमाहरूले लगाएको नीलो चश्मा भित्रको नियत नियाल्न चीनले भारतीय चश्मा लगाउन पनि सक्छ । नेपालका बारेमा चीनको बुझाइ छ, “आफूलाई क्षति पु¥याउनसक्ने शक्तिसँग नेपाल पनि सजग रहनुपर्छ ।” यहाँ प्रश्न उठन सक्छ : कतै हामी त्यस्तै शक्ति र स्वार्थ समूहको गोटी त बनिरहेका छैनौँ ?

अत्यमा,

नेपाल–चीन सम्बन्धकोे इतिहास लामो रहेको छ । इतिहास र वर्तमानको यथार्थमा नेपाल–चीन बीचको सुमधुर सम्बन्ध कायम रहन सक्छ ? हामीले हाम्रो राष्ट्रिय हीतका लागि लाभदायक मुद्धाहरूको उठानगर्न जरुरी छ । देशको विकास र समृद्धिको पक्षमा मैत्रीपूर्ण रणनीतिक सहकार्य र साझेदारीको सम्बन्ध स्थापना हुन जरुरी छ ।

नेपालको चीन तिब्बत सम्बन्ध र दलाई लामा ‘कनेक्सन’ को राजनीतिलाई रंगको राजनीतिमा हेर्दा शंकाका आधार प्रष्ट देखिन्छन् । केमिकल वा रसायनमा नीलो र कालो रङ मिसाउँदा धेरै गाढा नीलो रङ बन्दछ । जसलाई सामान्यतया मध्यरातको नीलो वा नेभी ब्लू भनिन्छ । यी दुई रंगको मिश्रणले सम्बन्धको गहिराइ, शान्ति, रहस्य र गम्भीरता पैदा गर्दछ । तर, राजनीतिमा नीलो क्रान्तिवालाहरूको हूलमा काला प्रेमीहरूको मिश्रणले बनेको यो सरकारले छिमेक सँगको राजनीति र कुटनीतिक सम्बन्धमा गाढा नीलो, नेभी ब्लू चश्माले हेरेर रहस्य र शंकाको भावना पैदा नगरोस् ।