वीपी कोइरालाको विस्मृत विरासत - रुपान्तरण
 २०८३ श्रावण ११, सोमबार    

वीपी कोइरालाको विस्मृत विरासत


- अभिजीत अधिकारी

विश्वेश्वरप्रसाद कोइरालाको नाम नेपाली इतिहासमा लोकतन्त्रको पर्याय जस्तै छ । तर विडम्बना, उनको योगदानको कदर हरेक दिन क्रमशः धुमिल हुँदै गएको अनुभूति हुनथालेको छ । युवाहरूलाई जम्मा पारेर राजनीतिक विचारधारा विहीन, शहरकेन्द्रित राजनीति गर्ने अभियन्ताहरूलाई वीपीसँग दाँज्न खोजेको देख्दा साँच्चै अचम्म लाग्छ । अर्थशास्त्रमा पीएचडी गर्दै विभिन्न देशमा ज्ञान बढाउँदै हिँडेका विद्वान अर्थशास्त्रीहरूले समेत सहकारी ठगीको मुद्दा खेपेका व्यक्तिलाई नै अहिलेको युगको वीपी भन्न सम्म भ्याए । एकातिर यस्ता कुरा सुन्दा उदेक लाग्छ । अर्कोतिर राजनीति गर्ने जो–कोहीलाई पनि वीपीसँग तुलना गर्नुपर्ने जनताको रहर देख्दा नेपाली समाजमा वीपीको राजनीतिक राप र ताप अझै जीवित छ भन्ने भावनाले राहत दिन्छ ।

वीपीको संघर्ष

वीपी कोइरालाको राजनीतिक यात्रा कुनै सुविधाभोगका लागि थिएन । भारतमा बसेर अध्ययनगर्दा भारतीय समाजवादी नेताहरूको संगतमा रहेका कोइरालाले भारतको स्वतन्त्रता संग्राममा त्यहाँका नेताहरूलाई सहयोग गरेका थिए । त्यसलगत्तै उनले नेपालमा निरंकुशता जहानियाँ राणा शासनको विरुद्ध आफ्नो जीवन नै दाउमा राखेर पटक–पटक जेल भोगे, यातना सहे । उनले २३ दिनसम्म राणा शासनका विरुद्ध भोक हडतालगर्दा झण्डै आफ्नो प्राण गुमाएनन् । यही संघर्षको जगमा उनले संगठन निर्माण गर्दै २००७ सालको सशस्त्र क्रान्तिको नेतृत्व गरे र देश र जनतालाई राणा शासनबाट मुक्त गराए ।

२००७ सालको क्रान्तिपछि वीपी कोइरालाको संघर्षको नयाँ अध्याय सुरु भयो । उनले नेपाली कांग्रेसलाई एउटा संगठित र दूरगामी विचारधारा भएको जनपार्टीको रूपमा उभ्याउन संघर्षको प्रारम्भ गरे । उनी गाउँ–गाउँ हिँडेर जनतासँग सीधा संवाद गर्दथे । उनको संगठनात्मक बलकै कारण देशभर लोकतान्त्रिक विचारबाट प्रेरित कार्यकर्ताहरू निर्माण भए । त्यही संगठनात्मक जगको बलमा २०१५ सालको ऐतिहासिक आम निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमतसहित विजय हासिल गर्यो । सुवर्ण शम्शेर र पार्टीकै आग्रहमा वीपी प्रधानमन्त्री बने । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रूपमा वीपीले भूमि सुधार, शिक्षा विस्तार र सामाजिक न्यायमा आधारित नीतिहरू अघि सारे । उनका नीतिहरू क्रान्तिकारी थिए । उनको सोच स्पष्ट थियो : राजनीतिक स्वतन्त्रता मात्र पर्याप्त छैन, आर्थिक र सामाजिक रूपान्तरण नभई साँचो अर्थमा प्रजातन्त्र सम्भव छैन ।

अन्तर्राष्ट्रिय जगतमा पनि वीपीको कद उत्तिकै उँचो थियो । भारतका जवाहरलाल नेहरू, चीनका चाउ एन लाइ तथा विश्वका अन्य नेताहरूसँग उनको वैचारिक संवाद हुन्थ्यो । “नन् अलाइन्मेन्ट मुभमेन्ट” अर्थात् असंलग्न आन्दोलनको भावनासँग नेपाललाई जोड्नमा उनको भूमिका महत्वपूर्ण रह्यो । एउटा सानो र भूपरिवेष्टित मुलुकको नेतृत्व गर्दागर्दै उनले नेपालको आवाजलाई विश्व राजनीतिमा घन्काए । यो आफैंमा उल्लेखनीय उपलब्धि थियो ।

तर, २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्रीलाई ‘कु’ गर्ने कालो कदम उठाएपछि वीपी कोइरालाको जीवन फेरि कठिन मोडमा प्रवेश गर्यो । त्यसपछिका आठ वर्ष उनले जेलमा बिताए र पछि निर्वासनमा गए । निर्वासनमा रहँदा चरम आर्थिक संकट भोग्दाभोग्दै पनि उनले आफनो राजनीतिक यात्रालाई निरन्तरता दिए । तत्कालीन परिस्थितिमा उनले सशस्त्र क्रान्तिको बाटो समेत समाए । तर, सिक्किमको भारतमा बिलयपछिको बदलिँदो क्षेत्रीय राजनीति बुझ्दै उनले आफ्नो जीवनलाई समेत दाउमा राखेर राष्ट्रिय एकता र मेलमिलापको नीति लिंदै नेपाल फर्किए । देशभित्रका सबै शक्तिहरूबीच संवाद र मेलमिलापबाट मात्र दिगो प्रजातन्त्र सम्भव हुन्छ भन्ने उनको विश्वास थियो । यही विश्वास बोकेर उनले नेपाल फर्किने साहसिक निर्णय गरे । त्यतिबेला राजाको नेतृत्वमा चलेको निर्दलीय पञ्चायती सरकारले वीपीका विरुद्ध राजद्रोहलगायतका बिभिन्न मुद्दा लगाउँदै फाँसीको माग गरेको थियो ।

वीपी कोइरालाको लोकतन्त्रप्रतिको अविरल निष्ठाकै कारण हामी आज चेतनायुक्त समाजमा बाँचिरहेका छौँ । हामीले अहिले पाएको लोकतन्त्र र नागरिक अधिकार वीपी र उनका साथीहरुले गरेका संघर्षको परिणाम हो भन्ने स्वीकारगर्न काँग्रेसी नै हुनुपर्छ भन्ने छैन ।

वीपीको विचारधारा र आजको सान्दर्भिकता

वीपी कोइराला केवल राजनीतिज्ञ मात्र नभई राजनीतिक विचारक थिए । राष्ट्रियता र लोकतन्त्रका लागि संघर्ष गरेर आएको कांग्रेसले बीरगंज महाधिवेशनबाट समाजवादलाई आफ्नो आधिकारिक विचारधारा बनायो । त्यसपछि वीपीले प्रजातन्त्र, समाजवाद र राष्ट्रियता यी तीन धारलाई एकअर्कासँग अन्तर्सम्बन्धित रूपमा प्रस्तुत गरे । उनी प्रायः भन्थे – प्रजातन्त्र र समाजवाद एकअर्काका परिपूरक हुन्, एउटा बिना अर्को अधुरो हुन्छ ।

आजको नेपालको संविधानले पनि यही विचारधारामा आधारित भएर नेपाललाई समाजवाद उन्मुख राष्ट्रका रूपमा परिभाषित गरेको छ । राष्ट्रियताको प्रश्नमा वीपीको धारणा अझ स्पष्ट थियो– नेपालको स्वतन्त्र अस्तित्व र स्वाभिमान कुनै पनि विचारधारा वा सत्ता–स्वार्थभन्दा माथि रहनुपर्छ । उनले कहिल्यै राष्ट्रियताको विषयमा सम्झौता गरेनन् ।

२०८३ सालको नेपाललाई हेर्दा वीपीका यी चिन्तनहरू अझ बढी सान्दर्भिक देखिएकाछन । देश संघीय गणतन्त्रमा पुगिसक्दा पनि लोकतन्त्र अझै जोखिममुक्त छैन । जनताका विचार र अभिव्यक्ति कुण्ठित हुँदै गएकाछन । सामाजिक सञ्जालले फैलाएको ‘लोकप्रियतावाद’ले लोकतान्त्रिक संस्थाहरू कमजोर हुँदै गएका छन् । प्रत्येक पार्टीमा व्यक्तिवादी चरित्र हावी भइरहेको छ । यस्तो चरित्रले लोकतन्त्र दिगो हुँदैन । नेपाली कांग्रेस पनि यसैको शिकार बनेको छ । पार्टीभित्र विचारभन्दा नेताको पक्ष वा विपक्षमा बढी बहस हुन थालेको छ । राष्ट्रियताको विषयमा पनि कांग्रेस दृढतापूर्वक उभिन सकेको छैन ।

भदौ २४ मा ‘जेनजी’को आवरणमा देशको सार्वभौमिकतामाथि भएको ‘सांकेतिक’ आक्रमणले राष्ट्रियता अझै गम्भीर संकटमा परेको छ । तर, कांग्रेसका केन्द्रिय नेताहरुले न त यस विषयमा छलफल नै गरेका छन, न त कार्यकर्ताहरु सँग विमर्श नै । कांग्रेसका कार्यक्रमहरू गैरराजनीतिक सामाजिक संस्थाका गतिविधिजस्ता हुँदै गएका छन् । समाजवादलाई कम्युनिष्टहरूको साम्यवादसँग जोडेर कांग्रेसकै नेताहरू समाजवादविरुद्ध उभिएका छन् । अहिलेको नेतृत्वले गहिरो बहसबिना नै कांग्रेसलाई लोकतान्त्रिक समाजवादबाट सामाजिक लोकतन्त्रतर्फ लैजाने निर्णय गरेको छ ।

नेपालजस्तो सीमान्तकृत समुदाय र अति विपन्न वर्गको ठूलो संख्या भएको मुलुकको सबै जिम्मा बजारलाई लगाएर राज्यले कमजोरको संरक्षण नगर्ने हो भने संविधानमा उल्लेख भएका अधिकारहरू कसरी कार्यान्वयन हुनसक्छ ? नेपाली समाजमा विद्यमान बहुआयामिक वर्गीय विभेदको बारेमा कुरा गर्न वीपीले मार्गनिर्देश गरेको समाजवादभन्दा अर्को उपयुक्त विचार के हुन सक्छ ?

समस्या विचारको अभाव होइन, त्यो विचारलाई आजको सन्दर्भमा व्यवहारमा उतार्ने राजनीतिक इच्छाशक्तिको अभाव हो ।

अहिले संवैधानिक व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसले वीपी कोइरालाको सम्मान स्वरूप संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिनु जरुरी छ । वीपीको सबैभन्दा ठूलो विरासत भनेकै संघर्ष, त्याग र दृढताबाट खारिएको विचार हो । वर्तमान नेतृत्वले नेपाली राजनीतिका महान विचारक कोइरालाको इतिहास मेटाउने कुचेष्टा नगरोस् । गत निर्वाचनमा प्रचार सामग्रीबाट वीपीका तस्वीर हटाएर आफ्ना तस्वीरराख्ने नेतृत्वको प्रवृत्तिले समयमै गल्ती स्वीकार गरी सच्याएर अघि बढ्नुपर्छ ।
आठ दशक लामो लोकतान्त्रिक संघर्षमा जीवन व्यतीत गरेका, कांग्रेसकै नाममा जीवन अर्पण गरेका परिवारका सदस्यहरूसँग अपमानजनक व्यवहार नगरियोस् । इतिहासलाई बेवास्ता गरेर केवल आत्ममण्डनमा कांग्रेस सीमित रह्यो भने कांग्रेस रहनु वा नरहनुमा कुनै मौलिक भिन्नता रहने छैन ।

साथै, यस लेखको अन्त्यमा म वीपी कोइरालाप्रति भावपूर्ण श्रद्धा–सुमन अर्पण गर्न चाहन्छु ।