काठमाडौ मेडिकल कलेजले स्वास्थ्य सेवामा पहूँच नभएका जनतालाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने आफनो कार्यक्रम अनुसार देशका विभिन्न भागमा शिविर सञ्चालन गरी स्थानीय जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकोछ । यही क्रममा केएमसी दुवाकोटको प्राविधिक सहयोग र नीलगिरि बचत तथा ऋण सहकारी संस्था तथा आत्म–जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा केएमसीले विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम गरेकोछ । कार्यक्रमको समन्वय खैरहनी नगरपालिकाले गरेको थियो । खैरहनी नगरपालिकाको वडा नं. ६ मा आयोजित स्वास्थ्य शिविरमा एक हजार एक सयभन्दा बढी स्थानीय जनताले आफनो स्वास्थ्य परीक्षण गराएर उपचार सेवा लिएका छन् ।
यसैगरि, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल(केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको कालिका नगरपालिका–१० स्थित चेपाङ बस्तीको निबुवाटारमा रहेको आधारभूत विद्यालयमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विद्यालयमा विशेषज्ञ चिकित्सकसहितको टोली पुगेपछि सेवाग्राहीले सहज रूपमा स्वास्थ्य सेवा पाएका थिए । त्यस अवसरमा केएमसी दुवाकोटमा उपचारका लागि आउँने चेपाङका लागि अस्पतालले उपचार सेवा निःशुल्क प्रदान गरिने जानकारी पनि दिइएको थियो ।
दुवै शिविरमा बालरोग, हाडजोर्नी तथा नशारोग, शल्यक्रिया, छाला तथा यौनरोग, आँखा, दाँत, नाक, कान तथा घाँटी, मुटुरोग, स्त्रीरोग लगायत मनोरोगसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क उपलब्ध गराइएको थियो । साथै रगत र पिसाब परीक्षणको सुविधासमेत उपलब्ध गराइएको थियो । स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयवासीले आफनै घर आंगनमा विशेषज्ञ चिकित्सकबाट उपचार पाउँदा राहत महसुस गरेका थिए ।
केएमसीव्दारा संचालित शिविरबाट सयौं स्थानीय जनता लाभान्वित भएका छन् भने स्वास्थ्य सचेतना अभिवृद्धि कार्यक्रमले हजारौं नागरिकको मन जितेकोछ । डा. सुनील शर्माको कुशल नेतृत्वमा संचालित केएमसीले देशका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालनगर्ने नीति अख्तियार गरेकोछ ।
डा.शर्मा नेपाली कांगे्रसका नेता हुनुहुन्छ । उहाँ यसअघिको प्रतिनिधि सभामा आकर्षक मतले चुनिनु भएको थियो । सांसदका हैसियतमा पाइने सुविधा र तलब–भत्ता नलिने सांसदका रुपमा चिनिने डा. शर्मा सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय रहनु भएकोछ ।