बिपदबारे संसदमा प्रधानमन्त्री - रुपान्तरण
 २०८३ भाद्र १९, शुक्रबार    

बिपदबारे संसदमा प्रधानमन्त्री

सुरुंगभित्र भएको मृत्युलाई हत्याको रुपमा हेर्ने कि नहेर्ने ? – आङदेम्बे


- रुपान्तरण संवाददाता

प्रधानमन्त्री वालेन्द्र साह सामाजिक सन्जालका ‘कन्टेन्ट क्रिएटर’ का रुपमा सुपरिचित ब्यक्तित्व हुनुहुन्छ । उहाँ राष्ट्रिय समस्याका सम्बन्धमा जे बोल्नुहुन्छ त्यो सामाजिक सन्जालमा खपत हुन्छ । उहाँले आफू अघिका प्रधानमन्त्रीहरुले जस्तो आफना अभिव्यक्तिहरु सरकारी र निजी क्षेत्रको स्वामित्वमा रहेका देशका ‘राष्ट्रिय’ समाचारपत्रहरु तथा रेडियो र टेलिभिजन संजालबाट प्रसारित हुने मौका दिनु भएको छैन । अहिले प्रधानमन्त्री वालेन्द्रका नीतिगत अभिव्यक्तिहरु सबैभन्दा पहिले सामाजिक सन्जालमा ब्यापक रुपमा छाउँछन । त्यसपछि मात्रै सरकारी तथा निजी स्वामित्वमा रहेका संचार माध्यमहरुले प्रधानमन्त्रीका अभिब्यक्तिहरु समेट्छन र त्यसलाई ‘आधिकारिक’ बनाउँछन ।

जेनजी विद्रोह र त्यसपछि भएको विध्वंशको रापतापमा सम्पन्न भएको संसदीय चुनावमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीलाई उहाँको निर्वाचन क्षेत्रमा पुगेर पराजितगर्न सफल हुनु भएका प्रधानमन्त्री वालेन्द्र संसदीय प्रणालीमा विश्वासगर्ने ब्यक्ति होइन । संसदीय प्रणालीप्रति उहाँका भावना पटक पटक ‘प्रकट’ भै सकेकाछन । राष्ट्रपतिले संसदको संयुक्त अधिवेशनमा सरकारको नीति र कार्यक्रम वाचन गरिरहँदा सरकार प्रमुख जुरुक्क उठेर संसदबाट बाहिरिनु नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय घटना बनेकोछ । यसलाई दोहोर्याइ रहनु आवश्यक छैन । ‘हलेदो’ भनेर जानी सकेपछि त्यसलाई कोट्याएर चिनाउनु आवश्यक पनि पर्दैन ।

यो पटक चीनबाट वहेर हाम्रो देशमा प्रवेशगर्ने भोटेकोशीले रसुवाको बाटो नेपालपसेर देखाएको विभत्स ‘लीला’ मा कति नेपाली, र विदेशीको पनि, ज्यान गयो ? त्यो भन्न सकिदैन । सेना, प्रहरी र स्वयमसेवकहरु अहिलेसम्म उद्धार कार्यमा ब्यस्त छन । प्रधानमन्त्री वालेन ‘जलवायु परिवर्तनका कारण भोग्नु परेको विपतका विषयमा अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको’ बताउँदै हुनुहुन्छ ।

सम्भवतः यही कारणले होला, यसपटक प्रधानमन्त्रीले सार्वभौम संसदको रोष्ट्रममा उभिएर, भोटेकोशीमा आएको बाढीको विस्तृत जानकारी दिनुभयो । प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा तथा उनीहरुको स्वास्थ्य बचाउन आवश्यक उपचार र ‘मनोपरामर्श’ प्रदान गरिने जानकारी पनि दिनु भयो । संसदलाई जानकारी दिने ‘कर्मकाण्ड’ सकिएपछि उहाँले सांसदहरुले सरकारकाबारे उठाएका प्रश्नको पनि जवाफ दिनुभयो । हिमालय टाइम्स दैनिकका अनुसार प्रधानमन्त्री वालेनले सरकारबारे उठेका प्रश्नमा पाँचवटा जवाफदिदै भन्नु भएको थियो : यस्तो विपत्ति विश्वमा नै फरक छ । बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन विभिन्न अभियान चलाइएकोछ । सडक, सन्चार र विद्युत सेवा पुनस्थापनाको काम जारी नै छ । घरवार विहीनलाई अस्थायी र दीर्घकालीन पुनस्थापनागर्न सरकार लाग्नेछ ।

संसदमा प्रतिपक्षका नेता सांसद भीष्मराज आङदेम्बेले भोटेकोशी बाढीका सम्बन्धमा आफना सारगर्भित विचार सुनाउनु भयो । सांसद आङदेम्बेका विचार जीवन्त थिए । उहाँले एउटा महत्वपूर्ण प्रश्न राख्नु भएको थियो : सरकारको ढिलाइले सुरुंगभित्र भएको मृत्युलाई हत्याको रुपमा हेर्ने कि नहेर्ने ?

प्रधानमन्त्री वालेन भोटेकोशी दुर्घटनाको लगत्तै मोटर गाडीमा चढेर नुवाकोट जिल्लाको सदरमुकाम विदूर पुग्नु भएको थियो । यो उहाँको ‘महानता’ थियो । बाटो ‘सुरक्षित’ भएको भए उहाँ विदूरबाट उत्तरतिर उक्लिनु हुन्थ्यो होला । विदूरबाट जानकारी लिएर फर्केपछि उहाँले जापानका प्रधानमन्त्री सानाए ताकाइचीसंग टेलिफोन वार्ता गर्नुभयो । उहाँका परराष्ट्रमन्त्री शिशिर खनालले क्यानडाका विदेशमन्त्री अनीता आनन्दसंग ‘हिमवाढी’ बाट भएको जनधन र भौतिक क्षतिका बारे ‘गहन’ छलफल गर्नुभयो ।

सरकारले उपलब्ध गराएको सूचना अनुसार, भारत र चीनबाट आएका बिशेष उद्धार टोली बाढी प्रभावित स्थलहरुमा निरन्तर क्रियाशील छन । राज्यका तीनवटै सुरक्षा निकायका २० हजारभन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सक्रिय छन । गृहमन्त्री सुदन गुरुंगको ‘कमाण्ड’ मा रहेका ती सबै सुरक्षाकर्मीले के कस्तो सुरक्षा गरेका छन ? त्यसको विस्तृत जानकारी कसैले पनि पाउन सकेका छैनन ।