गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच गोकर्णेश्वर नगरवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ ।
नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद सुनीलकुमार शर्माको प्रमुख आतिथ्य तथा नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा भएको समारोहमा सम्झौता सम्पन्न भएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा उपचारका लागि केएमसी पुगेका स्थानीय बासिन्दाले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम, स्वास्थ्य बीमा तथा अन्य उपलब्ध सुविधा उपयोग गरेपछि थप सहुलियत पाउनेछन् ।