– नारायण नेपाल
साउन महिना हिन्दू धर्मावलम्बीको लागि भगवान शिवको महिना हो । नेपालमा श्रावण महिना नेपाली जनताको लागि नै महादेवको महिना हो भन्दा फरक पर्दैन । भक्तजनको भिडभाड र बोल बमको यात्राले गाउँ–शहरका शैव धामहरु तताएको छ । एकातिर नारीहरुमा भएको हरियो सारी–चुरा उत्सबले ब्यापारीहरुको उत्साह बढाएको छ । अर्कोतिर गृहमन्त्रीले शिव सेनालाई बार्तामा राखेर राजनीतिक चालबाजी देखाएका छन ।
उपभोक्तावादको युगमा धर्म, राजनीति र बजारका अनेकौं तमासाहरु चलीरहेका छन । यही साउन महिनामा नेपाली राजनीतिको गर्भमा केही अंकुरण भइरहेको जस्तो देखिएको छ ।
साउनमासका केही प्रमुख राजनीतिक घटनाक्रम नियालेर हेरौं ।
७ गते प्रधान न्यायाधीश डा.मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गर्नु भयो । उहाँलाई कामु प्रधान न्यायधीश सपनामल्लले बिदा गर्नु भएको थियो । त्यही दिन : प्रमुख दल रास्वपाका सभापति रवि लामिछाने चीन भ्रमणमा जाँदै, भन्ने समाचार काठमाडौँका अखबारहरुमा प्राथमिकतामा थियो ।
भोलिपल्ट, साउन ८ गते सर्वोच्चका तीन न्यायाधीशलाई महाअभियोग लगाउने धम्की दिने प्रयास भएको “आईसीजे”ले दाबी गरेको समाचारले बजार लिएको थियो ।
सल्लाहकार कुमार बेनको नयाँ दिल्ली तिर्थाटनको उपलब्धि : प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणको औपचारिक निम्तो पाएको कुरा भारतीय संचार माध्यामबाट साउन १२ गते सार्वजनिक भयो ।
साउन २० गते न्यायाधीशलाई महाअभियोगको समेत धम्की दिएको भन्दै सार्वजनिक वक्तव्य जारी गर्ने तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई स्पष्टीकरण सोध्न संसदीय समितिले निर्देशन दियो ।
काठमाडौंमा हुन लागेको तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा साउन २१ गते रोकिएको भन्ने खबर बाहिरियो । त्यही दिन प्रधानन्यायाधीशले नेपाली कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकतामा पुनरावलोकनको अनुमति दिएपछि नेपाली कांग्रेसको आधिकारिकताको विवाद ब्युँतियो । प्रचण्ड–ओलीको नेपाल कम्युनिष्ट पार्टी अदालतले फुटाएको घटना स्मृतिमा आउँदा दल जुटाउने र फुटाउने अदालतको भुमिका यहाँ पुनः प्रकट हुने खतरा देखिएको छ ।
उपचारको लागि विदेश पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने खबर साउन २३ गते सार्वजनिक भएको थियो । आज, साउन २८ गते त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा देउवाको भव्य स्वागत भएको छ । काठमाडौं ओर्लिए लगत्तै चुनदेवी पुगेर उनले दिएको भाषणले केही विशेष हुने संकेत दिएको छ ।
यही मेलोमा एक वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन ।
सत्ताधारी दलमा शक्तिको इस्तेमाल गर्ने प्रमुख रवि र बालेन बीच स्वार्थको द्वन्द्व भुसको आगो जस्तै सल्किनथालेको देखिन्छ । त्यसको असर पार्टी भित्र र सरकार संन्चालनमा प्रष्ट देखिन थालिएको छ । अहिले रास्वपा भित्रका मधेशका सांसद मनिष झा र सांसद अमरेश कुमारको धारणा समान देखिन्छ । बालेन सरकार गठन पछि अमरेश कुमार जस्तै रास्वपा महाधिवेशन पछि मनिष झाको अवस्था भएको छ । दुवै नेतालाई परिस्थितिले एकै किनारमा पुर्याइदिएको छ ।
त्यसैगरी, केही समय अघिसम्म आपसमा कटाक्ष सम्बन्ध भएका उपेन्द्र यादव, प्रभु शाह र सिके राउत लगायत सबै मधेशवादी दलका नेताहरु अहिले एकै ठाउँमा उभिएका छन । त्यसमा रेशम चौधरी र जनार्दन शर्मा समेत सामेल छन । उनीहरुको अग्रगामी मोर्चा निर्माण अवधारणापत्रमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टीका अध्यक्ष डा.हरिनन्दनकुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले हस्ताक्षर गरेका छन ।
बामपन्थी दलहरु राजनीतिक एकताको भावमा डुबुल्की मार्दैछन । हिजो स्वर्ग–नर्क संगै जाने यात्रामा धोका पाएका प्रचण्ड–ओली फेरि बाम सहकार्यको लगनगाँठो कस्न पुगेका छन । त्यो लगनगाँठोको मोर्चामा मशालका गुरु मोहनविक्रम सिंह समेत सामेल भएका छन । अब ओलीले छिर्के नखेले बांचुन्जेल संगै हुनेमा सुप्रिमो कमरेड प्रचण्ड धेरै आशावादी देखिन्छन ।
भाद्र महिना भदौरे जेनजीको आवरणमा उपद्रो मच्चाउनेहरुको पहिलो बर्षगाठ मनाउने महिना हो । प्रधानसेनापती सिग्देलले फौजको जिम्मा जर्नेल थापा काजीलाई सुम्पिने महिना पनि हो ।
साउन अहिले सकिएको छैन । भोली, साउन २९ गतेबाट डा.शशांक कोइरालाको नेतृत्वमा तीन दिने नेपाली कांग्रेस राष्ट्रिय भेला सुरु हदैछ ।
जयशंकर भोला ! आशा गरौं, साउन मासले नेपाली राजनीतिमा ल्याउने परिणाम राम्रै होला ।